गीतकार भावेश भुमरी अर्थात जुद्धबहादुर पुन मगरलाइ एक लाखको पुरस्कार

Read Time:3 Minute, 22 Second

काठमाडौं, १४ जेठ – गीतकार संघ नेपालले गत वर्षबाट प्रदान गर्दै आएको स्रष्टा सम्मान २०७१ बाट वरिष्ठ गीतकार किरण खरेललाई सम्मानित गरिएको छ ।

वरिष्ठ गीतकार किरण खरेलले १४ सालबाट गीत लेखन यात्रा सुरु गरेर निरन्तर अहिलेसम्म पनि गीत लेखनलाई जारी राखिरहेको अवस्थामा गीतकार संघ नेपालले उनलाई सम्मान गरेको हो । गीत लेखनको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएवापत गीतकार खरेललाई रु एक लाख एक रुपैयाँ नगद राशिसहित ताम्रपत्रद्वारा सम्मान गरिएको हो । खरेललाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार रत्नशमशेर थापाको हातबाट प्रदान गरिएको हो । सम्मान पाएपछि गीतकार खरेलले आफूले अहिलेसम्म गरेको योगदानको कदर गरेकोमा गीतकार संघलाई धन्यवाद दिँदै गीतकार संघको सम्मान अहिलेसम्मकै अनुकरणीय भएको बताएका थिए । धेरै सम्मान पाए पनि आफ्नै सहकर्मी, सहधर्मी स्रष्टाहरुबाट प्राप्त गरेको सम्मानले आफ्ना अग्रज, समकक्षी र नयाँ स्रष्टाहरुको सम्मान भएको बताएका थिए ।

त्यस्तै गीतकार संघको प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट उत्कृष्ट दश गीतकारमध्येबाट सर्वोत्कृष्ट बन्दै गीतकार भावेश भुमरीले पुरस्कार चुम्न सफल भएका छन् । गीतकार भावेश भुमरीलाई धनका लागि परदेशिएँ …… बोलको गीतबाट रु. एक लाख रुपैयाँको पुरस्कार एवम् ताम्रपत्रद्वारा पुरस्कृत गरिएको हो । गीत लेखनको यात्रामा करिब दुई दशकभन्दा बढी समय खर्चिसकेका गीतकार भावेश भुमरीले गीतकार संघबाट दिइएको यो पुरस्कारले झन् आफूलाई गीत लेखनको कार्यमा अझ सक्रिय गराउने बताएका थिए । भुमरीले गीतकार संघको सम्मानले उचाइमा पुर्याइदिएको बताउँदै आफ्नो गाउँले यात्राबाट सुरु भएको साहित्य लेखनले बल्ल आफूलाई सम्मानयोग्य बनाएको बताएका थिए ।

गीतकार संघ नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा आयोजना गर्दै आएको स्रष्टा सम्मान कार्यक्रममा गीतकार संघलाई स्थापनाकालदेखि सहयोग पुर्याउँदै संस्थालाई सक्रिय बनाउन सफल गीतकार एसपी कोइरालालाई पनि सम्मान गरेको थियो । त्यस्तै गीतकार संघ नेपाललाई सहयोग पुर्याउने संघसंस्थालाई पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

(समाचार साभार : म्युजिक खबर डट कम,तस्बिर:भुमरीको फेशबुक बाट )

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %