नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स । नमस्कार उहाँ भगवान अरहन्त सम्यक सम्बुद्धलाई ।
✍ भिक्षु अश्वघोष
सत्य सबैलाई मन पर्छ । सस्तो पनि छ यो । तर खोज्न गयौं भने यसलाई पाउन सजिलो छैन । सिद्धार्थ कुमारले सत्यको आधारमा नै बोधिज्ञान प्राप्त गरी बुद्ध हुनु भएको थियो । संसारमा अहिलेसम्म भगवान् बुद्धको जति पनि पूजा र सम्मान भइरहेका छन्, ती सबै उहाँको सत्यको प्रभावले नै हो ।
पालि साहित्यमा उल्लेख भए अनुसार भगवान् बुद्धले सत्य क्रिया गर्नुभएको वैशालीमा रहनु भएको बेलाको घटना हो यो । त्यसबखत वैशालीमा अनिकाल परेको थियो । पानी परेन । खानाको अभाव भयो । मानिसहरू खान नपाएर विरामी पर्न थाले र भोकभोकै मर्न थाले । हाहाकार मच्चिन थाल्यो । यस्तो अनिकालमा भगवान् बुद्ध प्रमुख भिक्षुहरू भिक्षाटन जान मिलेन । खाद्य वस्तु, अन्न जगेडा भएका दाताहरूले विहारमा खाद्य वस्तु दान गर्न ल्याए । खान नपाएका मानिसहरूले चोरेर लान थाले ।
यस्तो समस्या आइपरेकोले वेसहारा मानिसहरूले सहारा र उपाय खोज्न थाले । ती मध्ये कोही मानिसहरू बुद्ध समक्ष आई यसरी प्रार्थना गर्न थाले — “शास्ता ! हामीलाई ठूलो विपत्ति आइपर्यो । यो अनिकालबाट छुट्कारा पाउन कसैले त अनेक तन्त्र मन्त्र गरी त्राण लिनपुगे । हामीलाई त भगवान् बुद्ध बाहेक अरूमा विश्वास छैन । त्यसैले हामीलाई यस समस्याबाट मुक्ति दिलाउनु केही उपाय त गरिदिनै पर्यो भगवान् ।
उनीहरूको कुरा सुनी भगवान बुद्धले सोच्नुभयो — “मानिसहरूको मन कमजोर भइसक्यो । यो समस्या हटाउन मैले केही सहयोग त गर्नै पर्छ । अब मेरो सत्य परीक्षाको समय आयो । यति सोच्नु भई उहाँले सत्य क्रिया गर्नुभयो — “मैले दरबार त्यागेर आएको नै अरुको उपकारको लागि हो । दरबार त्यागेदेखि अहिले सम्म मैले कुनै पनि झूठो कुरो बोलेको छैन । सत्यताको आधारमा बोलिरहेको छु । सत्यताकै आधारमा काम पनि गरिरहेको छु । मनले समेत सत्य मात्र चिन्तन मनन गरिरहेको यही सत्यताको बलले नै मैले बुद्धत्व प्राप्त गरी बुद्ध भए । मेरो मन, मेरो मैत्री र करूणा शुद्ध र सत्य छ भने मेरो काम पनि सत्य छ भने यस सत्य वचनको प्रभावले शान्ति स्वस्ति होस्, मानिसहरूको रोग, नाश होस् र वर्षा होस् ।”
यसरी भगवान् बुद्धले सत्य क्रिया गर्नु भएपछि वैशालीमा खूब वर्षा भयो । दुर्गन्ध सबै बगाएर शान्तिले स्थान लिएको चर्चा पालि साहित्यमा उल्लेख भएको छ ।
आजभोली पनि परित्राण पाठ सिद्धिने वित्तिकै सत्यवचनको प्रभावले जयमंगल होस् भनी कामना गर्दै यसरी सत्य क्रिया गर्ने चलन छ—
“एतेन सच्च वज्जेन सोत्थिते होतु सब्बदा एतेन सच्च वज्जेन सब्बरोगो विनस्सतु एतेन सच्च वज्जेन होतु ते जय मंगलं ।”
अर्थात् यस सत्य वचनको प्रभावले शान्ति स्वस्ति होस्, रोग नीको होस्, यस सत्यवचनको प्रभावले जयमङल होस् ।
यही प्रसंगवस् सत्य वचनको प्रभावले प्रत्यक्ष असर परेको कुरा जातक कथामा उल्लेख भएको छ । यसलाई यहाँ प्रस्तुत गर्न उपयुक्त ठान्दछ ।
एकजना युवक गृहस्थ जीवन देखि विरक्तिएर भिक्षु बन्न गयो । साथीहरूले त्यसरी त्यागी न बन्न सल्लाह दिए । तर उसले साथीहरूको कुरा नमानी अट्टेरी बनी भिक्षु भए । त्यस भिक्षु कहाँ एक महिला आफ्नो बालक छोरोलाई साथमा लिई प्रवचन सुन्न आउने गर्थिन् । प्रवचन सुन्ने वेलामा छोरो आफ्नो श्रीमान्लाई जिम्मा लगाउने गर्थिन् ।
उनको श्रीमानलाई त्यस भिक्षु प्रति श्रद्धा नभएकोले होला बुद्ध वचन सुन्न आउँदैनथ्यो र आफ्नी श्रीमतीको आग्रह अस्वीकार गर्न नसकी बालक छोरोलाई खेलौना एउटा ठम्याउन दिई बाहिर चउरमा खेलाई रहने गथ्र्याे । एकदिन बालकको खेलौना एउटा प्वालमा पसेछ । त्यस प्वालमा सर्प रहने गथ्र्याे । खेलौना प्वालमा पसेकोले हात पसारी खेलौना लिन खोजेको बालकलाई सर्पले डसेछ । छोरो सर्पको टोकाईले वेहोश भएको देखी आत्तिएर बालकको बुबा प्रवचन सुनिरहेकी श्रीमतीलाई यो खवर दिएर भन्न थाल्यो— “तिम्रो गुरुलाई हाम्रो बेहोश छोरोलाई होश मा ल्याउन मन्त्र पढ्न अनुरोध गर । वालकको आमाले त्यस भिक्षुलाई आफ्नो छोरो बचाउनु अनुरोध गरिन ।
भिक्षुले भन्यो — मलाई मन्त्र त आउँदैन तैपनि सत्य वचन बोली यस वालकलाई सर्पको बीष हटाउन प्रयत्न गर्नेछु । यति भनी त्यस भिक्षुले सत्यक्रिया गरे — म संसार देखि विरक्तिएर भिक्षु बन्न खोज्दा मेरो साथीहरूले मलाई भिक्षु नबन्न सल्लाह दिएका थिए । तैपनि मैले उनीहरूको आग्रहलाई वास्ता नराखी भिक्षु बनें । तर म भिक्षु बनेर एकवर्ष पछि यस भिक्षु जीवन देखि वाक्क लाग्न थाल्यो । तैपनि साथीहरूले गिजाउने डरले भिक्षु जीवन त्याग्ने साहस भएन । त्यसैले भिक्षु जीवन मन नपरे पनि म ३० वर्ष सम्म वाध्य भई भिक्षु बनीरहें । यो सत्यवचन हो । यो सत्य वचनको प्रभावले यस वालकको शरीरमा फैलिएको विष झरेर जावस् ।
भिक्षुको यस सत्य किरियाको प्रभावले त्यस वालकको शरीरमा फैलिरहेको विष टाउकोवाट झरी गर्दन सम्म ओल्र्यो । त्यसैले वालकले आँखा खोल्यो । त्यसपछि वालकको बुबाले पनि उनकी श्रीमतीलाई सत्य किरिया व्यक्त गर्न सल्लाह दिए — श्रीमानको आग्रह स्वीकार्दै वालककी माताले यसरी सत्य क्रिया व्यक्त गरिन् — “मलाई मेरा मातापिताले यस केटासंग विवाह गरिदिए । तर मलाई यो श्रीमान पटक्कै मन पर्दैनथ्यो । तैपनि वाध्य भएर म यिनीसंग जीवन विताइरहेको छु । यो सत्यवचन हो । यो सत्यवचनको प्रभावले मेरो छोरोको विष झरेर जावस् त्यस महिलाको सत्यवचनको प्रभावले त्यस वालकको शरीरमा फैलिरहेको विष कमर सम्म झरेर गयो ।
वालकको शरीरमा फैलिएको विष सत्यवचनको प्रभावले कम हुँदै गएको देखी वालकको माताले आफ्ना श्रीमानलाई पनि सत्य वचन् ब्यक्त गर्न अनुरोध गरिन् अनि वालकको पिताले पनि आफ्नो सत्य क्रिया व्यक्त गर्न थाल्यो । “मलाई मेरी श्रीमती यो भिक्षु कहाँ आई प्रवचन सुन्न आउने मलाई पटक्कै मन पर्दैनथ्यो । तैपनि श्रीमतीको मायाले केही भन्न नसकी वाध्य, भएर सहेर बसिरहेको छु । यो सत्य वचन हो, यो सत्य वचनको प्रभावले यस वालकको बिष कम भएर जावस् ।
यो सत्यवचनको प्रभावले वालकको शरीरका फैलिएको बिष झरेर गई बालक जुरूक्क उठेर पहिला जस्तै बिष रहित हुन सफल भयो । यही हो सत्य वचनको प्रभाव ।
।। नमः बुद्धाय ।।
स्रोत : आरोन तुलाधरको फेशबुक