काठमाडौँ, १९ पुस ।
उपराष्ट्रपति परमानन्द झाले यथाशक्य छिटो सरकार निर्माण गरी संविधान लेखन एवम् शान्ति बहालीलाई प्राथमिकता दिन जिम्मेवार राजनीतिक दलहरूसँग आग्रह गरेकाछन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज उपराष्ट्रपति कार्यालय कान्तिपथमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले आगामी माघ १५ गतेसम्ममा सरकार निर्माण गरी तोकिएको समयसीमाभित्र लोकतान्त्रिक संविधान निर्माण गर्न दलहरूको ध्यानाकर्षण गरे ।
लोकतान्त्रिक संविधान निर्माण भएपछि मुलुकका करिब ८० प्रतिशत समस्या समाधान हुनेतर्फ समग्र राज्यको ध्यान जानुपर्नेमा जोड दिँदै उनले भने – ‘विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि नागरिक समाज र जनताका तर्फबाट जनदबाब सिर्जना गर्न र समयमै लोकतान्त्रिक संविधान जारी हुन्छ भनी आमजनतालाई आश्वस्त तुल्याउन सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु ।’
शान्ति बहालीको सुनिश्चितता सात दिनभित्र हुनुपर्ने धारणा व्यक्त गर्दै उनले साढे दुईवर्ष बितिसक्दा पनि संविधान निर्माण कार्यले गति लिन नसकेको भनी चिन्ता व्यक्त गरे ।
छिटोभन्दा छिटो दिगो शान्तिसहित संविधान निर्माण कार्य टुङ्गोमा पुगी मुलुकमा समृद्धि छाओस् भन्ने एकमात्र आफ्नो चाहना रहेको स्पष्ट पार्दै उपराष्ट्रपति झाले शान्ति र लोकतान्त्रिक संविधान निर्माण अभियानमा साथ दिन आफू तयार रहेको बताए ।
एक प्रश्नको जवाफमा राजनीतिक दल विभाजित भए पनि तिनका नेताको लोकतान्त्रिक भावना र उद्देश्यमा विचलन नआए समयमै संविधान निर्माण हुने विश्वास दिलाउँदै उनले सबैको भावनालाई समेटेर सामूहिक दायित्वका आधारमा संविधान निर्माण गर्नुपर्नेमा जोड दिए ।
जिम्मेवार पदाधिकारीहरूले मुलुकलाई लथालिङ्ग छाड्न नमिल्ने धारणा व्यक्त गर्दै उपराष्ट्रपति झाले भन्नुभयो– ‘मुलुक जोगाउन सरकार प्रमुख असफल भए देशलाई जोगाउने जिम्मेवारी स्वतः राष्ट्र प्रमुखको काँधमा आउनेछ । नचाहँदा नचाहँदै पनि देश र जनताको पक्षमा त्यो भूमिका राष्ट्रपतिले वहन गर्नुपर्ने हुन्छ ।’
हालै आफूसहित राष्ट्रपति, प्रधानमन्त्री र सभाअध्यक्षबीच सरकार गठन, संविधान निर्माण, शान्ति प्रक्रियालगायत समसामयिक विषयमा छलफल भएको जानकारी दिँदै उपराष्ट्रपति झाले आवश्यकता अनुसार यस किसिमको उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिइने बताए ।