काठमाडौँ, ११ पुस
परराष्ट्र मन्त्रालयले मेसिन रिडेवल पासपोर्ट (यन्त्रले पढ्न सक्ने राहदानी) को आजदेखि औपचारिक वितरण कार्य सुरु गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा कूटनीतिक तथा सर्वसाधारणका लागि मेसिन रिडेवल पासपोर्ट (एमआरपी) प्रदान गरेर औपचारिक वितरण कार्य शुभारम्भ गरिएको हो ।
सो अवसरमा प्रधानमन्त्री माधवकुमार नेपाललाई उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री सुजाता कोइरालाले रातो, हरियो, नीलो र कालो रङको एमआरपी हस्तान्तरण गरेकी हुन् ।
रातो रङको एमआरपी कूटनीतिक क्षेत्रका व्यक्तिका लागि हो भने नीलो रङको एमआरपी सरकारी कर्मचारीका लागि हो । त्यस्तै हरियो रङको एमआरपी सर्वसाधारणका लागि वितरण गरिनेछ । कालो रङको भने यात्रासम्बन्धी कागजात ( ट्राभल डकुमेन्ट) का लागि हो ।
कार्यक्रममा एकदेखि पाँच नम्बरसम्मको कूटनीतिक एमआरपीमध्ये तेस्रो नम्बरको प्रधानमन्त्री माधवकुमार नेपाल, चौथो नम्बरको प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र पाँचौँ नम्बरको व्यवस्थापिका संसद्का सभामुख सुवास नेम्वाङलाई हस्तान्तरण गरिएको थियो ।
यसैगरी सर्वसाधारणतर्फको हरियो रङको एमआरपी सरकारले सम्मानस्वरुप यसवर्ष सिएनएन हिरो हुन सफल माइती नेपालकी प्रमुख समाजसेवी अनुराधा कोइरालालाई प्रदान गरियो ।
प्रधानमन्त्री माधवकुमार नेपालले उनीहरुलाई एमआरपी हस्तान्तरण गरेका थिए भने उपप्रधानमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्री नेपाललाई सो अवसरमा एमआरपी हस्तान्तरण गरेकी थिइन ।
पहिलो नम्बरको कूटनीतिक एमआरपी राष्ट्रपति डा रामवरण यादव र दोस्रो उपराष्ट्रपति परमानन्द झालाई आजै पराराष्ट्र मन्त्रालयले हस्तान्तरण गर्ने मन्त्रालयका सहसचिव भरतराज पौडेलले बताए । यसैगरी एक सय थान एमआरपी पनि आजै सर्वसाधारणलाई वितरण गरिने मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रावधानअनुरुप उसले निर्धारण गरेको दोस्रोपटकको समयावधि सकिनु पाँच दिनअघि सरकारले एमआरपी वितरण गरेको हो । यसअघि आइकाओले सन् २०१० अप्रिल १ को समय तोकेको थियो ।
पहिलो चरणमा परराष्ट्र मन्त्रालयबाटै वितरण गरिने यो राहदानी अर्को हप्ताबाट उपत्यकाका भक्तपुर, काठमाडाँै र ललितपुर जिल्लाबाट फर्म वितरण गरी आवश्यक कागजातहरु प्रमाणित गरी दिइने योजना रहेको मन्त्रालयले जनाएको छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरुपमा एमआरपी सहजरुपमा वितरण गरी यसको प्राप्ति सर्वसाधारणलाई सर्वसुलभ बनाइने सरकारले जानकारी दिएको छ ।
एमआरपी लिन ६ हप्ताको समय लाग्ने छ । तर अत्यावश्यक छ भन्ने भएमा हप्ता दिनमा दोब्बर दस्तुर तिरेर दिइने बताइएको छ । पहिलो चरणमा दुई लाख ६० हजार थान एमआरपी आइसकेको छ । केही समयभित्रै चार लाख थान एमआरपी आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री एवम् पराराष्ट्र मन्त्री सुजाता कोइरालाले सर्वसाधारण नागरिकले एमआरपी पाउन कष्ट एवम् झन्झट व्यहोर्न नपरोस् भनेर सहज वितरणको प्रयास भइरहेको बताउनुभयो ।
उनले गृहमन्त्रालयसँग सुरक्षालगायतका विषयमा कुरा गरेर वितरणलाई सहज बनाउने कुरा भइरहेको बताउँदै नागरिकतालगायतका कागजात नक्कली नहुन भनेर सचेत हुनुपर्ने बताउनुभयो ।
परराष्ट्र मन्त्रालयका सचिव मदनुकमार भट्टराईले राष्ट्रिय प्राथमिकतामा परेको एमआरपी वितरण चुनौतीपूर्ण भए पनि सहज र सर्वसुलभ वितरणको प्रयास भइरहेको जानकारी दिए ।