सँगीतमा जम्दै ‘बसन्त’

Read Time:9 Minute, 56 Second

देविका घर्ती मगर , दाङ

जब उनी कुनै कुरा बुझ्ने उमेरका थिए त्यतिबेलादेखि नै गीतसँगीत भनेपछि हुरुक्कै हुन्थे । अझ त्यसमा पनि मादल बजाउन सानैदेखि सिकेका उनलाई बाद्यवादनसँगै गीतसँगीतमा त्यत्तिकै रुची बढायो । विद्यालयहरुमा आयोजना हुने हरेक गतिविधिमा उनको कुनै न कुनै रुपमा सहभागिता हुन्थ्यो । नृत्यमा पनि उनी अगाडि थिए । नृत्य, गायन, वाद्यवादनसँगै वक्तृत्वकला, हाजिरीजवाफमा पनि उत्तिकै सक्रिय थिए । त्यसैले विद्यालयको प्रतिनिधित्व गरेर उनी जिल्लामा हुने हरेक सांस्कृतिक तथा अतिरिक्त प्रतियोगितामा सहभागिता जनाउँथे । धेरैपटक उनले प्रथम पुरस्कार समेत हात पारेका छन् । यी विविध प्रतिभाका धनी उनी पढाईमा पनि तेज थिए ।

 
यी बहुप्रतिभाका धनी हुन् नेपाली सँगीत क्षेत्रमा जम्ने कोसिस गरिरहेका बसन्त घर्ती मगर । नारायणपुर गाविस–३ चरबगीया दाङ निवासी बसन्त अहिले नेपाली सँगीत क्षेत्रमा जम्ने कोसिसमा छन् । विशेषतः आधुनिक तथा लोकपप गायनमा रुची राख्ने बसन्तले अहिलेसम्म एउटा आधुनिक तथा लोकपप गीती एल्बम बजारमा ल्याइसकेका छन् भने, उनी अहिले अर्को एल्बमको तयारीमा रहेका छन् ।

शास्त्रीय सँगीतमा दोस्रो वर्षमा अध्ययनरत रहँदा २०६९ सालमा बसन्तले ‘मेरो पे्रम’ नामक आधुनिक-लोकपप गीती एल्बम बजारमा ल्याएका हुन् । ‘मेरो प्रेम’ एल्बममा लाखौंको धड्कन रैछौ तिमी, बाहाना केही छैन, तिमीलाई छोडे भन्दै हिड्यौं, म आँसु पिएर बाँचेको मान्छेलाई, कस्तो माया चाहन्थ्यौं र ?, कोइलीको मिठो बोली, यहाँ कोही कोही छ कि बोलका ७ वटा आधुनिक तथा लोक पप शैलीका गीतहरु समावेश गरिएका छन् । उक्त एल्बममा बसन्त घर्ती मगर, स्पन्दन स्वरहाङ्ग राई, नरहरी पे्रमी र बसन्त बुढाथोकीको शब्द तथा स्पन्दन स्वरहाङ्ग राई, सन्तोष दुमी राई, नरहरी प्रेमी सँगीत रहेको छ । आवाज डिजिटलले बजारमा ल्याएको एल्बममा बसन्तको एकल आवाज रहेको छ, भने बहाना केही छैन बोलको गीतमा मनिला थापाले बसन्तलाई साथ दिएकी छिन् । उक्त एल्बममा समावेश गरिएको लाखौको धड्कन र बहाना केही छैन बोलको गीतको म्यूजिक भिडियो समेत रहेको छ । जसमा बसन्त आफैले अभिनय गरेका छन ।

 
रोल्पा, सखीमा २०४५ सालमा बुबा मानबहादुर घर्ती मगर र आमा पार्वती घर्ती मगरको पहिलो सन्तानका रुपमा जन्मनुभएका बसन्तले कक्षा ९ सम्म दाङमै अध्ययन गर्नुभएको हो, भने होमल्याण्ड सर्भिस स्कुल काठमाडाँैंबाट प्रवेशिका, रिचमण्ड एकेडेमी कलँकीबाट व्यवस्थापनमा प्लस टु र नेपाल कमर्श क्याम्पस मिनभवनबाट व्यवस्थापनमै स्नातकसम्मको अध्ययन पुरा गर्नुभएको छ । सँगीतमा अथाह रुची हुँदाहुँदै पनि पढाइ पनि आवश्यक भएकाले पहिले पढाइ पुरा गर्नतर्फ लागेको बसन्तले बताए । भन्छन्,‘म सँगीतविना बाँच्न पनि सक्दिनँ । तर, पढाइ पनि उत्तीकै आवश्यक हुने भएकाले पहिले व्यवस्थापन विषयमा स्नातकसम्मको अध्ययन गर्नतर्फ लागि त्यसपछि मात्र म गुरुकुल सँगीत पाठशाला काठमाडौं (प्रयाग सँगीत ईलाहावाद भारत) बाट शास्त्रीय संगीतमा स्नातकसम्मको अध्ययन पुरा गरेको हुँ । २०६७ सालमा स्नातकसम्मको पढाइ पुरा गरेपछि गुरुकुल सँगीत पाठशाला काठमाडाँमा सँगीत प्रशिक्षक तथा बरिष्ठ शास्त्रीय गायक गुरुदेव कामतसँग बसन्तले ३ वर्षे शास्त्रीय प्रशिक्षण लिएका हुन् ।

शास्त्रीय सँगीतमा स्नातक गरेपछि हाल व्यवस्थापन विषयमा स्नातकोत्तरको अध्ययन गर्दै आएका बसन्तले गीतसँगीतप्रति रुची भएकाले एसएलसीपछि सँगीत पढ्ने भनेर ललितकलामा गएपनि मन पर्ने विषयमध्येको अर्थशास्त्र विषय नभएकाले व्यवस्थापनको अध्ययनमा लागेको बताए । मेरो सँगीतमा रुची सानैदेखी हो । म सँगीत पढ्न चाहन्थे त्यसैले एसएलसीपछि ललितकला क्यापसमा पनि गएको थिए–बसन्तले भने, मलाई सँगीत सँगै अर्थशास्त्र पनि मनपर्ने विषय थियो । ललितकलामा अर्थशास्त्र विषय पढ्ने व्यवस्था नभएकाले सँगीतको अध्ययन पछि सारेर व्यवस्थापनको अध्ययनमा लागे । पढ्ने समयमा सँगीतमा रुची भएपनि पढाइ पुरा गरेर मात्र केही गर्छु भनेर पढ्ने समयमा अन्य गतिविधिहरु केही नगरेको उनले बताए । फुर्सदमा सँगीतमा नै रम्न चाहने बसन्त सँगीतसँग एकपल पनि टाढा रहन नसकिने बताउँछन् । ‘म सँगीतबाट एक पल पनि टाढा रहन सक्दैन । यो मेरो म्युजिकप्रतिको समर्पण हो । म त म्यूजिकप्रतिको समर्पण भन्छु–बसन्तले भने, सँगीतबाट म आत्म सन्तुष्टि पनि प्राप्त गर्छु । म्यूजिकमा मेरो कुनै पुर्वाग्रह छैन । निरन्तर मेहनत गरिहेको छु । म्युजिकमा लागेर यो गर्छु, ऊ गर्छु भन्ने छैन । यो मेरो सँगीतप्रतिको लगाव, अगाध प्रेम हो ।

विशेषगरी वियोगपूर्ण भावका गीत गाउँदै आएका बसन्त मर्मस्पर्शी तथा तुलनात्मक रुपमा वियोगपूर्ण भावका गीत सबैले मन पराउने र यस्तै प्रकारका गीत नै कालजयी पनि हुने उनको बुझाइ छ । तर, आफैमा पनि केही रुपमा भएपनि वियोगको प्रभाव भने भएको उनी स्वीकार्छन् । अहिलेको नेपाली सँगीतको बजार भनेको वियोगपूर्ण भावका गीतहरुले नै भरिएका छन् । मलाई पनि यस्तै प्रकारका गीतहरु मन पर्छ तर, यसो भनिरहँदा मैले रोमान्टिक गीत गाउँदैन भन्ने होइन । रोमान्टिक गीतमा पनि मैले गाउँदा न्याय गर्न सक्छु’, उनले भने ।

 
अहिले दोस्रो एल्बम ‘तिम्रो साथ’ बजारमा ल्याउने तयारीमा रहेका बसन्तले तीज लगत्तै बजारमा ल्याइने बताए । ‘एल्बमको सम्पूर्ण तयारी पुरा भएको छ, एल्बमको गीतको म्यूजिक भिडियो पनि तयार भैसकेको छ । अब तीज सकिए लगत्तै बजारमा ल्याउने तयारीमा रहेको छु’, उनले भने । ‘तिम्रो साथ’ एल्बममा बसन्तको आफ्नै शब्द, सँगीत र एकल स्वर रहेको छ । बसन्तले यही एल्बममा रहेको गीत तिम्रो साथ पाउँदा बोलको गीतबाटै निर्देशनमा डेब्यू गरेका छन् । गिटार, मादल, हारमोनियम बजाउनमा समेत दख्खल राख्ने बसन्त आफूलाई सँगीत क्षेत्रमा लाग्ने पे्ररणाको पहिलो स्रोत आफू र अरु थुपै्र गुरुहरु रहेको बताए । ‘मलाई सँगीत क्षेत्रमा लाग्नका निमित्त मेरो थुपै्र अग्रज गुरुहरुले मलाई पे्ररणा प्रदान गर्नुभएको छ । पहिलो कुरा त म आफै नै यसक्षेत्रमा लाग्नका निमित्त पे्ररणाको स्रोत हो ।

त्यसपछि मेरा स्कुल पढ्दा मलाई हौस्याउने गुरुहरु खैरा स्कुल पढ्दा पद्यप्रसाद शर्मा, काठेकोहल स्कुल पढ्दा राजेन्द्र श्रेष्ठ, शिव श्रेष्ठ सँगीत शब्द उच्चारण गर्दा भुल्नै नहुने ब्यक्तित्वहरु हुनुहुन्छ’, बसन्तले भने, मलाई जन्म दिने बुबा–आमा, परिवारका अन्य सदस्यहरु, साथीभाइलगायत मेरा थुप्रै शुभचिन्तकहरु मेरो पे्ररणाका स्रोत हुनुहुन्छ । सँगीतमा लागेका अन्य साथीहरु, अग्रज सबैले उत्पे्ररणा दिनुहुन्छ, हौस्याउनुहुन्छ । काठमाडाँमा ११ वर्षसम्म बसेका बसन्त भर्खरै भने केहि समयको लागि गृहजिल्ला दाङ फर्केका छन् । काठमाडाँमा रहँदा स्थानीय वेभ च्यानलमा केही समय साँगितिक कार्यक्रम समेत सञ्चालन गरेका बसन्त विगत ६ वर्षदेखि नेपाली सँगीत क्षेत्रमा कर्म गरिरहेका छन् । उनको साँगीतिक यात्रा सफल बनोस् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %