कमल चौधरी
नेपाली संगीतकी सुगम एवं चर्चित गायीका अन्जु पन्तले एउटा हिन्दुवादी गीत नगाउने भन्दै बहिष्कार गरेपछि उनी नराम्ररी धार्मिक विवादमा परेकी छिन् । दशैं सम्बन्धि एउटा भजन गाउन नमानेपछि गायीका पन्तबारे विभिन्न सामाजिक सञ्जाल तथा मिडियाहरुमा क्रिया–प्रतिक्रियाहरुको ओईरो आईरहेका छन् ।
आफू क्रिश्चियन भएकाले हिन्दुजन्य शब्द उल्लेखित गीत नगाउने भन्दै अभिव्यक्ति दिएपछि गायीका पन्तको धेरैले विरोध गरेका छन् । यद्यपि गैरहिन्दुहरुले यसलाई खासै ठूलो विषय ठान्न र उछाल्न उपयुक्त नहुने बताईरहेका छन् । साथै यो बारेमा गायीका पन्तले कुनै धर्मलाई आफूले चोट पुर्याउने मनसाय नराखेको र यसबारे माफी समेत मागिसकेकी छिन् । निश्चय नै नेपालमा अन्य धर्मका मामिलामा हिन्दु धर्म मान्नेहरुको बाहुल्यता छ । तर यसको अर्थ यो पनि होईन कि नेपाल अहिले पूर्ण हिन्दुवादी मुलुक हो भन्ने । यद्यपि धर्मले कसैलाई छुट्याएको भने छैन । जहाँसम्म गायीका पन्तको सवाल छ, केही अर्थमा भन्ने हो भने उनी जस्ता चर्चित गायीकाले साम्प्रदायिक कुरा गर्नु हुँदैनथ्यो, कलाकारहरुले यस्ता कुरामा सबैको साझा हुन सक्नुपथ्र्यो ।
यस अर्थमा गायीका पन्तले केही कमजोरी गरेकै हुन् । फेरी अर्को अर्थमा कुन गीत गाउने र कुन गीत नगाउने भन्ने उनको व्यक्तिगत स्वतन्त्रता समेत हो, यसलाई आवश्यक भन्दा बढी उछाल्नु समेत राम्रो होईन । साथै उनले यसबारेमा क्षमा समेत मागीसकेकी छिन् । यसबारेमा धेरै खेदो खन्नु पनि राम्रो होईन । तर, समाजको यो व्यवहारबाट उनी सजिलै उम्किन भने सक्ने छैनिन् । धेरैले उनको गीतहरु समेत बहिष्कार गर्ने घोषणा गरेका छन् । जसले उनलाई पक्कै पनि मर्माहत बनाएको हुनुपर्छ । एउटा कलाकारको जिन्दगी भनेको उनीहरुका दर्शक, श्रोताले नै चलिरहेको हुन्छ । यस्तो अवस्थामा दर्शक र श्रोताबाट घृणा पाउनु भनेको आफ्नो जीवनको केही भागलाई गुमाए सरह नै हो । यसबारे गायीका पन्त पनि सजग नै छिन् होला, सायद त्यहि भएर नै होला उनले एक भिडियोमा रुदै माफी समेत मागीसकेकी छिन् ।
वास्तवमै धर्मले कसैलाई छुट्याएको हुँदैन भन्ने यथार्थ सबैले बुझ्नुपर्छ, त्यहि हो कोही कतै धर्मको नाउँमा अति गर्नेहरुले उदण्डता र एक अर्को धर्मबीचको धार्मिक सहिष्णुतुालाई बिगार्ने काम भने कहिले काहिं गर्ने गरेको कुरा बाहिर आईरहन्छन् । नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो, यहाँ सबै धर्म, संस्कृति, रिवाज, परम्परा र चाडवाड हरेक धर्म र जातीका लागि उत्तिकै महत्वपूर्ण हुने गर्दछ । यस्ता कुराहरुमा सबै सजग हुनुपर्दछ । धार्मिक र जातीय हिंसा जस्ता घट्नाहरु विश्वका कुनै पनि मुलुकका लागि राम्रो भने होईन । त्यसैले गायीका पन्तको घट्ना, सबैका लागि एउटा शिक्षा बनोस् र आगामी दिनमा यस्ता साम्प्रदायीक घट्नाले श्रेय कहि कतै नपाओस, कामना गरौं ।