सप्तरी, १९ पुस
शितलहरसँगै बढेको चिसोका कारण सप्तरीको नकटीरायपुर गाविस–७ निवासी ५५ वर्षीया विमलादेवी यादवको मृत्यु भएको छ ।
विगत केही दिन यता बढेको चिसोका कारण सप्तरीमा बिरामीको सङ्ख्यामा पनि वृद्धि भएको छ । चिसोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धाहरू प्रभावित भएका छन् ।
बालबालिकामा निमोनिया, पखाला, रुघाखोकीलगायतको समस्या देखिएको छ । अहिले बिरामीका कारण सगरमाथा अञ्चल अस्पताल भरिभराउ भएको छ ।
बिरामीको चाप एकाएक बढेका कारण उपचारमा कठिनाइ भइरहेको सो अस्पतालले जनाएको छ । शैया अभावले बिरामीलाई भुइँमै राखेर उपचार गर्नु परिरहेको चिकित्सकहरूले बताएका छन् ।