मनोज घर्तीमगर
निर्देशक तथा कोरियोग्राफर जसु गुरुङले गाऊँका गीतहरुको भिडियो एल्बम ‘सँगालो’ बजारमा ल्याएकी छिन् ।
आफुले निर्देशन र कोरियोग्राफि गरेका गाऊँका गीतका भिडियोहरु समावेश गरि उनले भिडियो एल्बम बजारमा ल्याएकी हुन् । भिडियो एल्बम ‘सँगालो’मा ६ वटा भिडियो समावेश छन् । ‘गुरुङ गाऊँको सँस्कृति, भेषभुषा, रहनसहन र जीवनशैलीलाई मैले भिडियोमा देखाउन खोजेकी छु’ मंगलबार पोखरामा भिडियो एल्बम सार्वजनिक कार्यक्रमा जसुले भनिन्–‘सम्पूर्ण गीतका भिडियोलाई एक ठाऊँमा ल्याएर बजारिकरण गराउनमा धेरै सहयोगी हातहरु छन् । यसमा धेरैको उत्तिकै मेहेनत र लगानी पनि छ ।’
पछिल्लो समय जसु गुरुङ गाऊँका गीतको कोरियोग्राफिमा चर्चित छिन् । पोखराबाट निर्माण हुने म्युजिक भिडियो र फिल्महरुमा पनि उनको व्यस्तता धेरै छ । त्यही भएर भिडियो एल्बम सार्वजनिक कार्यक्रममा जसुको कामको धेरैले प्रशंसा गरे । सार्वजनिक भिडियो एल्बम ‘सँगालो’मा कुईबाङ, रुपाताल, भाचोक, लान्द्रुक, घान्द्रुक, क्होला सोँथर र भदौरे गाऊँका भिडियोहरु समावेश छन् ।
जसुले हालसम्म ३० भन्दा बढि गाऊँका गीतहरुको निर्देशन र कोरियोग्राफि गरिसकेकी छन् । यस्तै सात वटा फिल्ममा कोरियोग्राफि गरेकी छन् भने ९० भन्दा बढि गीतको भिडियोमा कोरियोग्राफि गरिसकेकी छन् ।