Popular Nepalese folk singer Khadga Garbuja Pun Magar performing at his musical night hosted by Magar Association USA in New York on September 7, 2014. Photos: Pratha Magar for USNepalOnline
सेप्टेम्बर ७ तारिख न्यू योर्कको कुइन्सस्थित कुइन्स प्यालेसमा आयोजित उक्त साँगितिक साँझमा लोकगायक गर्बुजाले “म शुरुमा तपाईहरुलाई नेपालको माया जगाउने, नेपालको सम्झना गराउने गाउँ घरको दु:खको झल्को दिने गित गाउँछु, यो गित गालामा हात समाएर सुन्ने गित हो ननाचिदिनु होला” भनेर “जिन्दगीमा जे सोंच्यो तेई हुन्न्, मन बुझाउने आउँदा चैं केई हुन्न, धौलागिरी काली सुसाउने, पहराको खोंचैमा जन्म भो मैले दु”ख कता बिसाउने” पश्चिम नेपालको लोक भाखा गाउन शुरु गरेका थिए तर उनको सुमधुर स्वरमा मन्त्रमुग्ध पर्दै दर्शक भने धमाधम नाँच्न शुरु पो गरी दिए । उनले आफ्नो बहुचर्चित सालैजो लोकगित गाउँदासम्म उक्त साँस्कृतिक साँझमा आएका अधिकाँश दर्शकहरु उनको लोकगित र स्वरमा लठ्ठिदै आ-आफ्नो नाँचमा रुमलिन पुगेका देखिन्थे ।
Popular Nepalese folk singer Khadga Garbuja Pun Magar performing in New York on September 7, 2014. Photos: Pratha Magar for USNepalOnline
हुन पनि, लोकगायक खड्ग गर्बुजा पुन मगरलाई सालैजो, सोरठी, यानिमाया, ठाडो भाखा, कौरा, झ्याउरे, ख्यालीजस्ता लोकगितलाई पुनर्जिवन दिएर युवा जमातमासमेत लोकप्रिय बनाउने युवा पुस्ताका अग्रणी लोकागायक मानिन्छ । उनले युएसनेपालअनलाईनसंग भने- “मैले यि लोक भाखालाई रेडियोमा ल्याएर श्रोता माझ पुर्याउने प्रयास गरें । देश बिदेशमा यहिं भाखाहरु लिएर गएँ र गाएर यहिं भाखाहरु सुनाएँ । आज यि लोकभाखाहरुलाई अमेरिका, जापान, युरोपमा बस्ने नेपालीहरुलेसमेत अझ चाँसो दिएर मन पराई दिनुभएकोमा मलाई अत्यन्त खुशीको महशुश हुन्छ ।”
लाहुरे बन्ने युवा गाउँको भीरबाट लडेपछि अपाङ्गा शरीरसंगै लोकगायनको शिखर चढ्दै
यी होनहार लोकगायक शायद लोकगायक बन्ने थिएनन् होला यदी यिनी बिसं २०४३ साल पुष ८ गते मंगलबार आफ्नो जन्म थलो गाउँ म्याग्दी जिल्लाको मराङ गाबिसको वडा नं ६ को अर्ली भीरमा घाँस काट्न जाँदा भीरबाट खसेर सख्त घाइते नभएका भए । बिसं २०२६ साल पुस २५ गते जन्मिएका १६ बर्सको उमेरका खाईलाग्दो जिउडाल भएका खड्ग गर्बुजा उक्त दुर्घटना हुनुभन्दा केहि महिना अघी मात्र बृटिश गोर्खाली सेनामा भर्ती गराउने गल्लावाल एआरओ सेलेक्सनमा चुनिएका थिए । उनले अब बृटिशे लाहुरे भईन्छ भनेर सपना बुन्न थालिसकेका थिए र त्यसको तयारी गर्दै थिए । तर बिधिको बिधान र बिडम्बना गर्बुजाकोलागि अर्कै लेखेको थियो । उनी भीरबाट घाँसा काट्दाकाट्दै एक्कासी चिप्लिएर १००-१५० मिटर तल खस्न पुगे । उनी दुर्घटनापछि बालबाल बँचेका थिए । दुर्घटनाबाट उनको दुइटै खुट्टाका हड्डीहरु टुक्राटुक्रा भए । लामो घरेलु उपचारपछि उनी निको त भए तर उनको कम्मर मुनिको भाग चल्नै नसक्ने निकम्मा बन्न पुग्यो अर्थात कम्मर मुनिको पुरै भाग सदाकोलागि प्यारालाईसिस भयो । यसरी आफ्नो सपाङ्गा शरीर आफ्नै आँखाको अगाडी अपाङ्गा बन्न पुगेपछि गर्बुजाको बृटिशको लाहुरे बन्ने र आफ्नो र परिवारको दु:ख हरण गरी सुखको जिन्दगी जिउने सपना एकाएक चकनाचुर बन्न पुगेको थियो ।
तर गर्बुजाले हरेस खाएनन् । लाहुरे बन्न नसकेपनि उनमा भएको गायन कलालाई उपायोग गर्दै उनले अनेकन हन्डर, ठक्कर खाँदै म्याग्दीको बिकट गाउँबाट काठमान्डौंसम्मको यात्रा तय गरे र अन्तत्वगत्वा गायन क्षेत्रका एक होनहार युवा लोकगायककोरुपमा आफूलाई स्थापित गर्न सफल भए । लोकगायक गर्बुजालाई नेपाल सरकारले बिसं २०६९ मा गोदबा चौंथोद्वारा समेत सम्मान गरिसकेको छ । उसो त, उनी बिसं २०५७ मै नेपाल जेसिसद्वारा उत्कृस्ट राश्ट्रय पुरस्कारद्वारा सम्मानित भएका थिए ।
(थापा मगर USNepalOnline का प्रधान सम्पादक हुन)