‘मकर र माकर’ शव्दले मगर संग मामा भाञ्जाको साइनो लाग्दैन

Read Time:7 Minute, 3 Second

– प्रा. बि. के.राना मंगर

  आज ‘मकर संक्रान्ति’, ‘माघ महीनाको पहिलो’ दिन अर्थात् ‘माघे संक्रान्ति’ सारा नेपाल र भारतभरि बिभिन्न नामले बडो गरमजोशका साथ मनाईदै छ ।

संसारका अन्य बिभिन्न मुलुकहरुमा पनि आ-आफ्नै स्थानीय नाममा प्राचीन कालदेखि मनाउने गरिएको यो पर्व मूलतः प्रकृति पूजा अर्थात् ‘सूर्य पूजा वा उपासना’को पर्व हो । यो पर्व प्रकृति, ऋतु परिवर्तन र कृषिसंग सम्बन्धित छ । ज्योतिषशास्त्रका अनुसार आजका दिन सूर्य पृथ्वीको दक्षिणी गोलार्धको कुनै काल्पनिक ‘मकर रेखा’मा प्रवेश गरी उत्तरी गोलार्धतिर लाग्दछन । सूर्य ‘मकर रेखा’ वा मकर राशीमा प्रवेश गर्ने भएबाट आजका दिनलाई ‘मकर संक्रान्ति’ भनिएको हो ।

अब बिस्तारै दिन लामो हुदै जान्छ, ठिहिर्याउने जाडो घट्दै जान्छ, गर्मी बढ्दै जान्छ, केही सप्ताहपछि फेरि बसन्त ऋतुको आगमन हुन्छ । जीवन जगत हर्शोल्लाशमय बन्दछ र वर्षेनी यो रीत वा परम्परा यसरी नै दोहरिदै जान्छ । यो चाडलाई कसैले पनि नितान्त ‘आफ्नो जातीय चाड’ वा पर्व हो भनेर दावी गर्नु र सम्बन्धित सरकारहरुले पनि जो जो आउँछ उसकै नाममा जताभावी निर्णय गर्दै, केही रकम अनुदान पनि दिदै तुष्टीकरण वा खुशी बनाउने अभिप्रायले ‘यो साल यसको’ र ‘अर्को साल अर्को जातिको’ हो भन्दै सरकारी सार्वजनिक विदाका सूचि समेतमा सूचिकृत गर्नु ठीक होईन । सबैले मनाउने माघे संक्रान्ति चाडलाई आ-आफ्नो परम्परागत मान्यता अनुरुप मनाउन पाउँनु सम्बन्धित सबैको सांस्कृतिक अधिकारको कुरा हो ।

यस पर्वका बारेमा महाभारत, ‘मत्स्य पुराण’ र ‘स्कंद पुराण’हरुमा अत्यन्त मीठा मीठा, रोचक कथाहरु वर्णित छन । संस्कृत भाषाको यो ‘मकर’ वा ‘माकर’ शव्दले ‘गोही’ वा ‘समुन्द्री राक्षस’ भन्ने अर्थ लाग्दछ । ध्वनिबिज्ञान (Phonetics) अनुसार यी ‘मकर’ र ‘मगर वा मागर’ शव्दका ‘क’ र ‘ग’ व्यंजन वर्णहरु (Consonants) बोल्दाखेरि एकै स्थान – ‘कण्ठ वा घाटी’बाट उच्चारण हुने ध्वनिहरु हुन । ‘मकर’को ‘क’ अघोस, अर्थात् घाटीमा ‘घर्षण नहुने’ (Voiceless ) र ‘मगर वा मागर’को ‘ग’ सघोस अर्थात् घाटीमा ‘घर्षण हुने’ (Voiced) व्यंजन वर्णहरु (Consonants) हुन ।

माघे संक्रान्ति अर्थात् ‘मकर संक्रान्ति’ कताकता ‘मगर संक्रान्ति’ हो कि भन्ने देखिए तापनि वा लागे पनि नेपालका ‘मगर’ जातिसित माघे संक्रान्तिसंग सम्बन्धित माथि लेखिएका ‘मकर र माकर’ शव्दहरुले कुनै अर्थ र सम्बन्ध राख्दैनन् । यसै गरी नेपालका अन्य जातिहरु जस्तै: कुमाल, थारु , छन्त्याल वा अन्य जो जसले ‘मकर संक्रान्ति’ वा ‘माघे संक्रान्ति’लाई आ-आफ्नो ‘जातीय एवम् राष्ट्रिय चाड’ हो भन्ने दाबी गरेका छन् र राज्यले पनि ‘थारु र छन्त्यालहरु’ मात्रको जातीय चाडका रुपमा मान्यता दिई सार्वजनिक विदा समेत दिएको छ । उनीहरुसंग त झन यो ‘मकर संक्रान्ति’को ‘मंगर वा मगर जाति’संग देखिन आएको शव्दको ध्वनिगत सम्बन्ध र सामिप्यता जस्ता कुनै कुरा पनि देखिदैन ।

नेपालका बारेमा लेख्ने विदेशी विद्वानहरु मध्ये विलियम कर्कप्याट्रिकले नेपालको बारेमा वर्णन गरी लेखेका आफ्नो किताबमा नेपालका मगरहरुलाई ‘मंगर’ (Mangur) लेखेका छन (कर्कप्याट्रिक १८११ :१२३ ) । उनी पछि आएका अरु सबैले मगर (Magar) लेखिदिएका छन । विलियम कर्कप्याट्रिक फिर्ता गए पछि फ्रान्शिस ह्यामिल्टनले सन् १८०२ – १८०३ बीच नेपालको भ्रमण गरेका हुन । ह्यामिल्टनले चाहिँ ‘मंगर’ नलेखेर ‘मगर’ नै लेखेका छन् । उनले आफ्नो किताबमा ‘मगरका मुखिया बलिहाङ्ग’ ( Magar Chief Balihang ) भनेर ‘मगर राजा बलिहाङ्ग’का बारेमा पनि केही लेखेका छन् (ह्यामिल्टन १८१९ : २६४) । ह्यामिल्टनका सहयोगी एकजना रामाजय भट्टाचार्य नामका ब्राह्मण थिए ।

संस्कृत र नेपाली भाषाको चेपोमा पर्न गएका कारण नेपालका पुराना ‘मंगर’ वा ‘मोंगर’हरुलाई ‘मगर’ लेख्न थालिएको दुईसय वर्ष जति भयो भन्ने अनुमान गर्न सकिन्छ । शारीरिक बनावट र स्वभावजन्य विशेषताहरु, भाषिक एवम् सांस्कृतिक विशिष्टताका आधारमा चीनका ‘मोंगोर’, दार्जीलिंग, सिक्किम, भुटान वा आसामतिरका ‘मंगर’ वा ‘मोंगर’हरुबाट नेपालका ‘मगर’हरुले आफ्नो जातीय नाम पाएका हुन भन्ने तर्क गर्न सकिन्छ । र, भारोपेली परिवारको संस्कृत भाषाको ‘मकर’ वा ‘माकर’ शव्दले ‘गोही’ वा ‘समुन्द्री राक्षस’ भन्ने अर्थ लाग्ने हुदा यी नाम शव्दले छुट्टै भोट-बर्मेली परिवारको मगर भाषा बोल्ने ‘मोंगोर’, ‘मंगर’ वा ‘मोंगर’हरु वा हाल नेपालका ‘मगर’हरुको जातीय, सामाजिक वा सांस्कृतिक कुनै पनि परिचय दिन सक्दैन ।

यदि पुर्खाको गौरवमय इतिहासको कुरा गर्ने नै हो भने हाल दार्जीलिंग, सिक्किम, भुटान वा आसामतिरका ‘मंगर’ वा ‘मोंगर’हरुले जस्तै नेपालका मगरहरुले पनि ‘मोंगोर’, मोंगर वा ‘मंगर’ लेख्नु लेखाउनु उपयुक्त देखिन्छ ।

 

(लेखक:संयुक्त राज्य अमेरिका, बोस्टन स्थित Harvard Univercity का प्राध्यापक हुन्)

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %