कैलाली, १८ पुस ।
उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले एकीकृत नेकपा (माओवादी) ले अनमिनको म्याद थप्न गरेको पत्राचार सहमति विपरीत भएको बताएकाछन ।
पार्टीका कार्यकर्ता प्रशिक्षणका क्रममा धनगढी पुगेका गच्छदारले आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले सबै राजनीतिक दलहरुको सहमतिमा अन्तिमपटक थपिएको अनमिनको म्याद पुनः थप्नका लागि पत्राचार गर्नु सहमति विपरीत हो भने ।
नयाँ सरकार गठनका लागि राजनीतिक सहमति हुन नसके प्रतिस्पर्धाबाटै भए पनि प्रधानमन्त्री चयन हुनुपर्ने बताउँदै उपप्रधानमन्त्री गच्छदारले नेकपा एमालेले काँग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलको उम्मेदवारीलाई समर्थन गर्नुपर्ने बताए ।
मुलुक गम्भीर सङ्कटमा फसेको बताउँदै फोरम (लोकतान्त्रिक) का अध्यक्षसमेत रहेका गच्छदारले यसको जिम्मेवारी तीन ठूला दलहरुले लिनुपर्दछ भने ।
मुलुक असफल हुनुको प्रमुख कारण एकीकृत नेकपा (माओवादी) भएको दाबी गर्दै उनले नेपाली काँग्रेस, नेकपा एमाले र आफ्नो दलको पनि थोरै जिम्मेवारी रहेको स्वीकार गरे ।
उनले ठूला तीनदलले प्रधानमन्त्रीको पदको दाबी छोडे आफूले सरकारको नेतृत्व गरी मुलुकलाई सङ्कटबाट पार लगाउने जिकिर समेत गरे ।