अधिवेशन बोलाउन शीर्ष नेताहरु सहमत

Read Time:3 Minute, 7 Second

काठमाडौँ, ८ पुस

एनेकपा (माओवादी)द्वारा संसदको विशेष अधिवेशनमा प्रस्तुत प्रस्ताव फिर्ता लिई अधिवेशन अन्त्य गर्न र सरकारले व्यवस्थापिका–संसदको नियमित अधिवेशन अविलम्ब बोलाउन प्रमुख तीन राजनैतिक दलहरु सहमत भएका छन् ।

    तीन दलका शीर्ष नेताको शान्ति तथा पुनःनिर्माण मन्त्रालय सिंहदरबारमा आज भएको बैठकले अविलम्ब बोलाइने अधिवेशनमा सरकार गठनको जारी प्रक्रियालाई प्राथमिकता दिने कुरामा पनि सहमति जुटेको छ ।

    त्यसका लागि व्यवस्थापिका–संसदको आगामी नियमित अधिवेशन अगावै राजनैतिक दलहरुबीच गम्भीर वार्ता गरी राष्ट्रिय सहमतिको प्रयास गर्नेमा पनि बैठकमा सहमति भएको छ ।

    प्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा भएको सो बैठकमा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल सहभागी थिए  ।

    विशेष अधिवेशनमा एमाओवादीलगायतका राजनैतिक दलले व्यवस्थापिका–संसदको अधिवेशनमा प्रस्तावबारे मन्तव्य दिने सहमति भएको छ ।

    त्यसपछि सरकारका तर्फबाट भनाइ राखिनेछ । दुवैको भनाइपछि प्रस्तावकले प्रस्ताव फिर्ता लिई अधिवेशन अन्त्य गर्ने सहमति भएको नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बैठकपछि वताए  ।

    “सरकारले संसदको नियमित अधिवेशन अविलम्ब बोलाउन सिफारिस गर्ने र सो अधिवेशनमा सरकार गठनको जारी प्रक्रिया प्राथमिकतामा रहनेछ,” नेता पौडेलले भने ।

    प्रधानमन्त्रीले पनि आजको शीर्ष नेताहरुको बैठकमा विशेष अधिवेशन अन्त्य गर्ने र नियमित अधिवेशन बोलाउनेबारेमा सहमति भएको जानकारी दिए  ।

        एनेकपा (माओवादी)ले सरकार गठन र प्रधानमन्त्री चयनसम्बन्धी नियमावली संशोधन गर्नेगरी अन्य केही दलका सभासद् समेत १८७ सांसदले राष्ट्रपति समक्ष संसदको विशेष अधिवेशनको लागि अनुरोध गरेका थिए ।

    सो बमोजिम राष्ट्रपतिबाट संसदको विशेष अधिवेशन पुस ४ गते आह्वान भएको थियो ।

    यसअघि भएको काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकले विशेष अधिवेशनलगायत वर्तमान राजनैतिक गतिरोध अन्तका लागि विशेष अधिवेशन केही दिनका लागि स्थगित गर्न आग्रह गरेका थिए ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %