दाङ ४ पुस
थरुहट स्वायत्त राज्य परिषद्ले गरेको बन्दका कारण आज दाङको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण आज बिहानैदेखि दाङमा सवारीसाधन सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ ।
बन्दका कारण जिल्लाका बजार पनि पूर्णरुपमा बन्द रहेका छन् ।
त्यस्तै जिल्लाका शिक्षणसंस्था र कलकारखाना पनि खुलेका छैनन् ।
विगतमा आफूहरुसँग गरिएका सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै थरुहट स्वायत्त राज्य परिषद्ले आज एक दिनका लागि थरुहट क्षेत्र बन्दको आह्वान गरेको थरुहट स्वायत्त राज्य परिषद्का युवा नेता राजेश चौधरीले बताए ।
अहिले परिषद्का कार्यकर्ताले तुलसीपुर र नारायणपुरमा जम्मा भई प्रदर्शन गरिरहेका छन् ।
सरकारसँग २०६४ सालमा भएको पाँच बुँदे सहमति र २०६५ साल चैत १ गते भएको ६ बुँदे सहमति बुँदागतरुपमा कार्यान्वयन गर्नुपर्ने आफूहरुको माग रहेको चौधरीले जनाकारी दिए ।
बन्दको आह्वानका कारण आज बिहानैदेखि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।