काठमाडौँ, ८ पुस । एकीकृत नेकपा (माओवादी) विशेष अधिवेशनबाट नै नयाँ सरकार बनाउनुपर्नेमा जोड दिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास नयाँबजारमा आज बसेको सो पार्टीको पदाधिकारी बैठकले अन्य राजनीतिक दलसँग यही अधिवेशनबाट नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्न अनुरोध गर्ने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सञ्चारकर्मीलाई जानकारी दिए ।
सोही बैठकले विशेष अधिवेशनमा प्रस्तुत प्रस्ताव फिर्ता नलिने अडान राख्ने निर्णयसमेत गरेको छ ।
तर आफूले विशेष अधिवेशनमा राखेको प्रस्ताव नियमित अधिवेशनमा लैजान अन्य दलहरू सहमत भए सो प्रस्ताव फिर्ता लिने एमाओवादीको भनाइ छ ।
यस्तै सोही बैठकले नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन)को म्याद आगामी जेठ १४ गतेसम्म थप्नु नै उपयुक्त हुने कुरामा जोड दिँदै अन्य दलहरूसँग यसबारे थप छलफल गर्ने निर्णय गरेको उपाध्यक्ष श्रेष्ठले बताए ।