तत्काल अधिवेशन नबोलाउने सरकारको निर्णयप्रति माओवादीको आपत्ति

Read Time:2 Minute, 23 Second

    काठमाडौँ, ११ पुस

एकीकृत नेकपा (माओवादी) ले तत्काल व्यवस्थापिका–संसद्को नियमित अधिवेशन नबोलाउने सरकार र सत्तासाझेदार दलहरूको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ ।

    अध्यक्ष पुष्पकमल दाहालको निवास नयाँबजारमा केहीबेरअघि सम्पन्न पार्टीको स्थायी समिति बैठकले सरकार र सत्तासाझेदार दलहरूले यस्तो निर्णय गरेर फेरि शान्ति प्रक्रिया र नयाँ संविधान लेखन कार्यलाई अलपत्र पार्न खोजेको ठहर गर्दै तत्काल संसद्को नियमित अधिवेशन बोलाउन आग्रह गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।

    उनले यही पुस ८ गते एमाओवादी र अन्य दलबीच भएको सहमतिको गलत व्याख्या गरी सत्तासाझेदार दलहरूले फेरि ‘कामचलाउ सरकार’ को आयु लम्ब्याउने र आगामी जेठ १४ गतेभित्र संविधान बन्न नदिने षड्यन्त्रस्वरूप यस्तो निर्णय गरेको पार्टीले ठहर गरेको स्पष्ट पारे ।

    प्रवक्ता शर्माले सरकार र सत्तासाझेदार दलहरूले सदन नबोलाइ पुनः राजनीतिक गत्यावरोध लम्ब्याएमा आप्mनो दल सहेर बस्न बाध्य नहुने बताए ।
    उनले आजै बस्ने प्रमुख तीनदलको बैठकमा संसद् नबोलाउने सरकार र सत्तासाझेदार दलहरूको निर्णयप्रति नेपाली काँग्रेस र नेकपा (एमाले) को धारणा बुझेर पार्टीले थप नीति तय गर्ने जानकारी दिए ।

    यस्तै प्रवक्ता शर्माले माओवादी जनसेना सोमबारदेखि सेना समायोजन विशेष समिति मातहत आउने भन्ने प्रधानमन्त्रीको भनाइ सहमति विपरीत भएको प्रस्ट पारे ।

    एमाओवादीले सरकार र सत्तासाझेदारहरूले पटक–पटक धोका दिँदै आएको विश्लेषण गर्दै अब निरन्तर बैठक जारी राख्ने निर्णय गरेको माओवादी स्रोतले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %