नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स । नमस्कार उहां भगवान अरहन्त सम्यक सम्बुद्धलाई ।
✍ आरोन तुलाधर
भगवान बुद्धले केवल बाटो मात्र देखाउनु भएको होइन समाजवादी संघको स्थापना पनि गर्नु भयो । वहाँले पहिले भिक्षुहरूलाई उपदेश दिनु भयो । यसरी किन वहाँले एउटा अर्कै मार्ग दर्शाउनु भयो र ? धन र धनोपार्जन मार्ग वा पैसा बटुल्ने साधन ब्यक्तिगत भएको दोष मात्र होइन , त्यस्ले गर्दा भैरहेको मानव समाजको हाहाकार तथा आर्थिक असमानता वहाँले स्पष्ट संग बुझ्नु भएको छ भन्ने कल्पना गर्ने ठाउँ छ।
तृष्णा सबै दुःखको जड भन्ने र तृष्णालाई जडै देखि उखेली याक्ना साथ दुःख वाट मुक्त हुन्छ भनी भन्नु भएको हो । तै पनि धनोपार्जन मार्ग सामूहिक वा राष्ट्रियकरण गर्न तत्कालीन समाज अनुसार गर्न नसक्ने काम भएर आफै प्रव्रजित भएर संघको संगठन गर्नु भयो । यो गृहस्थ समाजलाई नमुनाको निमित्त वहाँले यसो गर्नु भएको हो न कि एक्लै एक्लै भिक्षुहरू मात्र निर्वाण जानलाई । तर कट्टर धर्मवादी परम्परा अनुसारले त भिक्षु जीवन केवल आफू एक्लै मात्र निर्वाण हुनलाई हो । यो कुरा प्रव्रजित हुने बेला पठाउने पालि वाक्य (मंत्र्) ले भन्छ। वास्तवमा त त्यसो होइन जस्तो लाग्छ। यही कुरामा मतभेद भएर महायान, हीनयान (थेराबाद) र बज्रयान आदि बौद्ध सम्प्रदायको प्रादुर्भाव भएको हो ।
तगागतले जुन समाजको संगठन गर्नु भयो, त्यस्मा सबै जातिका मानिसहरूलाई बाटो खुल्ला छ । राजा देखि भीख मंगा सम्म बेश्या देखि डाकु सम्म, सुद्व देखि ब्राह्नमण सम्म सबै वहाँको समाज वा संघमा प्रवेश हुन सक्छ । त्यसो भनेर त्यस्मा ठूलो सानो, धनी गरीब, छुन हुने नहुने भन्ने केही भेदभाव छैन । सबै समान । जस्तो कि गंगा यमुना (विष्णुमती,बाग्मती) सरभू आदि नदी समुद्रमा मिल्दछ, त्यस्तै नै तथागत द्वारा नव संगठित समाज पनि हो । त्यस्मा प्रवेश हुने सबै जाति हीन वर्गहीनहरू हो,जस्तै समुद्रमा एउटै मात्र नूनको रस छ, त्यस्तै बुद्धद्वारा संगठित समाजमा पनि एउटै मात्र रस हो विमुक्ति (शान्ति) रस हो ।
वहाँको संघ समाजमा ब्यक्तिगत सम्पति छैन । छ त लगाउने वस्त्र, भिक्षा पात्र, कायबन्धन (पटुका), केश खौरने छुरा तथा सीयो धागो आदि । अरू जम्मै दान द्वारा प्राप्त हुने वस्तु संघिक (सामुहिक) हो । केही चीज कुनै भिक्षुलाई चाहिएका संघ संग माग्नु पर्दछ, संघ जम्मा भइ बहुमतले वा धेरै जनाको इच्छानुसारले चीज बाँडिन्छ । शोषण पनि छैन । ब्यक्तिगत रूपले दिइने दानलाई भन्दा संघिक रूपले दिइने दानलाई बुद्धले बढी प्रशंसा गर्नु हुन्छ ।
यस्को मतलब यो होइन कि सबैले घरवार पति पत्नी छाडे भिक्षु भिक्षुणी बन्नै पर्दछ, अनि मात्र यस्तो समाज भनिन्छ वा आदर्श समाजको स्थापना हुन्छ । पहिल्यै माथि भनि सकिएको छ कि तथागतले गृहस्थ समाजलाई नमुनाको रूपमा समाजवाद संगै आएको संघ (उपभोगमा मात्र उत्पादनमा होइन) बनाउनु भएको हो । भिक्षु संघ स्थापनाको मतलव यो होइन कि सारा समाजलाई ब्रह्नमचारी जीवन बनाइ दिन । तथागतले संघ स्थापना गरी क्रियात्मक रूपले सांघिक नियम पालन क्रम बनाइ व्यक्तिलाई भन्दा संघलाई पूर्णतया महत्व दिनु भएको छ । उदाहरणको लागि—
राजदरवारमा सानन्दपूर्वक बसिरहनु भएकी महा प्रजापति गौतमी, जस्ले बुद्धलाई लालन पालन पोषण गरी हुर्काउनु भयो, सानी आमा भएपनि आफ्नै छोरा सम्झेर विचार गरी राखेको, बुद्धलाई आफ्नै हातले चीवर (वस्त्र) एक जोडा तयार गरेर दिन्छु भन्ने निश्चय गर्नु भयो । अनि महारानी गौतमीले कपास लिन पठाई, राजदरवारमा बस्ने अनेक सखीहरुको सहयोग लिइ, आफैले कपास काटी कपडा बुनी चीवर वस्त्र एक जोड तयार गरी आनो छोरालाई दान दिन लग्यो ।
प्रजापति गौतमीले बुद्ध संग यसरी प्रार्थना गर्नु भो— भन्ते ⁄ मैले यो नयाँ चीवर एक जोड तपाईलाईं नै चढाउन निमित्त स्वयं आफैले कपडा बुनी, तयार गरेर ल्याएकी छु, कृपया मेरो उपर माया राखी स्वीकार गर्नुहोस् ।
गौतम बुद्धले अस्वीकार गरी आज्ञा गर्नु भो— गौतमी,यो नयाँ तिम्रो चीवर वस्त्र एक जोड संघलाई अपर्ण गरिदिनू, संघलाई अर्पण गरि दिएमा मलाइ पनि दिएकै हुन्छ, संघलाई पनि हुन्छ ।
“संघे गौतमी देही, संघे दिन्ने अहं चेव पूजितो भविस्सामि संघो चाति”
यस्तो किन तथागतले भन्नु भएको ? गौतम बुद्धलाई दिएको भए ब्यक्तिगत हुन्थ्यो फेरि आफ्नो भन्ने भावना हुने भयो यो त गृही समाजलाई आदर्शको निमित्त हो भन्ने स्पष्ट थाहा हुन्छ । अनत यो कुरो गृही, प्रव्रजित (त्यागी) दुवै पक्षले पनि आदर्श लिएर कार्य गर्न र ब्यवहारमा ल्याउने अवस्था भैरहेको छ ।
।। नमः बुद्धाय ।।
श्रोत : मूलघर