सहमतिका नाममा काँग्रेसलाई ठगने काम भयो ः पौडेल

Read Time:3 Minute, 36 Second

काठमाडौँ, १८ पुस

नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले मेलमिलाप र सहमतिको कुरा भन्दा राम्रो सुन्दा कर्णप्रिय भए पनि नेपाली राजनीतिमा यो कुरा ढोंग साबित भइरहेको बताएका छन।

विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठान काठमाडौँले ३५ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज राजधानीमा आयोजना गरेको अहिलेको राजनीतिक परिप्रेक्ष्यमा राष्ट्रिय सहमतिको आवश्यकता र बिपीको राष्ट्रिय मेलमिलापको सान्दर्भिकता विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले भने– सहमतिको नारा आफू बन्नका लागि मात्र गरिने प्रपञ्च रहेछ । यो जनता ठग्ने कामबाहेक केही होइन भन्ने सिद्ध हुँदै गएको छ ।

“हतियार नबिसाइन्जेल माओवादीलाई प्रधानमन्त्री बन्न निषेध गर्ने, रामचन्द्र पौडेललाई पनि भोट नदिने, दिँदा विरुद्धमा दिने अनि सहमतिको कुरा गर्ने र प्रवक्ता बन्ने, यो भन्दा ठूलो पाखण्ड के हुन्छ,” नेता पौडेलले भने ।

नेकपा एमालेले सहमतिको माला जप्दाजप्दा अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री फुत्काउनु परेको र माधव नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको प्रसङ्ग पनि नेता पौडेलले उल्लेख गरे ।

जनआन्दोलनका उपलब्धि खोसेर एकतन्त्र र तानाशाही लाद्ने षड्यन्त्र भइरहेको बताउँदै नेता पौडेलले कसैलाई शिखण्डी बनाएर सर्वसत्तावाद लाद्ने काम हुँदै गरेको आरोप लगाए ।

“काँग्रेस–एमाले मोहरा बने भने भगवान्ले पनि लोकतन्त्रको उपलब्धिलाई जोगाउन सक्दैन,” नेता पौडेलले भने ।

एनेकपा माओवादी शान्ति प्रक्रियालाई टुङ्ग्याउन र हतियार बिसाउन पनि चाहँदैन भन्दै नेता पौडेलले जनआन्दोलनका उपलब्धिलाई रक्षा गर्न लोकतन्त्र र शान्तिको पक्षमा लाग्न सबैसँग आग्रह गरे।

नेकपा एमालेका नेता भरतमोहन अधिकारीले नेपाली राजनीतिमा अहिले विश्वासको ठूलो सङ्कट रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया र संविधान लेखनलाई अघि बढाउन माओवादी इमान्दार हुनुपर्ने बताए ।
शान्ति र लोकतन्त्रलाई जोगाउन सकिएन भने मुलुकले ठूलो दुर्घटना ब्यहोर्नुपर्ने हुन्छ भन्दै नेता अधिकारीले शान्ति, संविधान र लोकतन्त्रका लागि जागरण अभियान जोगाउने बेला आएको छ भने ।

नेपाल प्राध्यापक सङ्घका पूर्वअध्यक्ष भीमसेनदास प्रधानले बिपीले तत्कालीन समयमा रणनीतिकरूपमा मेलमिलापको नीति अघि सार्नुभएको तर अहिले यथार्थमै प्रमुख दलहरूबीच मेलमिलापको आवश्यकता रहेको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %