विजय लुङफुङवा लिम्बू
बिषय प्रवेश :
यसै बर्ष धनकुटा जिल्लामा पासाङ तामाङ हिले, शम्भु शेर्पा भोजपुर र प्रेम राई खाँदवारीलाई गाई मारेको अभियोगमा प्रहरीले प्रकाउ गर्यो । जसले त्यहाँ अत्यन्त तनावपुर्ण स्थिती बन्यो । त्यसरी नै ८ बर्ष अधि पचास बर्षिय कृपा भोटेनी खाँदबारी लाई संखुवासभा जिल्ला अदालतले गाई मारेको अभियोगमा १२ बर्ष जेल सजाय सुनायो । त्यसरी नै आज भन्दा ३ बर्ष अगाडी नुवाकोटका टेक तामाङ र राज कुमार तामाङलाई गाई मारेको अभियोगमा प्रहरीले पक्राउ गर्यो । यी त प्रतिनिधि पात्रहरु मात्र हुन् । वर्तमान अन्तरिम संविधानले नेपाललाई धर्म निरपेक्षता राज्य धोषणा गरेता पनि गाई मारेको वा मासु बेचेको अभियोगमा कैयौंलाई कानुनी सजायहरुको भागीदार बनाइएको छ । देशमा गणतन्त्र आएता पनि राज्यसत्ताको विभिन्न क्षेत्रहरुमा रहेका हिन्दु संस्कृतिकरणको प्रभावले यो स्थिती सृजना गरेको हो । राज्यको पुनसंरचनाको सवाल आउँदा राज्यका हरेक अंगहरुको पुनसंरचना हुन पर्दछ यस सवालमा नेपालको राजनीतिमा अत्यन्त प्रभाव पादै आएको गाई अथवा हिन्दु प्रतिक चिन्हको सन्दर्भमा पनि चर्चा हुनु पर्दछ ।
नेपालमा गाई राजनीति ऐतिहासिक रुपमा :
राजनितीमा प्रतीकात्मक कुराको पनि अत्यन्त महत्व हुन्छ । अझ पहिचानको राजनीतिमा ती प्रतीकात्मक चीजहरुले सिङ्गो समुदायको पहिचान समेटेको हुन्छ । नेपालमा “गाई” हिन्दुहरुको एक त्यस्तै प्रतीकात्मक चीज हो । ऋग वेदमा चौपाया हत्यालाई अस्वीकार गरेको छैन, गाईलाई अत्यन्त पवित्र र यसको संरक्षण र प्रबर्दनका कुरा गरेको छन् , तर केहि विद्घानहरुले हिन्दु वैदिक कालमा गाईको मासु खाने सामान्य कुरा थियो र विषेश बैदिक कार्यक्रमहरुमा गाई , गोरुको बलि दिने चलन थियो भन्ने गरेका छन् (पारुथि, आर.के २००४) । यध्धपी पछिल्लो समयमा हिन्दुधर्म अन्तर्गत गाईलाई अत्यन्त सम्मान र पवित्र चीज भनेर पुज्ने गरेको पाइन्छ । सोही अनुरुपमा नेपालमा हिन्दु राज्यसत्ताले गाईलाई कानुनी रुपमा संरक्षित गदै राष्ट्रिय जनावार बनाएको हो । जसको लागी नेपालमा लामो हिन्दु संस्कृतिकरणले निक्कै ठुलो भुमिका खेलेको छ । विद्घान प्रयागराज शर्माका अनुसार नेपालमा हिन्दूहरुको प्रवेश तीन चरणमा भएको देखिन्छ, पहिलो चरणमा पहिलो शताब्दी तिर त्यसरी नै दोस्रो चरणमा १२ शताब्दीमा नेपालको पश्चिम क्षेत्र र तेस्रो चरणमा १४ शताब्दीमा हिन्दूहरुको नेपालमा प्रवेश भएको पाइन्छ । नेपालको पश्चिम तीरबाट तिनीहरुको प्रवेश र खस समुदायमा भएको प्रभावलाई हेर्दा पनि यो कुरा पुष्टी हुन्छ । नेपालमा हिन्दूकरणको अभ्यास लिच्छवीकाल र मल्लकालमा बढि संस्थागत रुपमा भएको पाइन्छ । खास गरी वर्णव्यवस्था र सो अनुसारको कानून कार्यान्वयन कुराहरु नेपाली इतिहासहरुमा पाइन्छ ।
गौ हत्यालाई कानुनी रुपमा निषेध मुल रुपमा १८ औ शताब्दी देखि पाइला चालेको देखन्छ (गेल्नर, जेरनिका, वेल्पटन, २००४) । १८ औं शताब्दी अवधि भरि नेपाललाई एक हिन्दु राष्ट्र बनाउने अभियान तिब्र भयो खास गरि दक्षिण भारतमा गाई खाने विदेशीहरुले शासन विस्तार गरेका थिए, उत्तरमा सुँगुर खाने चीनिया र तिब्बतीहरुको विस्तार थियो । यस्तो अवस्थामा हिन्दुत्वलाई जोगाउनु पर्ने हेतुले नेपाललाई असली हिन्दुस्थान बनाउने अभियानमा पृथ्वीनारयाण शाहले जोडदार भुमिका खेले । यस्तो अवस्थामा गोर्खा राज्य नै असली गौ रक्षक हो जस्ले असली हिन्दुस्थानको निर्माण गर्न सक्छ भन्ने अभिप्रायले उनले नेपाललाई असली हिन्दुस्थान बनाउने कुरा उल्लेख गरेको छ । यो एक राजनीतिक निर्णय थियो । यसलाई अझ मिहिन रुपमा बुझ्दा गोर्खा शब्दको नामकरण तर्फ केन्द्रित हुनु पर्दछ , गोर्खा शब्द संस्कृतको गौरक्षा बाट अप्रभंस हुदै आएको हो भनेर केहि विद्घानहरुले भनेको छ , जसको अर्थ हो गाईको रक्षा गर्नु हो, जसलाई हिन्दुहरु पृथ्वीमाताको रक्षा संग जोड्दछ । गोर्खाको नामकरणमा योगी गोरखनाथ संगको कथा पनि जोडिन पुग्छ यध्धपी शाब्दीक र व्यवहारिक अर्थलाई हेर्दा गौरक्षाबाट नै गोर्खा भएको कुरा नजीक हुन जान्छ (गेल्नर, जेरनिका, वेल्पटन, २००४) ।
बिषेश गरी पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गरे पछि जीतेको राज्यहरुमा हिन्दू धर्म र संस्कार अपनाउनु पर्ने उर्दी नै जारी गरेको पाइन्छ । सो कुराको विरुद्घमा विद्रोह गर्दा अमानविय पुर्वक दवाइ अन्य जाती र समदायको ग्रन्थ, साहित्य इतिहासहरु नष्ट गरेको आज पनि पढ्न पाइन्छ । सम्पुर्ण सरकारी कानुन, नियम, आदेश सम्पुर्ण कुराहरु हिन्दु धार्मिक मुल्य मान्यतामा आधारित थिए, त्यसैको एक पक्षको रुपमा गाइको पवित्रतालाई तत्कालिन हिन्दु राज्यसत्ताबाट प्रचार प्रसार गर्ने काम भयो । तर उक्त कुरा नेपालको वास्तविक सामाजिक साँस्कृतिक विविधता भन्दा विल्कुलै विरुद्घ थिए । रामशाहले(१६०६ –१६३६) मा शाही आदेश मार्फत गौ हत्यालाई बन्देज लगाएको थियो । रामशाहको २६ थितिमा १२ औं थिति गौचरको विस्तार गर्नु , गाईको रक्षा गर्नु राजाको धर्म हो अन्यथा राजालाई पाप लाग्छ भन्ने कुरा उल्लेख गरेको छ । रणबहादुर शाहले आफ्नो कानुनी बन्दोबस्तमा को २२ सवालमा……गौबध गर्याको अम्बालीले जिवै मारिदिनु….भनेको छ । जसले गौवधलाई अझ कठोर सजायको रुपमा लिएको छ ।
वि.स. १८६२ माघमा योग्या निधी तथा अन्य केहि न्यायधिशहरु सोलुखुम्बु तथा पुर्वी पहाडी क्षेत्रमा गौ हत्यालाई निर्मुल गर्न र तत्कालिन राजाको आदेशमा गए । मुख्य रुपमा उक्त क्षेत्रहरुमा आदिवासी जनजातीहरुको बाहुल्यता भएको कारणले स्वभाविक रुपमा गाई गोरुको मासु खाने चलन थियो । तर उनीहरुले फाल्गुण १८६० देखि यता कसैले गौ हत्या गरिए नीजलाई शीर छेदन अथवा कैद सजाय हुने व्यवहोरा जानकारी गराए (रेग्मी रिसर्च रेरिज १) । त्यसरी नै १८६२ मा एक दमाईलाई अत्यन्त निर्दयी पुर्वक मृत्यु दण्ड दिईएको कुरा महेश चन्द्र रेग्मीले (रेग्मी रिसर्च सेरिज १) मा उल्लेख गर्नु भएको छ । उक्त घटनामा गाई मारेको अभियोग स्थानिय अधिकारीले भने “ यसको ढाडको छाला उतारी मासु निकाल, त्यसमा अमिलो चुक र नुन मिसाएर दल, नीजलाई नीजको मासु खान देऊ, अनि मार” । यस प्रकार दण्डको भयले गौ बधलाई निषेध गर्ने प्रयास गरेको देखिन्छ । लिम्बूहरुले थेवा साम्माङ र पुङ साम्माङ(सिकारी) को पुजा गर्दा गाईको मासु भोग दिने चलन थियो । रणबहादुर शाहले लाल मोहर जारी गरी गोबध गर्नेलाई कठोर दण्ड दिने भन्दै प्रतिबन्ध लगाए पछि लिम्बूहरुले थेबा साम्माङ र पिचम्मा साम्माङ गर्दा गाईको बदलि राँगो वलिदिन थाले । त्यसको अतिरिक्त लडी मेरका गाईको मासु खानेलाई “म्याग्जीन कर” लगायो । कर तिर्नु पर्ने डरले त्यति बेला नै धेरैले गाईको मासु खान छाडे (तुम्वाहाङ, २०६८)।
त्यसरी नै मुलुकी ऐन १९१० मा जंगबहादुर राणाले गोवध गन्र्या ..महलमा गाइ लाइ कसैले जानी जानी हतियार चलायो , ज्यू मरेन भन्या, नमासिन्या जातलाइ अैन बमोजिम उसको अंस सर्वस्व गरि छाडि दिनु मासिन्या जातलाइ मासि दिनु …यसरी यसले प्रष्ट रुपमा ब्राम्हण र अन्य जातमा विभेद गरेको देखिन्छ साथै संस्कृतिकरण कानुनी रुपमा नै गरेको देखिन्छ । नेपालमा पहिलो चोटी हिन्दु अधिराज्यको घोषणा २०१९ सालको संविधानले गरेको छ । त्यसरी नै वि.स. २०२० सालमा नयाँ मुलुकी ऐन जारी गरियो, राजा महेन्द्रले जारी गरेको उत्त ऐनमा गौ वधको कुरालाई वडो चलाखी पुर्वक चौपायाको महलमा उल्लेख गरेको छ उत्त ऐनको चौपायाको महलमा जानी जानी गाई मार्नेलाई १२ बर्ष र वचन दिनेलाई ६ बर्ष कैद गर्नु पर्दछ भेर उल्लेख गरेको छ । उक्त ऐनको नवौं संशोधन र गणतन्त्र सुदृढीकरण तथा केहि नेपाल कानुन संशोधन गर्ने ऐन २०६६ ले समेत यस प्रवधानलाई परिवर्तन गर्न चाहेन । जस्को मुल कारण नै राज्यसत्तामा हिन्दु संसकृतिको वोलवाला कायम रहोस् भन्ने राज्य सत्तामा पहुँच हुनेहरुको हो । यस प्रकार दण्ड तथा कुटनैतिक प्रयोगले नेपालमा गौ बधलाई निषेश गर्ने र गाईलाई साझा धर्मको प्रतिक चिन्ह बनाउने राजनीतिक कार्य भयो । जो एक राजनीतिक हिन्दु संस्कृतिकरण थियो ।
२०४६ साल पछि :
२०४६ सालको जन आन्दोलन पश्चात देशको राजनीतिक वातावरण केहि खुकुलो बनेता पनि देश हिन्दु संस्कार र संस्कृतिको प्रभावबाट एक इन्च तल झर्न चाहेन । एक दलिय पञ्चायति व्यवस्थाको विघटन भएता पनि आदिवासी जनजाती, दलित, मुश्लिमहरु प्रति भई रहेको विभेद हटेन, विभिन्न जाती जनजाती र समुदायहरुको विरोध हुदा हुदै पनि नेपालको संविधान २०४७ को प्रस्तावनामा नै नेपाललाई हिन्दु राज्य धोषणा ग¥यो भने गाईलाई राष्ट्रिय जनावरको रुपमा उल्लेख गर्यो । त्यसैले सामाजिक र साँसकृतिक अधिकार विहीनको राजनीतिक अधिकारले मात्र विविधतायुक्त समाजमा न्याय गर्न सक्दैन भन्ने कुरा प्रष्ट पार्यो ।
२०६२-६३ को जन आन्दोलन पछिको अवस्था :
२०६२-६३ सालको जनआन्दोलन गणतन्त्र उन्मुख मात्र नभएर आदिवासी जनजाती,दलित, मुश्लिम, महिला र पिछाडि पारिएका क्षेत्रका जनताको सामाजिक, साँस्कृतिक र राजनीतिक अधिकारको लागी गरिएको आन्दोलन थियो । त्यसैले यो आन्दोलन जनताको चेतनाको हिसाबले २०४६ सालको जन आन्दोलन भन्दा प्रगतिशिल थियो । सबै भन्दा महत्वपुर्ण कुरो नेपाललाई मे १८, २००६ मा पुर्नस्थापित संसदले धर्म निरपेक्ष राष्ट्र घोषणा ग¥यो । यति हुँदा हुदै पनि राष्ट्रिय जनावर गाई नै बनायो त्यति मात्र नभएर नेपाल कानुन संशोधन गर्ने ऐन २०६६ ले मुलुकी ऐन चौपायाको महलमा भएको गौ वध सम्बन्धि कुरालाई परिवर्तन गर्न चाहेन, बरु हिजो कै ब्राम्हणवादी राज्य सत्ताले कायम गरेका प्रावधानलाई अनुमोदन गर्ने काम ग¥यो । यसै कानुन अन्तगर्त कृपा भोटेनीको जेल चलान, धनकुटा, सिराहा, नुवाकोटमा गाई मारेका अभियोगमा आदिवासी जनजातीहरु पक्राउ परिरहकेका छन् ।
दोस्रो संविधान सभाको निर्वाचनमा सुगा र रुगा :
संविधान सभाको दोस्रो निर्वाचनका परिणामलाई अर्को पाटोबाट हेर्दा वास्तवमा वैचारिक मतदान भन्दा पनि सामाजिक र साँस्कृतिक आधारमा मतदान गरिएको जस्तो देखिन्छ । दोस्रो संविधान सभाको निर्वाचनमा अरु दल जे सुकै एजेण्डामा निर्वाचन अभियान सञ्चालन गरे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु अधिराज्य र संवैधानिक राजतन्त्रको नाराको साथ निर्वाचनमा होमिए, उनीहरुको चुनाव चिन्ह गाईले पनि उनीहरुको अभियानको उदेश्यलाई साथ दियो । त्यसमा हिन्दु अधिराज्य स्थापनाका सवालमा केहि ठुला दलका नेताहरुको पनि अप्रत्य समर्थन थियो । परिणाम स्वरुप कसैले नसोचेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल देशको चौंथो शक्तिको रुपमा स्थापित भयो । यो मत हिन्दु धर्मको पक्षमा एकत्रित मत नै हो, नभए पहिलो हुनेले निर्वाचित हुन निर्वाचनमा २५२५७९ मत ल्याई १२ औं स्थानमा रहेको पार्टी समानुपातिक निर्वाचनमा ६३०६९६ मत ल्याई कसरी चौंथो स्थानमा हुन्थ्यो ? यसलाई अझ गहिरिएर विश्लेषण गर्न काठमाण्डौं क्षेत्र नं १ को निर्वाचन परिणामलाई मात्र हेरौ , पहिलो हुने निर्वाचित हुने निर्वाचनमा उत्त क्षेत्रबाट नेपाली कांग्रेसले १५१८८ मत ल्याएका थिए भने एमाओवादीले ४०६४, राप्रपा नेपालले ३७३२ र एमाले ३५०१ ल्याएको थियो तर समानुपातिकमा कांग्रेसले १५८२५, एमालेले ९४२५, राप्रपा नेपालले ९२८८ र एमाओवादीले ६२२८ मत प्राप्त गरेका थिए । यसरी पहिलो हुनेले जित्ने निर्वाचन र समानुपातिकमा निक्कै मतको अन्तर देख्न सकिन्छ । यस किसिमको परिणाम देशै भरि आएको देखिन्छ, जुन परिणाम ल्याउन विभिन्न कर्ताहरुको भुमिका थियो । ती कर्ताहरु कांगे्रस, एमाले, माओवादी र आफुलाई नागरिक समाजका बुद्घिजिवी भनाउने नेताहरु नै थिए । खास गरि निर्वाचनमा सुगा (सुर्य र गाई) र रुगा (रुख र गाई) को अभियान सफल भएको देखिन्छ । यसबाट पनि देखिन्छ कि सम्भ्रान्त समुदायले नेतृत्व गरेको दलहरु वैचारिक रुपमा जति नै फरक भए पनि सामाजिक र साँस्कृतिक रुपमा एक हुन्छन् । जसले गर्दा दोस्रो संविधान सभाको निर्वाचनमा पहिचान पक्षधरहरुलाई पाखा लगाउने काम भयो । जसमा पहिचान पक्षधरहरुको फुटले अझ सहज बनायो । राजनीतिक सामाजिकरणको परिणाम
नेपालमा हिन्दु धर्मलाई राजनीतिक सामाजिकरणको रुपमा प्रवेश गराएको देखिन्छ, १८ औ शताब्दी देखि हिन्दु धर्मका वैदिक विधि, आचरण र प्रवृतिहरुलाई आदेश, कानुनी र दण्डको भयमा लागु गरेको देखिन्छ । यसलाई अझ जोडको रुपमा पञ्चायतकालमा शैक्षिक पाठयाक्रम, सञ्चार माध्यम र सरकारी संयन्त्रहरुबाट प्रसार गराउने काम भयो । यसको एउटै उदेश्य अन्य जाती र समुदायहरुमा गाई र हिन्दु धर्म प्रति आस्था जागोस् भन्ने नै हो । धर्म संस्कारमा प्रयोग हुदै आएको गाई गोररुको बलि अन्य जीव जन्तुका साथ गर्नु पर्ने बाध्यता आयो, त्यसरी नै यस सामाजिकणले आदिवासी जनजातीहरुमा साँस्कृतिक परिवर्तन नै गरेको छ, जसमा मौलिक संस्कृति हराउने क्रममा छ । त्यसैले यो एक नेपालमा अन्य समुदायहरु प्रति हिन्दु धर्मले गरेको साँसकृतिक हस्तक्षेप हो ।
भारतको सम्भावित प्रभाव :
वास्तवमा भारतमा भन्दा नेपालको हिन्दुहरुलाई भारतियहरु असली हिन्दु ठान्दछन् , यसको कारण नेपाल एक मात्र हिन्दु राज्य थियो, यहाँका राजालाई विष्णुका अवतार मान्दथे, जुन देश गाई खाने देशको उपनिवेश बन्न सकेन । यसकारण गाईको रक्षा र विषिष्ठ स्थानको लागी पनि भारतियहरुको चासो धेरै नै छ । यसै कारणले नेपालमा आएर भारतिय राजनीतिज्ञहरुले नेपाल धर्म निरपेक्षता घोषणा गरिएकोमा दुःख लागेको अभिव्यक्तीहरु दिन्छन् । यहाँका धार्मिक कार्यक्रमहरुमा भारतिय धार्मिक गुरुहरु आएर नेपाललाई हिन्दु राज्य घोषणा गर्नु पर्दछन भन्छन् । पछिल्लो चोटी भारतिय निर्वाचनमा भारतिय जनता पार्टिका प्रधानमन्त्रीका उम्मेदवार मोदीको जीतको चर्चा र हिन्दु अभियानले अझ यस कुरालाई पुष्टि गर्दछ । यस भारतिय निर्वाचनमा मोदीले हिन्दु धर्मवालम्बीहरुको प्रतिक गाई लाई पनि निर्वावनको नारा बनाए । भारतिय जनता पार्टीलेले हिन्दुवादी नारा नै तयार गरे….मोदीको मतदान, गाईको जीवन दान, विजेपीका सन्देश बचेगी गाई, बचेगा देश…। भारतिय निर्वाचनमा हिन्दुवादी पार्टी भारतिय जनता पार्टीको विजयी र मोदीको हिन्दुवादी नेतृत्वले नेपालीको राजनीतिमा पनि कुनै न कुनै असर गर्दछ नै ।
अन्तमा :
नेपाल एक बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक मुलक हो । पछिल्लो जनगणना अनुसार नेपालमा १२५ वटा विभिन्न जाती जनजाती र समुदायहरु रहेकोछ । नेपालको अन्तरिम संविधान २०६३ ले पनि यो कुरालाई स्वीकार गरेको छ । यस प्रकार ती सबै जाती र समुदायहरुको आफ्नै संस्कार र संस्कृति, धर्म , भाषा र जीवनशैलीहरु छन् । आदिवासी जनजातीका अधिकार सम्बन्धी संयुक्त राष्ट्र संधिय घोषणा पत्र र आइ.एल.ओ १६९ ले पनि सबै आदिवासी जनजातीहरुलाई आफ्नो संसकार र संस्कृतिहरु मनाउन, आफ्नो धार्मिक कर्मकाण्डहरु पुरा गर्न अधिकार दिएको छ । कुनै एक समुदायको प्रतीक चिन्ह (गाई) लाई राष्ट्रिय महत्व दिँदा स्वाभाविक रुपमा अरुले विभेद गरिएको महसुस गर्छन् । राज्यको पुनसंरचनाको अवसरमा यस किसीमका विभेदहरु पनि हटाउँदा वास्तविक रुपमा समावेशीको महसुस गर्न सकिन्छ । त्यसैले गाईलाई नेपालको राष्ट्रिय जनावरबाट हटानु र मुलुकी ऐन चौपायाको महललाई खारेज गर्नु नै वर्तमान अवस्थामा हिजोको आन्दोलनहरुको सान्दर्भिकता हुन्छ ।