– जनकऋषि राई(चाम्लिङ)
प्रत्येक वर्ष असार–२९ गते मनाइने भानु जयन्तीको अवसरमा इनेगिने साहित्यकार तथा स्वनामधान्य क्रान्तिकारी समालोचकहरु क्रान्तिकारी बन्ने मौका पाउँछन्–मृतक आदिकवि (?) भानुभक्त आचार्यको बखान गरेर ।
साहित्यकर्मीहरुको लागि एकदिने हाटे बजार नै हुने भानुजयन्तीमा पाएको मञ्चमा उभिएर सबै एकै स्वरमा चिच्याउँछन्–भानुभक्त आदिकवि हुन् भनेर । तर, ऐतिहासिक अध्ययन र विश्लेषण बिना भानुभक्तलाई आदिकवि घोषणा गरेर नेपाली साहित्यको इतिहास खुम्चाएको अपराध बोध कसैले अनुभव गर्न सकेको छैन । यसरी एकदिने क्रान्तिकारी साहित्यकारहरुले भानुभक्तलाई दिएको आदिकवि उपाधिलाई निरन्तरता दिएको कारण नै विश्व साहित्यमा देखा नपरेको साहित्यिक उपाधि जात्रा नेपालमा देखिएको छ । विश्व साहित्यम योगदान दिने राष्ट्रहरुले आप्mनो देशको ‘आदिकवि’ चिनाउने हतारो गरेका छैनन् तर नेपालमा भने साहित्यिक क्षेत्रमा गहन अध्ययन र विश्लेषण गर्नुको झञ्झटबाट मुक्त हुन र एउटा बाहुनलाई स्थापित गर्न आदिकवि उपाधि दिने हतारो गरियो र उपाधि दिइयो पनि । साथै आदिकवि उपाधिबारे सार्वजनिक बहस र विश्लेषण अभावका कारण नेपाली साहित्य जेष्ठता को रोलक्रमबाट गुज्रिरहेको छ । जेष्ठता क्रममा चलेको साहित्यिक मान्यता कै कारण नेपाली साहित्यबारे ऐतिहासिक, सैद्धान्तिक तथा समिक्षात्मक पक्षमा जसले जे भने पनि सही मान्ने पर्ने स्थिति रहेको छ ।
सर्वप्रथम त मोतीराम भट्टले जुराईदिएको आदिकवि उपाधिले पहिलो कविको रुपमा भानुभक्तलाई उभ्याउदै १८ औं शताब्दीको अन्त्यतिर नेपाली साहित्यको शुरुवात भएको प्रमाणित गरेर नेपाली साहित्यको आकाशलाई खुम्चाइदिएका छन् । नेपालको इतिहासमा १८ औं शताब्दीको शुरुवाततिर मल्ल राजाहरु ‘कवि’ भएको तथ्य पढ्न पाइन्छ भने मोतीराम भट्टले भानुभक्तलाई दिएको ‘आदिकवि’ उपाधिमा न त कुनै बहस छ न त कुनै प्राविधिकपन नै । अर्थात, ‘पहिलो कवि’ को रुपमा ‘आदिकवि’ शब्दलाई लिइएको होभने त्यो उपाधिले भानुभक्तभन्दा अगाडि कविता लेख्ने मल्ल राजाहरुप्रति अन्याय हुन जान्छ । तर, मोतीराम भट्ट हतारिएर वा भावनामा बगेर भानुभक्तलाई ‘आदिकवि’ उपाधि दिए । हुन त, यसरी मोतीराम भट्ट हतारिनुमा ‘आचार्य’ र ‘भट्ट’ को सम–जातीय समिकरण वा साँस्कृतिक निकट्ता पनि हुनसक्छ । यद्यपि, भानुभक्तलाई दिइएको उपाधिले मोतीराम भट्टको अध्ययन क्षेत्र र समालोचनात्मक ह्याउ कति थिए भन्ने स्पष्तै हुन्छ । भानुभक्तको उपाधिबारे अझ रमाइलो त मोतीराम भट्टले पटक–पटक विभिन्न उपाधि भानुभक्तलाई भिराउनु नै हो । मानौं मोतीराम भट्टले भानुभक्तलाई उपाधि दिने ठेक्का नै पाएको छ । मोतीराम भट्टले भानुभक्तलाई दिएको उपाधिको सूची हेर्ने होभने वि.स. १९४१मा ‘बालकाण्ड रामायण’ प्रकाशित गर्दा मोतीरामले भानुभक्तलाई ‘प्राचीन कवि’ भनेका छन् भने वि.स.१९४८ मा ‘भानुभक्ताचार्यको जीवनी’ प्रकाशित गर्दा उनै मोतीराम भट्टले ‘आदिकवि’ उपाधि दिएका थिए । यी उपाधि बाहेक स्वयं मोतीराम भट्टले भानुभक्तलाई ‘कविराज’, ‘सहज कवि’, ‘कवि चक्रचुडामणि’, ‘रसिक कविभिलाषी’, ‘हिमाल गिरी निवासी’, ‘बुद्धिमान यथार्थवक्ता’ जस्ता उपाधि दिएका थिए ।
कवि तथा विद्वानहरु आफ्नो विशिष्ठ चेतनाको कारण जीवित हुन्छन् या हामीले उहाँहरुलाई सम्झनु पर्ने हुन्छ । उनीहरु तत्कालीन समाज, राजनीति, आर्थिक, सा“स्कृतिक लगायतका परिवेशको विकृति विरुद्ध विद्रोह ओकलेर विशिष्ठताको परिचय दिन्छन् । तर, हामी भानुभक्तमा त्यस्तो कुनै विशिष्ठता पाउँदैनौ जसले तत्कालिन नेपालको परिवेशलाई सम्बोधन गरेको होस् वा दिशा निर्दे श गरेको होस् । भानुभक्तको जन्म वि.स.१८७१ मानिएको छ, जसलाई ईस्वी सम्बतमा बदल्दा १८१४ हुन आउँछ ।
जुन समय जर्मनको कार्ल माक्र्स(१८१८) र एंगेल्स(१८२०), बेलायतको चाल्र्स डार्बिन(१८०९) र एलेक्जेण्डर बेन(१८१८), फ्रान्सका लुई ब्लँ(१८१३), सोभियत संघका इभान तुर्गेनेभ(१८१८),प्योदर दस्तोयेब्स्की(१८२१), लेव तोल्सतोय(१८२८) को समकालिन बन्न आउँछ । यी चर्चा गरिएका विद्वान हरुले समाजको विकृत अस्तित्व विरुद्ध विद्रोह गरेर आफूलाई जीवित बनाएका थिए । तर, भानुभक्त कुनै विद्रोह बिना जीवित छन् । बौद्धिक क्षमता र वैचारिक स्तरको तुलनामात्र गर्ने होभने चर्चा गरिएका समकालिनहरुको माझमा भानुभक्तलाई जीवित गराउनु भनेको थोपरिएको जातिवाद, सा“स्कृतिक निकटता र ईश्वरवादी चिन्तनको उपज हो ।
भाुनभक्तले बिताएको अद्र्ध सामन्ती परिवेशजस्तै माक्र्स, एंगेल्स, डार्विन, ब्लँ, तुर्गेनेभ, दस्तोयोब्स्की इत्यादिले पनि अद्र्ध सामन्ती तथा पूँजीवादी परिवेश पाएका थिए । तर, भानुभक्त न त डार्बिनले जस्तो जनतामा रहेको अन्ध विश्वास हटाउन सके न त ब्लँ, माक्र्स, एंगेल्स जस्तो समाजलाई विचारको क्षेत्रमा नयाँआयाम दिन सके न त एलेक्जेण्डरले जस्तै मनोविश्लेषण गर्न सके न त तुर्गेनेभ, तोल्सतोय, दस्तोयेब्स्कीले जस्तै वर्गीय सोंचका कथा, कविता तथा अन्य साहित्यिक कृति दिन सके । यहाँ स्पष्ट हुन सकिन्छ कि भानुभक्त वैचारिक गुण सम्पन्न बौद्धिक व्यक्तित्व नभई कुलिन घरानामा जन्मेको आधारमा स्थापित भएको व्यक्तिमात्र हुन् । त्यसैले भानुभक्तलाई केही ईश्वरवादी चिन्तनका कृतिको आधारमा ‘आदिकवि’ उपाधी दिन गलत ठहर्छ ।
भानुभक्तको जन्मसँगै वि.स. १८७३ मा सुगौली सन्धि पनि भएको थियो भने नेपालको राजनीतिमा केन्द्रीय शासन कसले हत्याउने भन्ने होडबाजी रहेको थियो । भानुभक्तले यी कुराहरु बारे उनको साहित्यमा कहि पनि विद्रोह लेखेको पाइन्न । तर, रामायण उल्था गरेर तत्कालिन समाजलाई दिइनु पर्ने यथाथर्थ, बौद्धिक तथा चेतनायुक्त तर्कको सट्टा ‘राम राज्य’ र ‘हिन्दू’ सँस्कारलाई बढावा दिने आदर्शलाई जनतामा स्थापित गराए । अझ बधुशिक्षा लेखेर सौताको रिस गर्नु पाप हुन्छ बहुतै भन्दै नारीले विद्रोह गर्नु हुँदैन, पुरुषले जति पनि बिहे गरे हुन्छ हुन्छ भन्ने आशयका कविता लेखे । हुनसक्छ भानुभक्त सामन्ती परिवारमा हुर्किएको ‘आचार्य’ भएकोले सामन्ती प्रथा अनुरुप बहुस्त्री ‘स्वाद’ चाखेका थिए र त्यही स्वादमा डुब्न चाहन्थे । सम्पूर्ण जीवन सुखसयलमा विताएको र विद्रोहबारे केही नबोलेको भानुभक्त जेल पर्दामात्र विद्रोही बनेका थिए । वास्तवमा त्यो विद्रोह सामन्ती सँस्कारमा हुर्किएर स्वतन्त्र भई हिँडेको भानुभक्तलाई कैद गर्दा भएको पीडाको अभिव्यक्ति मात्र हो । त्यो विद्रोहसँग जनताको अन्तर सम्बन्ध हुने कुनै पनि सरोकारको विषय थिएन । यसको साथै तत्कालिन समाजनाको विकृति विरुद्ध बौद्धिक शंखघोष गर्नुको साटो जनतालाई आदर्शको पाठ पढाएर भानुभक्तले करिब ५ दशक जीवन बिताए तर नेपाली चेतनास्तरलाई भने ५ दशक पछाडि धकेली दिए ।
कुनै पनि पद, सम्मान वा उपाधि व्यक्तिगत उपहारजस्तो नभई प्रतिनिधिमूलक हुनुपर्छ । अर्थात मान–सम्मान वा उपाधि जनस्तरमा स्वीकार्य हुनुपर्छ, तबमात्र त्यस पद, सम्मान वा उपाधिले जीवन्तता पाउँछ । मोतीरामले भानुभक्तलाई उपहार स्वरुप दिएको ‘आदिकवि’ उपाधि जनस्तरमा स्वीकार्य थिएन भन्ने कुरा तत्कालिन श्री ३ जुद्ध शमशेर जबराले आफ्नो लालमोहर छाप हालेर भानुभक्तलाई ‘आदिकवि’ भन्नुपर्छ भनेर उर्दि जारी गरेबाट थाहा पाइन्छ । भानुभक्त मरेको ७२ वर्षपछि वि.स. १९९७ मा श्री ३ सरकारले जारी गरेको उर्दी नमाने राजद्रोह र आज्ञापालन नगरेको आरोपमा दण्ड सजाय हुनसक्थ्यो । त्यसैले पनि कसैमा आँट थिएन भानुभक्तलाई ‘आदिकवि’ भन्नै पर्ने लालमोहरको विरुद्धमा बोल्न । तसर्थ, भानुभक्त ‘ आदिकवि’ हो कि होइन भनेर विश्लेषण गर्नु पर्ने विषयमाथि प्रतिबन्ध लगाई जसरी भएपनि भानुभक्तलाई ‘आदिकवि’ भन्नै पर्ने वातावरण सरकारी स्तरबाटै तयार गरियो ।
अनुसन्धान हुनै पर्ने विषयमाथि सरकारी स्तरबाटै हस्तक्षेप गर्नुलाई ‘जातीय सम्मान’ नै हो भनेर शंका गर्न सकिन्छ । नत्रभए मरेको ७२ वर्ष पछाडि ‘आदिकवि’ उपाधि दिन किन आवश्यक छ । तत्कालिन रोलक्रममा बसेका श्री ३ महाराजहरु मध्यै कै श्री ३ जुद्ध शमशेरले आफूलाई उपल्लो जातको देखाउन भानुभक्तलाई सम–जातीय मान्दै ‘आदिकवि’ घोषणा गरेको हो । यसको प्रमाणको लागि जुद्ध शमशेरलाई चढाएको यो विन्तिपत्रबाट थाहा हुन्छ –“तलब भत्ता केही दिनु पर्ने होइन, एउटा इज्जतसम्म हो, त्यो पनि मरिसकेको बाहुनलाई ।” भानुभक्तलाई आदिकवि बनाउन यस्तो खाले विन्तिपत्र चढाउनुले स्पष्ट पार्छ कि वास्तवमा भानुभक्त आदिकवि थिएनन् । जातीय हिसाबमा सम्मान जाहेर गर्नको लागि मात्रै ‘आदिकवि’ उपाधि दिइएको थियो ।
भानुभक्त आचार्य बाहुन भएकै आधारमा ‘आदिकवि’ उपाधि पाएको अर्को प्रमाण के छभने सरकारी स्तरबाट ‘आदिकवि’ घोषणा भएपछि दार्जिलिङमा सुर्यविक्रम ज्ञवालीले निकै हर्ष बढाई गरे जो प्रवासबाटै भानुभक्तलाई ‘आदिकवि’ घोषणा गर्नुपर्छ भनेर माग गरिरहेका थिए । नेपालमा ‘आदिकवि’ उपाधिको घोषणा हुँदा भारतको दार्जिलिङमा ज्ञवालीले हर्ष बढाई गर्नु साहित्यिक आन्दोलनको सम्मानमात्र नभई ‘सम–जातीय’ विशेषताको उत्सव पनि मान्न सकिन्छ । किनकि, दार्जिलिङ चौरस्तामा उभिएको भानुभक्तको शालिकमा ‘आदिकवि’ शब्द नभई ‘जातीय कवि’ भनेर लेखिएको छ । अब प्रश्न उठ्छ –‘ दार्जिलिङबाटै भानुभक्तलाई ‘आदिकवि’ घोषणा गर्नुपर्छ भन्नेहरुको माग बमोजिम नेपालमा भानुभक्त ‘आदिकवि’ घोषणा गरिए । तर, त्यहि दार्जिलिङको चौरस्तामा उभिएको भानुभक्तको शालिकमा ‘आदिकवि’ नलेखी ‘जातीय कवि’ लेखिनुलाई के भन्ने ?’ अनुमान गर्न गर्न गाहे पर्दैन सुर्यविक्रम ज्ञवाली र भानुभक्त आचार्यको साँस्कृतिक धरातल, समाजिक सोंच र जैविक पृष्ठभूमि एकै भएकोले एकले अर्कालाई स्थापित गराउन चाहेको थिए कि भानुभक्तलाई ‘आदिकवि ’ उपाधि दिने व्यक्तिहरुको नामावलीमा भानुभक्तको सम–जतीय अनुहार पाइन्छ । जस्तै मोतीराम भट्ट, जुद्ध शमशेर ( जुद्ध शमशेर आफूलाई उपल्लो जातीय खलकको मान्ने भएकोले यस लेखमा सम–जातीय मानिएको हो ) र सुर्यविक्रम ज्ञवाली । यदि सम–जातीय आवाज संयोग होइन भने ‘आदिकवि’ उपाधि आफ्नो जातिभित्र पार्नको लागि गरिएको अभियान भने पक्कै हो । विश्व साहित्यमा योगदान दिने बेलायती साहित्यको इतिहासमा ‘आदिकवि’ को सवाल उठेको छैन । बेलायतीहरुले ‘आदिकवि’को सट्टामा ‘पत्ता लागेको सबैभन्दा पुरानो कवि’ भनेर सम्बोधन गर्दै आएका छन् । त्यसैले सबैभन्दा पुरानो कवि खोज्दै बेलायतीहरु सातौं शताब्दीसम्म आइपुगेर ‘क्याडमन’ लाई पत्ता लागेको सबैभन्दा पुरानो कवि मानेका छन् । हुन त क्याडमनभन्दा अगाडि पनि ‘ विड्विथ’ ‘डेओर’ र ‘वेओल्फ’ जस्ता कविताहरु लेखिए पनि कवि पत्ता लगाउन नसकिएकोले क्याडम न नै पत्ता लागेको पुरानो कवि भएका छन् । तर, नेपाली साहित्यमा भने यसरी एकाएक ‘आदिकवि’ तोकिएर अन्य सम्भावनालाई घोषितरुपले बन्द गराइएको छ ।
भानुभक्तलाई सर्वश्व ठान्ने सिर्जशील साहित्यकार तथा समालोचकहरु भनुभक्तको चित्र वा शालिकमा ‘रामायण’ बोकेको दुश्य देख्दा मौन बस्छन् । मानौं भानुभक्तबारे बोल्दा गौ हत्या गरे बराबर पाप लाग्छ । ‘रामायण ’ बोकेको भानुभक्तको शालिक या चित्र देखेर नेपाली साहित्यका पाठकले मौलिक या अनुदित कुन साहित्यलाई प्राथमिकता दिनुपर्छ भनेर बुभ्ने ? भानुभक्तलाई मौलिक लेखकको रुपमा स्वीका् गर्ने कि अनुवादकको रुपमा स्वीकार्ने ? एकक्षणको लागि भानुभक्तलाई ‘आदिकवि ’नै मानिदिने होभने अनुवाद गरेको रामायण पुस्तक भिरेको चित्र या शालिकले भानुभक्तको आदिकवि’ उपाधिलाई पूर्णता दिन्छ त ? भानुभक्त रामायण बोकेको चित्र या शालिकबारे समालोचकहरु र भनिएका साहित्यकारहरु– जुन पुस्तकको बढी चर्चा हुन्छ त्यही पुस्तक नै लेखकको परिचय बन्छ ।’ भनेर हल्का तर्क दिन्छन् । तर, रामायण नै भानुभक्तलाई भिराइदिनु भनेको हिन्दुवादी चरित्रको प्रदर्शनी हो भनेर कोही पनि भन्न सक्दैनन् । देवकोटाको तस्वीरमा चर्चित पुस्तक ‘मुनामदन’ नहुनु, भूपि शेरचनको तस्वीरमा सबैले पठनीय मानेको पुस्तक ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ नहुनुलाई के मान्ने ? चर्चाको करा प्रमुख होभने लियो तोल्सतोयको विश्व प्रसिद्ध उपन्यास ‘युद्ध र शान्ती’, माक्सिम गोर्कीको ‘आमा’, तसलिमा नसरिनको ‘लज्जा’, सलमान रुस्दीको ‘सेटानिक भर्सेज’ पुस्तक किन लेखकसँगै देखा पर्दैनन् । नोबेल पुरस्कार पाउने रबीन्द्रनाथा ठाकुरसँग ‘गीताञ्जली’ नदेखिनु, यासुनारी कावावातासँग ‘हिमदेश’ नदेखिनु नेपाली समालोचक तथा साहित्यकारको विचारमा के हुने त ? “रामायण साहितय र धर्मको दृष्टिकोणले जति महत्वपूर्ण छ दर्शनको दृष्टिकोणले त्यति महत्वपूर्ण छैन ।” (जनक दर्शन, लेखक– डा. स्वामी रामानन्द गिरी ) गिरीको यो भनाईलाई मात्र हेर्ने होभने रामायण बोकेको शालिकले दर्शन नभएको रामायण भानुभक्तसँगै देखाएर साहित्यबाट धर्मको राजनीति त गरेको छैन ? प्रश्न उठ्नु स्वाभाविक छ रामायण बोकेको चित्र या शालिकले के को प्रनिधित्व गरिरहेको छ । यतातिर सबैले चिन्तन गर्नु आवश्यक छ ।
माथि चर्चा गरिएको आधारमा अनुमान गर्न सकिन्छ–जातीय आधारमा कोही कसैको धर्म, सँस्कार तथा सँस्कृतिको उठान गर्न कुनै एक व्यक्तिलाई ‘रोल मोडल’ बनाएर साहित्यको नाममा उपाधि र शालिक राजनीति गर्न बन्द गरिनु पर्छ । साहित्यमा व्यक्तिको पूजाभन्दा पनि प्रकाशित कृतिको गुणदोषको व्याख्या गरिनु पर्छ । अर्थात, भानुभक्तलाई बुभ्ने होभने तत्कालिन परिवेश र त्यो परिवेशलाई सम्बोधन गरिएको कृतिको आधारमा बुभ्नु पर्छ । अन्यथा जातीय सम्मानको लागि यस्ता उपाधि बाँड्ने होभने साहित्यिक आकास अस्पष्ट हुन गई साहित्यकारहरुको जन्मजयन्ती सभ्यहरुको नाटकमात्र हुनेछ ।