काठमाडौँ, ५ पुस
एकीकृत नेकपा (माओवादी)ले शान्ति–प्रक्रिया र संविधान लेखन कार्य अन्तिम टुङ्गोमा नपुगेको र अझै राजनीतिक समझदारी कायम नभएकाले नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन)को समयावधि पुनः थप्नुपर्ने निष्कर्ष निकालेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास नयाँबजारमा आज बसेको स्थायी समिति बैठकले शान्ति–प्रक्रियाको निगरानी गर्न अनमिनको भूमिका उपयुक्त हुने ठहर गर्दै यस्तो निष्कर्ष निकालेको प्रवक्ता दीनानाथ शर्माले सञ्चारकर्मीलाई जानकारी दिए ।
उनले यसबारे पार्टीले सरकार र अन्य राजनीतिक दलसँग पनि सल्लाह गर्ने स्पष्ट पारे ।
सोही बैठकले संवैधानिक समितिहरूलाई नै सक्रिय पार्नुपर्नेमा जोड दिँदै नयाँ संविधानका विषयवस्तुका विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको समय नथप्ने निर्णय गरेको छ ।
संवैधानिक समितिहरू निष्क्रियजस्ता देखिएका र सभासद्हरुको भूमिका न्यूनीकरण भएको जस्तो देखिएकाले पार्टीले सहमति हुन बाँकी मुद्दाहरूको सहमति संविधानसभाभित्रबाट नै खोज्नुपर्ने विश्लेषण गरेको प्रवक्ता शर्माले बताए ।
यस्तै बैठकले योङ कम्युनिष्ट लिग (वाइसिएल) को अर्धसैनिक संरचना कायम नरहेको स्पष्ट पार्दै कहीँकतै यस्तो संरचना रहेको देखिएमा तत्कालै हटाउने र आइतबारदेखि सुरु भएको व्यवस्थापिका–संसद् अधिवेशनबाट सहमति खोज्न दलहरूसँग थप छलफल गर्ने निर्णय गरेको छ ।
बैठकले भावी आन्दोलन, यसै महिनादेखि देशव्यापी सुरु गर्ने भनिएको प्रशिक्षण, पार्टीको साङ्गठनिक हेरफेरलगायतका विषयमा नयाँ निर्णय गर्ने भनिए पनि यसबारे आज छलफल गर्न नभ्याइएको उनले स्पष्ट पारे ।