शेर्पा संघ, यूरोपले सगरमाथा दिवस मनाए

Read Time:9 Minute, 12 Second

कर्मा शेर्पा ,लन्डन

बेलायतको राजधानी लण्डन स्थित ह्यारोको गोल्डेन सिप हलमा शेर्पा संघ, यूरोपद्वारा आयोजित सगरमाथा दिवस भव्य रुपले सम्पन्न भएको छ। संघका निवर्तमान अध्यक्ष आङ कल्जाङ लामाको सभापतित्वमा गत आइतवार जुन १ तारिख सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बेलायतका सांसद गारेथ थोमस थिए भने विशेष अतिथिको रुपमा धर्म गुरु शेर्पा दोर्जी रिम्पोछेको उपस्थिति रहेको थियो । बेलायतमा स्थापित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको सो कार्यक्रमको शुरुवातमा धर्म गुरुद्वारा हालसम्म हिमाल आरोहणमा दिवंगत हुनुहुने पर्वतारोहीहरुलाई श्रद्धाञ्जली तथा विश्व शान्तिका लागि पूजा पाठ गरिएको थियो। त्यसै गरी दिवंगतहरूको सम्झनामा एक मिनेट मौन धारण गरेको थियो ।

तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन प्रथम पटक सगरमाथाको चुचुरो चुमेको ऐतिहासिक दिनलाई स्मरण गर्न र नेपालको प्रमुख आय श्रोत मध्येको पर्यटन क्षेत्रको विकास तथा पर्वर्द्धनमा थप टेवा पुर्याउने उद्धेश्य राखी सो स्मृति दिवसको आयोजना गरेको हो।

उक्त कार्यक्रमबाट संकलित रकम विगत ५५ वर्षदेखि अनवरत रुपमा एकल प्रयासबाट सगरमाथा आधार शिविर जाने बाटो बनाई रहेका सोलुखुम्बु काँकु निवासी ७३ वर्षीय समाजसेवी पासाङ शेर्पालाई सम्मान स्वरुप प्रदान गर्ने र एकता सहयोग केन्द्र, नेपालको अभियानलाई सहयोग गर्ने भएको छ।

प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै बेलायतका सांसद गारेथ थोमसले बेलायतमा बसोबास गर्ने सबै समुदायका नेपालीहरु एकै ठाउँमा देख्न पाउँदा आफूलाई एउटा फूलबारीमा पुगेको महसुस भएको र यहाँ बस्ने नेपालीहरु नेपाली मात्र नभई ब्रिटिश नागरिक पनि भएकाले सामाजिक, शैक्षिक,आर्थिक तथा राजनैतिक क्षेत्रमा अझ सशक्त भएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए । त्यसको लागि आफ्नो तर्फबाट सदैव सहयोग रहने विश्वास सांसद थोमसले दिलाएका थिए ।

मन्तव्यकै क्रममा आदिवासी जनजाती महासंघ, बेलायतका अध्यक्ष सिरी लिम्बुले शेर्पा संघ, यूरोपले सगरमाथा दिवस आयोजना गरी उदाहरणीय कार्य गरेकोमा खुशी व्यक्त गर्दै नेपाल र नेपालीको गौरव बढाउन यस्ता समारोहहरु नेपाल सरकारको पहलमा आयोजना गर्नु पर्ने र जसको लागि नेपाली राजदुतावासको ध्यानाकर्षण गराएका थिए ।

शेर्पा संघ, बेलायतका अध्यक्ष श्री रिन्जी शेर्पाले सामुहिक हितको लागि सबै जना एकजूट भएर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।

नेपाली राजदुतावास, बेलायतका तर्फबाट बोल्नु हुँदै विशेष अतिथि सूर्य बहादुर थापाले बेलायतमा रहेका सम्पूर्ण नेपालीको समस्यालाई समाधानको निम्ति दुतावास सधैं तत्पर रहेको जानकारी दिंदै आउँदा वर्षहरुमा सगरमाथा दिवस सम्पूर्ण नेपालीहरुको उपस्थितिमा नेपाली राजदुतावासले आयोजना गर्ने आश्वासन दिएका थिए ।

मूल समारोह समितका तर्फबाट पदम गाहाले कार्यक्रमको अवधारणा प्रस्तुत गर्ने क्रमममा शेर्पा संघ, यूरोपको आयोजनामा राष्ट्रिय गौरवसंग गाँसिएको सगरमाथा दिवसमा सम्पूर्ण नेपाली समुदायहरुको उपस्थिति देख्न पाउँदा गर्वले छाती फूलेको र जसले गर्दा हामी नेपालीहरुको शान अझ बढेको कुरा बताएका थिए । आयोजक समितिमा आफ्नो भूमिका निर्वाह गर्दै यो ऐतिहासिक दिवसको अवधारणा प्रस्तुत गर्न पाउँदा आफूलाई एउटा नेपाली हुनुमा गौरव लाग्नुका साथै शेर्पा नै हुँ झैं लागेको आफ्नो अनुभूति सुनाएका थिए ।

नेपाल आदिवासी जनजाती महिला संघ, बेलायतका अध्यक्ष श्रीमती कमला थापाले सगरमाथा नेपाल र नेपालीको पहिचान मात्र नभई नेपालको मूल आर्थिक श्रोत रहेको जानकारी गराउँदै हालै नेपाल सरकारले आधार शिविरभन्दा माथि जाने प्रत्येकले तल ओर्लदा आफूले गरेको न्यूनतम ८ किलो फोहोर फिर्ता ल्याउनै पर्ने सीमा तोकेकोमा सरकारको सो निर्णय उचित नरहेको र राष्ट्रले राजश्व लिए बापत त्यहाँको सरसफाई गर्ने दायित्व नेपाल सरकारको रहेकोले यस्ता प्रवृत्ति तुरुन्त रोकिनु पर्ने श्रीमती थापाको भनाइ  थियो । त्यस्तै गरेर हिमालयन अर्गानाइजेशनका अध्यक्ष थर्क रानाले गत १८ अप्रिलमा सगरमाथाको आधार शिविरमा गएको भीषण हिम पहिरोमा परी दिवंगत हुने क्लैम्बीङ शेर्पाहरुको परिवारलाई नेपाल सरकारले राहत स्वरुप दिएको रु. चालीस हजार अति लज्जास्पद भएकोले उचित राहत दिलाउन सरकारले समयमै ध्यान दिनु पर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै गरी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य कुल आचार्य, प्रवासी नेपाली मंच, बेलायतका अध्यक्ष राम शरण सिम्खडा, नेपाली साहित्य समाज बेलायतका अध्यक्ष विश्वासदीप तिगेला लगायतका वक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए ।

सो कार्यक्रममा आयोजक समितिका सदस्य सुष्मा राईले स्वागत भाषण गर्नु भएको थियो भने याङजी शेर्पा, शान्ति थापा कुँवर र कान्छीमा शेर्पाले अतिथिहरुलाई खादा तथा ब्याच वितरण गर्न सहयोग गरेकी थिइन ।

संघका अध्यक्ष हेम शेर्पाले पठाउनु भएको धन्यवाद सहितको शुभकामना सन्देश संघका महासचिव कर्मा छिरिङ शेर्पाले पढेर सुनाएका थिए । बेलायतवासी सम्पूर्ण नेपाली समुदायले देखाएको सदाशयता शेर्पा संघ, यूरोपको इतिहासमा सदैव स्मरणीय रहने र जसबाट हामी विदेशमा रहेका नेपाली समुदाय बीचको एकतालाई अझ मजबूत बनाउन कोशे ढुंगा सावित हुने विश्वास अध्यक्ष शेर्पाले आफ्नो सन्देश मार्फत व्यक्त गरेका थिए ।

उक्त समारोहका सभापति तथा संघका निवर्तमान अध्यक्ष आङ कल्जाङ लामाले कार्यक्रमको औचित्यमाथि थप प्रकाश पार्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद टक्रयाएका थिए ।

बेलुकी ६ बजेबाट शुरु भै करीब राती २ बजेसम्म संचालित सो कार्यक्रमको उद्घोषण संघका महासचिव कर्मा छिरिङ शेर्पाले गरेका थिए ।

औपचारिक कार्यक्रम पश्चात शेर्पा समुदाय र सगरमाथासंग सम्बन्धित शेर्पा नामक वृत्त चित्र प्रदर्शन गर्दै उपस्थित सबै जना च्यारिटी डिनरमा सहभागी भएका थिए। डिनर पछि डीजे चाँदले सम्पूर्ण सहभागीहरुलाई भरपूर मनोरंजन गराएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %