काठमाडौँ, २० पुस
एकीकृत नेकपा (माओवादी)का सचिव सिपी गजुरेलले राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन)लाई बिदाइ गरेपछि सेना समायोजन नभएसम्मका लागि हतियार माओवादीसँगै रहने बताएकाछन ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कारमा सचिव गजुरेलले प्रक्रियागत रूपमा सेना समायोजन गरिसकेपछि मात्र एमाओवादीले हतियार बुझाउने स्पष्ट पारे ।
एमाओवादीको मुख्य मुद्दा शान्ति र संविधान हुँदाहुँदै केही दलहरूले संविधानसभाबाट संविधान बन्न नदिने षड्यन्त्र गरिरहेको भन्दै यदि त्यसो गरिए विद्रोहमा जान आफूहरू बाध्य हुने उनले बताए ।
एक प्रश्नमा एमाओवादी सचिव गजुरेलले प्रधानमन्त्रीका लागि पार्टीले जुनसुकै व्यक्तिलाई पनि खुला राखेको जानकारी दिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विगतका सहमतिअनुरूप एमाओवादीले शिविरमा रहेका लडाकूको समायोजन र वाइसिएलले अर्धसैन्य संरचना भङ्ग र हतियारको राजनीति अन्त्य नगरेसम्म प्रधानमन्त्रीबाट आफ्नो पार्टीका उम्मेदवारी फिर्ता नहुने बताए ।
नेकपा (एमाले) का प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले अनमिन फिर्ता गएपछि एमाओवादीले हतियार विशेष समितिलाई बुझाउनुपर्ने भन्दै अनमिन फर्कंदैमा नेपालको शान्तिप्रक्रिया धरापमा पर्छ भन्नु गलत हो भने ।
उनले एमाओवादी शान्ति र संविधानबाट भागेर विद्रोहमा जान नहुने भन्दै कब्जा गरेका घरजग्गा फिर्ता र हतियारको राजनीतिक त्यागेपछि मात्र एमाओवादीको नेतृत्व स्वीकार गर्न सकिनेछ उनले भने ।