सन्जोग लाफा मगर
काठमाडौँ – सामाजिक अगुवा तथा साहित्यकार स्व. जयबहादुर हितानमगरका लेख-रचनाहरूको सँगालो ‘जयबहादुर हितानमगर व्यक्तित्व र कृतित्व’ शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी नेता सुरेश आलेमगरले विमोचन गरे ।
वि.सं. २००२ साल १२ गते अरेवा, पौँदी–अमराई, गुल्मीमा जन्मिएका हितानको २०६६ साल मंसिर २६ गते निधन भएको थियो । उनी नेपाल मगर संघका संस्थापक सचिव तथा नेपाली कांग्रेसका नेता समेत थिए । नेपाल मगर संघले छापेको किताब हितानका जेठा छोरा साहित्यकार विजय हितानले सम्पादन गरेका हुन् । पुस्तकमा स्व. हितानको संक्षिप्त जीवनीका साथै उनका कथा, कविता, गीत र वैचारिक लेखहरू समाविष्ट छन् ।
पुस्तक विमोचनपछि प्रमुख अतिथि आलेमगरले स्व. हितानको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै आदिवासी जनजातिहरूलाई राज्यले नियतबस पाखा लगाउने गरेको आरोप लगाए ।
कार्यक्रममा प्राज्ञ श्रवण मुकारुङ, मगर नेतृ बमकुमारी बुढामगर, भाषाशास्त्री अमृत योञ्जन, चलचित्रकर्मी सञ्जोग लाफामगर, मगर संघका पूर्वअध्यक्ष क्या. यामबहादुर बुढाथोकी मगर लगायतले स्व. हिातनका बारेमा प्रकाश पारेका थिए । कार्यक्रम संघका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक कुवेर रानामगर पनि उपस्थित थिए ।
