पोखरा, १८ पुस ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापाले काँग्रेसभित्र चलखेल गरेर अर्काको घरभित्र ढुङ्गा नहान्न माओवादीलाई चेतावनी दिएकाछन् ।
नेपाल प्रेस युनियन, कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा युवा नेता थापाले काँग्रेस संसदीय दलको नेतामा रामचन्द्र पौडेल नै छन् र उनीबाहेक अरु कसैलाई पनि काँग्रेसले दलको नेता नबनाएको स्पष्ट पारे ।
व्यवस्थापिका–संसद्को नियमित अधिवेशनमा प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलको विपक्षमा मतदान गरेर पराजित गर्न एमाले र माओवादीलाई चुनौती दिँदै उनले माओवादीको अर्काको पार्टी फुटाउन खोजेमा काँग्रेसले पनि बाबुराम भट्टराईलाई प्रधानमन्त्रीका लागि अघि सार्ने बताए ।
दिगो शान्ति र लोकतान्त्रिक संविधान निर्माणमा एकता अभियान ल्याउन काँग्रेसले जागरण अभियान सुरु गरेको बताउँदै उहाँले तोकिएको समयभित्र संविधान नबने मुलुक ठूलो दुर्घटनामा पर्ने र यसको भागिदार सबै दल हुने विचार व्यक्त गरे ।
माओवादी शान्ति र संविधान छोडेर जनविद्रोहको बाटोमा जान खोजेकोमा चिन्ता व्यक्त गरे ।