काठमाडौँ, १६ पुस
नेपाल पर्वतारोहण सङ्घले आमाडब्लम हिमालको शिखरमा दीप प्रज्वलन गरी नेपाल पर्यटन वर्ष २०११ को सन्देश अन्तर्राष्ट्रिय जगतमा पु¥याउने भएको छ ।
आगामी पुस ३० गते (जनवरी १४) पर्यटन वर्षको प्रधानमन्त्री माधवकुमार नेपालले दशरथ रङ्गशालामा औपचारिक उद्घाटन गर्नुहुने समय पारेर नै छ हजार ८१२ मिटर अग्लो आमाडब्लममा दीप प्रज्वलन गरिने नेपाल पर्वतारोहण सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
विश्व कीर्तिमानी आरोही पेम्बा दोर्जी शेर्पा, तेम्बाछिरी शेर्पालगायतका दसजनाको ‘टर्च एक्स्पिडिसन’ टोलीले सो हिमालको आधार शिविरदेखि शिखरसम्म दीप प्रज्वलन गरिने र सो समारोहको अन्तर्राष्ट्रिय र राष्ट्रिय सञ्चार माध्यमबाट प्रसारण गरिने कुरा सङ्घका अध्यक्ष जिम्बाजाङ्बु शेर्पाले बताए ।
सो दीप प्रज्वलनका लागि पुस २३ गते नै आरोहीको टोली आधार शिविरतर्फ जानेछ । आरोहणको रोयल्टी सरकारले मिनाहा गरिदिने भएको छ ।
सङ्घका अध्यक्ष शेर्पाले पर्यटकलाई नेपाल चिनाउने प्रमुख माध्यम नै साहसिक पर्यटन भएकाले नै यस्तो कार्यक्रम गरिएको बताउँदै देशको सुन्दर, आकर्षक र छिटो आरोहण गर्न सकिने हिमाल भएर नै आमाडब्लम छानिएको उल्लेख गरे ।
सो आरोहणका लागि करिब रु १८ लाख खर्च हुने र नेपाल पर्यटन बोर्डलगायत पर्यटन व्यवसायी सङ्घसंस्थाहरुद्वारा सहयोग प्राप्त हुने बताइएको छ ।