नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको आयोजनामा १५ औं अरुण स्मृति सभा सम्पन्न ।
दिपा आलेमगर
काठमाडौ , श्रावण ५ गते – नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको आयोजनामा आज एक कार्यक्रम बीच लोकप्रिय गायक अरुण थापामगरको १५ औं स्मृति सभा तथा अरुण स्मृति संगीत पुरस्कार वितरण समारोह एवम् सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
यस वर्षको १५ औं अरुण स्मृति सभाको अवसरमा लामो समय गीतसंगीतमा योगदान पुराउंदै आउनु भएका वरिष्ठ लोक तथा आधुनिक गायक अजय थापामगरलाई नगद ७ हजार पुरुस्कार सहिद खादा लगाई सम्मान पत्र प्रदान गरिएको हो ।
त्यसैगरी सम्मान कार्यक्रममा लामो समय पत्रकारिता जगतमा कलम चलाउदै नेपाल पत्रकार महासंघको २४ औ महाधिवेशनबाट महासचिव पदमा निर्वाचित हुनु भएका पत्रकार उजीर मगरलाई पनि कार्यक्रममा सम्मान गरिएको हो ।
१५ औं अरुण स्मृति सभाको उद्घाटन समारोहमा बोल्दैं संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भिम आचार्यले मगरहरु संस्कृतिको धनि भएको बताउदैं लोक संस्कृतिलाई जगेर्ना गर्न राज्यको भूमिका हुने बताए । उनले भने – क्षेत्री बाहुनको त आफ्नो सस्कृति नै छैन जनजातिहरु सस्कृतिका धनि छन् जसलाई संरक्षण गर्न सबैको दायित्व हो । कार्यक्रमका प्रमुख अतिथि आचार्यले गायक अरुण थापा कोषकोलागि आफूले राज्य बाट सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले संस्कृति जगेर्नाका कार्यक्रम लिएर आउनु पर्ने धारणा ब्यक्त गर्दै राष्ट्रकालागि योगदान पुराउने गायककार, कलाकारको योगदानको कदर राज्यले गर्ने बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि पूर्व संस्कृति मन्त्री रामकुमार श्रेष्ठले संस्कृतिका धनि जनजातिहरुको पहिचान राज्यको निर्णायक तहमा पुग्न नसकेको र मगर समुदाय कला संस्कृतिले धनि मानिने लोकप्रिय गायकलाई राज्यले सम्मान गर्नु पर्ने बताए । पूर्व मन्त्री श्रेष्ठको पालोमा गायक अरुण थापा कोषकोलागि १ लाख दिएको स्मरण गराउंदै अब पनि राज्यले अरुण स्मृति कोषकोलागि राज्यको ध्यानाकर्षण हुनु पर्नेमा जोड दिए । देश र समाजकोलागि योगदान पुराउने संस्कृतिका धनि कलाकारहरुलाई राज्यले सम्मान गर्नु पर्ने धारणा राख्दै सम्मानीत ब्यक्तिहरुलाई बधाई तथा शुभकामना ब्यक्त पनि गरेका थिए ।
कार्यक्रममा नेपाल मगर संघका महासचिव नविन रोकामगर, नेपाल मगर विद्यार्थी संघका पूर्व अध्यक्ष एवं सल्लाहकार रामबहादुर थापामगर, सम्मानीत बरिष्ठ आधुनिक लोक गायक अजय थापामगर, लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए । त्यसैगरी सम्मान कार्यक्रममा स्वर्गीय गायक अरुण थापाको जिवनी आदीकबि जितबहादुर सिँजाली मगर प्रतिष्ठानका संयोजक संजोक लाफाले गरेका थिए भने सम्मानीत ब्यक्तिको जिवनी सघका सचिव विशाल रानामगरले गरेका थिए ।
संघका अध्यक्ष दिपा आलेमगरको अध्यक्षमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष कमल थापामगरले र संघका महासचिव गोम रानाले कार्यक्रम सञ्चालन गरेका थिए । १५ औं अरुण स्मृति सभाको अवसरमा मगर सांस्कृतिक संघको सहकार्यमा गायक अरुण थापामगरको गीतहरु गाइएको थियो । नेपाल मगर विद्यार्थी सघले गायक अरुण थापामगरको स्मृतिमा लामो समय संगीतमा योगदान पुराउने १० जना कलाकारलाई पुरस्कृत गर्दै सम्मान गरिएको हो ।
फोटो: दीपा आले मगर