चितवन १३ पुस
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान प्रक्रियामा भारतको संविधान निर्माण प्रक्रियाको अनुभव साटासाट विषयक दुई दिने विचार गोष्ठी आजबाट भरतपुरमा सुरु भएको छ ।
सो विचार गोष्ठीमा भारत र नेपालका संविधानका ज्ञाता, संविधानसभाका सभासद् एवम् पूर्वसांसद, राजनीतिज्ञ, अधिकारकर्मी, कानुन व्यवसायी, नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको छ ।
आदर्श समाज नेपालको आयोजना तथा बिपी कोइराला नेपाल भारत फाउन्डेसन एवम् मानवअधिकार संरक्षण मञ्च चितवनको सहआयोजनामा भएको सो गोष्ठीमा भारतमा संविधान निर्माणका क्रममा भए गरेका गतिविधि तथा देखिएका चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत हुने आयोजक समितिका संयोजक कुलराज घिमिरेले जानकारी दिए ।
कार्यक्रममा भारतीय न्यायालयका अधिवक्ता सतिशचन्द्र झा, भारतीय मानवअधिकारकर्मी रमानन्द रमण, राजनीतिज्ञ शैलेन्द्रकुमार उपाध्यायलगायत सहभागी छन् ।
अधिकारकर्मी कपिल ज्ञवालीले यो छलफल संविधान निर्माणका लागि कोसेढुङ्गा सावित हुने बताए । सहभागी सभासद्हरुले गोष्ठीमा उठेका विषयवस्तुहरु संविधानसभामा जानकारी गराउनसमेत सहभागीहरुले आग्रह गरेका छन् ।