–मनोज घर्तीमगर
दिदी बहिनी दाजु भाईको मिलनको चाड तिहारको रमाईलो पक्ष भैलो र देउसीको नाचगान हो । भैलो तथा देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि खुब रौसिन्छन् । टोली नाईकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले भैलो तथा देउसी घन्काउदै सामूहिक रुपमा नाच्ने चलन नेपालको मौलिक विशेषता हो । नाच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, छानामाथी घिरौला के के दिन्छन् हेरौला भन्दै खुब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाको भन्ने गरिन्छ ।
साच्चै को थिए बलि राजा ? कुन मुलुकका हुन् ? अनि के संङकट प¥यो ? नेपालमा गणतन्त्र घोषणा हुदा राजा ज्ञानेन्द्रलाई आपत परेको बेला सिंह दरबार छाडेर नागार्जुन बास माग्ने अवस्था जस्तै भएको थियो तिनलाई ? कुन जुगका थिए ती ? किन जहिले
पनि तिनले पठाको भनेर पैसा मागिन्छ ? हरेक तिहारमा यस्ता प्रश्न सबैका मनमा उठ्नु स्वभाविक नै हो । यसको उत्तर पाउन त्यति सजिलो छैन । भैली खेल्दा किन बलिराजाले पठाको भनिन्छ त ?
हे भन भन भाई हो फाईलो (भईलो–भैलो)हे हामी त्यसै आएनै फाईलो (भईलो–भैलो)हे बलिराजा (बलिहाङ) ले पठाका फाईलो (भईलो–भैलो) हाङको अर्थ मगर भाषामा राजा हुन्छ । इतिहासका प्राध्यापक डा. राजाराम सुवेदीका अनुसार इशाको चौधौं शताब्दीतिर वर्तमान पाल्ला जिल्ला बल्ढेङगढी गाविस क्षेत्रमा बलिहाङ रानामगरले स–साना मगर राज्यहरुलाई एकीकरण गरि शक्तितशाली राज्यको स्थापना गरेका थिए । उनको राज्यको सिमाना मगराँतदेखि भारतको गोरखपुरसम्म फैलिएको थियो । मगरातमा मगर अरमुडि राजा पछिका अर्को शक्तिशाली न्यायप्रेमी र लोकप्रिय राजाका रुपमा बलिराजाले शासन गरेका थिए । (सुवेदी राजाराम, मगर जातिको नालिबेली) पश्चिमाञ्चल मगराँत क्षेत्रमा प्रचलित तिहार पर्वको मिथकमा सस्कृतिविद, इतिहासकारहरुले लेखेका छन्, बलिहाङ राना मगर (बलिराजा) न्यायप्रेमी, धर्मात्मा, भविश्यवेत्ता राजा थिए । रैतिहरुलाई यतिसम्म खुसी पारेका थिए की उनको मृत्यु सम्मको कुरासम्म सुन्न सक्दैनथे । एकदिन बलिराजालाई मृत्युको दिव्य ज्ञान भएपछि जनताहरुलाई बोलाएर भनेछन्, जसरी हामीहरु एकआपसमा मिलेर बसेका छौं, त्यसरी नै मिलेर बस्नु अब मेरो मृत्यु कात्तिक महिनाको औसीको रातमा हुदैछ ।
यो खबर सुनेपछि सारा जनताहरु शोकमग्न भएर रुदै कराउदै कस्तो बिपत आईलाग्यो भन्दै राजालाई बिन्ती गरे तपाईलाई बचाउन के उपाय गर्न सकिन्छ । त्यसपछि राजाले भने,मलाई लिन काल आउदा सबैको घरमा उज्यालो राखेर उनलाई अनुरोध गरि फकाउन सक्यौ भने म बाच्न सक्छु । त्यसपछि प्रजाहरु निकै खुसी भए । अनि राजाले भनेकै दिन यमराजले पठाएको काल, राजालाई लिन आउने बेला सबैले घरघरमा दियो बत्ती बालेर खान, पिउन छाडेर जागा बसेर फाईलो–फाईलो भट्याउदै प्रार्थना गर्न थाले । काल आएर राजालाई लिन खोज्दा सबै रैतिले भट्याउदै फाईलो–फाईलो भन्दै राजालाई नमार्न अनुरोध गरिरहेकोले राजाप्रति रैतिहरुको प्रगाढ सम्मान, त्यतिबेलाको कहालीलाग्दो बातावरण्ँले गर्दा कालको पनि मन फिरेछ र राजालाई प्राणदान दिएर आफ्नो बाटो लागेछ ।
जनताले कालदेखि बचाउदा भावविहल भइ बलिराजाले तीन दिनसम्म खुसीयाली मनाउन आदेश दिएकाले त्यसदिन घरघरमा सबैले झिलीमिली बत्ती बालेर मिठो मसिनो खाए । आआफ्नै घरमा भएका दाजुभाईले दिदीबहिनीको हातबाट टिका लगाएर मासु, सेलरोटी, जाँडरक्सी पिएर रमाईलो गरे । उमङगको खुसीयाली साट्दै फाईलो–फाईलो भन्दै रातभरी खुसीयाली मनाए । मगर भाषामा फाईलोको अर्थ हामीले बचायौं भन्ने हुन्छ । त्यसैले तिहार कतैबाट आयातित नभइ, हाम्रै भूमिमा राजा बलिहाङको सम्मानमा सुरु भएको पर्व हो ।
बलिराजाको दिर्घायुको कामना गर्दै त्यही बेलादेखि देउसी भैलो खेल्न सुरु गरिएको हो । त्यतिबेला खुसीयालीमा निकै लामो नाच सोरठी (ठूलो नाँच, नचरी, सोरठी) नाचियो । त्यही बेला सोरठी ना“च्नेहरुले बलिराजाको आख्यान जोडेर नाच्न गाउन थालेको तिहार पर्व आजभोली फाईलो भन्न छाडेर भैलो भएको छ । त्यही फाईलो–फाईलो भन्ने शब्द अपभ्रश भएपछि कालान्तारमा भैलो हुन गएको विभिन्न अध्ययनले देखाएको छ । तर, नेपालको हिन्दु सापेक्ष एकजातिय शासन सत्ताले हरेक सस्कृतिलाई हिन्दुकरण गरे झै फाईलो–देउसी अर्थात हालको भैलोलाई पनि हिन्दुकरण गरेको छ । यो पर्व हिन्दुकरण हुनुको मुल कारण इतिहासकार तथा अध्येताहरु पनि तागाधारी र हिन्दूहरु भएकोले आफूलाई सजिलो हुने गरि सार्वजनिक गर्ने र त्यही अनुसार व्याख्या गर्नाले हो ।
सदियौं देखि लाटा अनि एकात्मक शासन व्यवस्थाबाट पिल्सीदै आएका र अध्ययन, खोज र अनुसन्धानमा खासै चासो नदिने मगर जाति र अन्य जनजातिकै कारण यस्तै मौलिक महत्व बोेकेका अनेकौं हाम्रा संस्कृतिहरु हिन्दूकरण भएका छन् । मगर राजाको इतिहासंग जोडिएको यस्तो ऐतिहासिक पर्वलाई तागाधारीले पुराण कथासंग जोडेर व्याख्या गर्ने गरेका छन् । उसो त उनीहरुले पनि बलिराजालाई दानी व्यक्तित्वका रुपमा व्याख्या गरेर जसले जे माग्यो, त्यही दिने अति उदार स्वाभावका भनेका छन् । अझ यतिसम्म भन्न भ्याएका छन् की दानव कुलका शक्तिाली बलिराजाले ईन्द्रको स्वर्ग कब्जा गरे । कहाँ छ त्यो स्वर्ग भन्ने ठाउँ ? कसले देखेको छ स्वर्ग ? बलिहाङ राजा ईशापूर्व १४ औ शताब्दीका मगर राजा पाल्पाका थिए भन्ने डा.राजाराम सुवेदी, डा. केशरजंग बरालमगर, अध्येता भोजबिक्रम बुढामगर लगायतले गरेका अनुसन्धानले पुष्टि गरिसकेका छन् । उनले कहिल्यै स्वर्ग कब्जा गरेनन् र स्वर्ग भन्ने कस्तो हुन्छ उनले कहिल्यै देखेनन् न त अहिलेसम्म कसैले स्वर्ग देखेको छ । केहि मगर इतिहासकार र अध्येताले यसलाई मगरको इतिहास बग्याउने प्रपञ्च हो भनेका छन् । बरु बलिराजाले पाल्पा आसपासमा भएका स–साना मगर राज्यहरु कब्जा गरेर शक्तिशाली र निकै दानी राजा भएर बसेका थिए जसमा एकमत छन्, इतिहासकार ।
तर त्यता नलागी हामी संसारमा अस्तित्व रहेको तत्वहरुमाथि छलफल गर्न सक्छौं । बलि हिन्दु पुराणमा उल्लेख प्रसिद्ध दानव राजा हिरण्य कश्यपका पनाती, प्रह्लादका नाति, विरोचन र सुरुचिका छोरा थिए भनिएको छ । यसमा सत्यता भन्दा किंवदन्ती बढ़ी देखिन्छ । पुराण यथार्थसँग कतै गएर मिल्दैन । यो केवल काल्पनिक कथामा संयोगले बली त्यहा जोडिन आईपुग्छन् । आधुनिक अनुसन्धानले देखाएको छ, स्वर्ग र नर्क नामको अस्तित्व पुराना धामिर्क पुस्तकहरु बाहेक अन्यत्र कतै छैन । यो ब्रह्माण्डमा केवल नौ वटा ग्रह मात्र छन् । ती ग्रहमध्ये एक पृथ्वी नामक ग्रहमा मानिसको बसोबास छ भने अन्य कुनै स्थानमा मानिसको बसोबास पाईएको छैन । अनि कसरी पत्याउने बलीराजाले ईन्द्रको स्वर्ग भन्ने राज्य कब्जा गरेको ? स्वर्गलोक, मर्त्यलोक, पाताल, महापाताल आदि त पृथ्वीका विभिन्न भूभाग र दिपहरु हुन् । तथापि पाल्पा राज्य त्यति बेलाको समृद्ध राज्य भएकोले त्यसलाई ‘‘स्वर्ग” भनिएको त होईन, अध्ययनको बिषय चाहि हुनसक्छ ।
बलिराजाले तीनदिनसम्म खुसीयाली मनाउन भनेकाले खास तिहार पनि तीन दिन मात्रै हुन्छ । तीन दिन नै यसलाई धुमधामसंग मनाईन्छ । अहिले लक्ष्मी पूजा भनेर मनाईने दिनदेखि नै तिहार पर्वको रौनक बढ्छ । यो हिन्दु लक्ष्मी पुजा हो या अन्य कुनै देवी धेरै खोजिनीति भएको छैन । तर, यस दिन औंसी अर्थात कालरात्री पर्ने हुनाले त्यतिखेरको प्राकृतिक पुजक मगरहरुले यसलाई महत्व दिएका त होईनन्, सोचनीय छ । किनकी त्यतिन्जेल मगर समुदाय हिन्दुकरण नभैसकेको हुनाले समुदायत रुपमै हिन्दु देवी पुजिनु तर्क संगत देखिदैन । औंसीकै दिन बलिराजालाई काल लिन आएको विश्वास गरिन्छ । त्यही काललाई जितेको दिनदेखि तीनदिनसम्म तिहार मनाईन्छ । केहीले हिन्दु मिथक र त्यसबाट सृजित मान्छेको वहिखाता राख्ने यमराज नभई वली राजालाई लिन आउने त्यहि समुदायले मान्ने अदृश्य शक्ति ‘‘काल” हो पनि भन्ने गरेका छन् । तर यो पर्वमा इतिहास भन्दा पुराणमा प्रयुक्त हुने मिथकका रोमान्चकता बढ़ी आउने हुनाले यो पर्व वास्तविक भएर काल्पनिकताको जगमा उभिएको जस्तै हुन गएको छ । मुलतः श्रुतिको आधारमा हिन्दु पृष्ठभूमीका अध्येताहरुले यो इतिहास लेखेको हुनाले तिनले आफ्नो मान्यतालाई यसमा मिसाउन खोज्दा यो एउटा कथा जस्तो हुन गएको छ ।
इतिहास जसको हातमा कलम छ उसैले हो लेख्ने । त्यसो गर्दा आफ्नो समुदायको स्वार्थ गा“सिन्छ नै । यो पर्वमा पनि त्यो देखिन्छ । चलाख इतिहासकारहरुले यो तिहार पर्वलाई आफ्नो अनुकुल बनाउन यतिसम्म गरेकि तीन दिनको तिहारलाई आफ्नो धर्म यमपञ्चकस“ग जोडेर ब्याख्या गरे । मगरको सरोकार नै नभएको यमराजलाई त्यहिं घुसाईयो । मानिलिऊ, प्रकृति पुजक मगरले काग पूजा, कुकुर पूजा, गाई पूजा , गोरु पूजा, भाई टिका लगाउने चलन चलाएका पनि होलान् । किनकी प्रकृतिपुजकहरुले सुर्य, चन्द्र, तारा, वायु र पशुपक्षी लगायत बनजंगललाई खुशी राख्नुपर्छ भनि पुजा गर्छन् । तर सिन्धु घाटी हुंदै भारतद्विपमा प्रवेश गरेका आर्यहरुले आफुभन्दा समृद्ध यो सभ्यतालाई काल्पनिक कथासंग जोडेर आदिवासीका संस्कृति र परम्परालाई बर्णशंकर बनाईदिएको करिव सबै इतिहासकारहरुको सहमति देखिन्छ । फाईलो त्यो राजनीतिबाट उम्कन सक्ने कुरै भएन ।
यहाँ अर्को प्रश्न पनि उठाउने गरिन्छ, गाई काटेर खाने मगरले के गाईको पुजा गरे होलान् र ? पंचायतकालसम्म रुकुमको मैकोटमा बकाइदा गाईको बली चढाईन्थ्यो, मगर पुजारीद्वारा । पछि तिनलाई पक्राउ गरिएको थियो । अहिले पनि रुकुम रोल्पाका मगरहरुले गाइ काटेर खाने चलन बाँकी नै छ । सांस्कृतिक रुपमा पर्गेल्दा केहि बिदेशी अध्येताहरुले मगरको नेपाल प्रवेश तिब्बतबाट रुकुम हुदै भएको भनेका छन् । त्यसो त अहिले गाईलाई माता भनि पुज्नेहरुले कुनैबेला यज्ञमै गाईको वली दिई मासु खाने गरेको तिनको शास्त्रमै भेटिन्छ । स्वर्गका देउता भनिएका ईन्द्रले समेत कलिलो गाईको मासु र सुराको बर्णन गरेका छन् । त्यतिबेला गाई, घोड़ा, हात्ती जस्ता प्राणीको वली चढाईन्थ्यो । यो प्रचलन बुद्धकाल सम्म भेटिन्छ । बुद्धले यज्ञका नाममा हुने प्राणी हत्याको विरोध गरेपछि उनी भन्दा क्रान्तिकारी देखिन त्यतिबेलाका पण्डितहरुले गाईलाई माता बनाई पुजा गर्न थालेका हुन् । (रजनीकान्त शास्त्री, हिन्दु धर्मका उत्थान और पतन )
इतिहासकार, अध्येता अर्थात कलम बोकेका तागाधारी लडाकाहरुले काग पूजा, कुकुर पूजा, गाई पूजा, गोरु पूजालाई आङ्खनो शास्त्र अनुकूल ब्याख्या गरि तिहारलाई यमपञ्चक भन्नु भनेको मगरहरुको मौलिक पर्वलाई तोडमोड गर्नु हो । अर्को कुरा फाइलोमै चलाइएको सोरठी नाँचलाई पछिल्लो समय हिन्दुवर्णाश्रममा आधारित बनाइएको छ । यो नाँच र गीतमा हिन्दु राजाको बयान गरिन्छ । तर, वास्तावमा यो नाँच तिनै बलिराजाको कथासँग जोडिएको छ । मगर राजाले स्थापना गरेको मगरको मौलिक पर्व तिहार हिन्दुहरुको मिथकसंग जोडेर यम पञ्चक भनेर भ्रम सिर्जना गरिएको छ । अझ पछिलो समय त यतिसम्म गरिएको छ की भैलो–भैलो भन्न छाडेर भैलीको पछाडी राम थपेर भैलीराम भन्दै भट्टयाउने गरिएको छ । फाईलो–फाईलो बाट अपभ्रंश हुदै भैलोसम्म आईपुग्यो । यदि मगरहरुले आफ्नो इतिहासलाई नखोज्ने, अनुसन्धान, अध्ययन नगर्ने हो भने कालान्तरमा हाम्रा पूर्खाहरुले भैलीराम नै भन्नेछन् । अनि मगर राजा बलिहाङले चलाएको एउटा ऐतिहासिक पर्व तिहारलाई पुरै हिन्दुकरण गरिनेछ र भनिनेछ– मगरहरु परापुर्वकाल देखि नै हिन्दु थिए । यदि गम्भीर नहुने हो भने दास बनाउने सबैभन्दा पुरानो र अहिलेसम्म चलिरहेको अचुक यो अस्त्रबाट मगर पहिचान धुलिसात हुनेछ ।