बलदीप प्रभाश्वर चामलिङ
रामेछाप बाम्ती–३ का तेन्डु शेर्पालाई गाई काटेर खाएको आरोपमा प्रशासनले जेल चलान गरेको समाचार भर्खरै आएको छ । शेर्पाहरुले हिजो पनि गाई खन्थे आज पनि खन्छन् र भोली पनि खन्छन् तर राज्यको आँखा छलेर । उता बाहुनहरुले गाईलाई पुज्छन्, गाईलाई माता ठान्छन् र कसैले गाई मारे र खाए नसिहत दिन्छन् राज्यको सत्ता प्रयोग गरेर । यति मात्र नभएर अझ गाईलाई राष्ट्रिय जनवार बनाउन मरिहत्ते गर्दछन् । कसैले गाई खान्छन् र कसैले गाई पुज्छन् । किन यस्तो हुन्छ ? आखिर गाई पकवान हो वा भगवान हो ? खुट्टयाउने बेला आएको छ । यस बारे एउटा विमर्श निर्माण हुन आवस्यक छ ।
हुन त शेर्पाहरुले मात्र गाई खादैनन् । अमेरिकाका बराक ओवामादेखि विल क्लिन्टन्हरु सम्म, बेलायतका टोनी ब्लेयर देखि डेभिड क्यामरुनहरु सम्म र रसीयाका पुटिन देखि गोर्वाचोभहरु सम्म सबैले गाई–गोरु खान्छन् । तर उनीहरु जेलमा थुनिनु र कोचिनु परेको छैन् । उनीहरुकोे लागि गाई मिठो मिष्ठान हो । तर नेपालका शेर्पाहरु गाई खाएको कारण जेलमा रहनु परेका छन् । नेपालमा कुनै अन्य जातिहरुले गाई खादा सजायको भागिदार हुनुपर्ने अवस्था कहिले सम्म रहनुपर्ने हो ? के यो हुनु भनेको एक जातीय राज्यसत्ताको परिचायक होइन ?
हिन्दु–सम्प्रदाय र गाई
जे होस्, हिन्दु–सम्प्रदायले गाईलाई अहिले श्रद्धा गर्दछ । यसमा पनि इतिहास छ । हिन्दु–सम्प्रदायहरुलाई गाईले ठूलो गुण लगाएको थियो । उनीहरुले प्रारम्भिक कालमा गाई पालेरै जीवन धानेका थिए । आर्यहरुले आफुबीचमा हागो छुट्याउन “गोत्र” भन्ने गर्दछन् । हो, यो गोत्र उही गाई पालन वा गाई गोठालो संग जोडिएको छ । संस्कृतमा “गो” भनेको गाई हो र “पुत्र” भनेको छोरा वा सन्तान हो । आर्यहरुको कविला युग शुरुहुनु भन्दा पहिले परिवारका सदस्यहरुले आआफ्नो गाई लिएर विभिन्न ठाउमा यत्रत्यत्र छरिएर जीवन धान्न थाले । त्यसकारण गाई–गोठालो आधारमा उनीहरुले एक आपसबाट आ–आफ्नो कुल वा वंश छुट्टयाउने क्रममा उनीहरुको गोत्र विभाजन भएको हो ।
यति मात्र होइन, हिन्दु–आर्यहरुको लागि गाईले ठूलै भालो गरेको थियो । हिजो शत्रुहरुबाट बच्नेक्रममा उनीहरु हिन्दुउपमहाद्वीपमा प्रवेश गर्दा उनीहरुले ठूल्ठूला नदीहरु पार गर्दै आएका थिए । त्यो बेला अहिलेको जस्तो जहाज र डुङ्गा थिएन । भाग्नेक्रममा हतारमा त्यस्ता डुङ्गा बनाइरहने कुरापनि भएन । त्यो भएको हुनाले उनीहरुले आफुसंग भएको गाई–गोरुको पुच्छर समातेर ती नदीहरु पार गर्दै आएका हुन् । अहिलेपनि आर्य सम्प्रदायमा आपतविपतको रोगव्यधीले समातेर मृत्युको मुखमा पर्ने वेलामा रोगीलाई गाईको पुच्छर समात्न लगाएर वैतरणी गर्ने चलन छ । यो चलन हिजो आपतको बेला गाईको पुच्छर समाती नदी पार गरेर ज्यान जोगाउनुको मनोविज्ञानसंग जोडिएको छ ।
हो, यसरी गाईले हिन्दु–आर्यहरुलाई यस्तो गुण लगाएको हुदा यसलाई उनीहरुले धार्मिक आश्थासंग जोडिदिए । हुनत प्राचीन कालको जंगली युगमा सबै मानव समुदायहरुले जीविकोपार्जन गर्ने क्रममा यसको मासु खाएकै हुन् । आर्यहरुले गाईको मासु खाएकै होइन भन्न सकिन्न । किनकी वेदमा पनि गोमांशको प्रशंग पाउन सकिन्छ । उनीहरुको गाईप्रतिको श्रद्धालाई कसैले नकार्न सक्दैन । यो हिन्दुआर्यहरुको आस्थाको कुरा हो । यो गर्न उनीहरुले पाउनु पर्दछ । त्यसको विरोध गर्ने कसैको हक छैन । तर आफुले गरेको कुरा अरुले पनि त्यही गर्नुपर्छ भन्ने कुरा चाहि गलत हो । हिन्दु आर्यहरुको लागि गाई श्रद्धाको विषय बन्न सक्छ । तर छुट्टै जातीय पृष्ठभूमि भएका जातिहरुको लागि त्यो नहुन सक्छ । त्यसकारण बहुजातीय चरित्र भएको मुलुकमा बसेपछि कुनै एक जातिको मात्र अस्था र चरित्र अरु जातिहरु माथि लाद्न हुन्न । गाई हिन्दुहरुको लागि धार्मिकरुपले महत्वपूर्ण होला तर त्यो अरुको लागि नहुन सक्छ । राष्ट्रिय जनवार र धर्मनिरपेक्षता
नेपाल हिन्दु राज्य नरहेर धर्मनिरपेक्ष राज्य भएको छ । यद्यपि, गाईलाई राष्ट्रिय जनावर भनेर अन्तरिम संविधानमै लेखिएको छ । नेपाल धर्मनिरपेक्ष राज्य भइसकेपछि फेरि गाईलाई राष्ट्रिय जनवार भनेर मान्यता दिनुमा विरोधाभाष छ । त्यहाँ एकजातीय साम्प्रदायिकता झल्कन्छ । किनकि गाई हिन्दु सम्प्रदायसँग सम्बन्धित कुरा हो । यदि हिन्दु–सम्प्रदायसँग सम्बन्धित नभएको हुन्थ्यो भने त्यो मान्य हुन सक्थ्यो । गाई हिन्दु–सम्प्रदायसँग सम्बन्धित पनि हुनु र त्यसलाई नेपालको राष्ट्रिय जनवार पनि बनाउनु तर्कसंगत कदापि हुँदैन । यसले द्वन्द्व निम्त्याउने कामबाहेक अरू केही गर्न सक्दैन ।
नेपाल जस्तो बहुजातीय तथा बहुधार्मिक समुदा भाएको राज्यमा गाईलाई राष्ट्रिय जनवार बनाउदा त्यो भोलिको लागि द्वन्दको तुष रहिरहन्छ । हिन्दुहरुले यो मुलुकमा आफ्नो साम्प्रदायिक वर्चस्वलाई प्रतिकात्मकरुपमा कायम गराइरहन चाहने कुरालाई यसले टेवा दिन्छ । संविधानमा नै उल्लेख गरेर गाईलाई राष्ट्रिय जनवारको मान्यता दिनु भनेको उही हिन्दुराज्यको छद्म संस्करण हो किनकी गाई भनेको हिन्दु–सम्प्रदायसंग जोडिएका विषय हो । यो हिन्दु–समुदायको “टोटम/Totem ” हो ।
त्यसकारण गाईलाई नै राष्ट्रिय जनवार भनेर निरन्तरता दिनु भनेको प्रतीकात्मक रूपले हिन्दु राज्यलाई नै कायम गराउने प्रपन्चका रूपमा जनताले लिन सक्छ । र, नयाँ संविधानमा राष्ट्रिय जनावर बनाउने प्रयास भए त्यो साम्प्रदायिकता हुन जान्छ । यसले सद्भाव होइन र जातीय बितन्ड निम्त्याउँछ । राष्ट्रिय जनावरका लागि अरू विकल्पमा जान सकिन्छ । राष्ट्रिय जनवार नै चाहिन्छ भन्ने होइन, त्यो नभए पनि राज्य चल्छ । गाईलाई नै राष्ट्रिय जनावर मान्ने हो भने नेपाल धर्मनिरपेक्ष राज्य भएको कुनै अर्थ नै रहँदैन ।
अन्तमा
हो, हिन्दु–सम्प्रदायको धार्मिक मान्यताअनुसार त्यसमा आस्था राख्नेका लागि गाई माता हो । गोरु पिता हुन सक्छ । गैरहिन्दुका लागि गाई एउटा सामान्य जनावर हो । यो घर पालुवा पनि हो । यसलाई पाल्नेहरुले यसबाट लाभ लिन सक्छन् । हिन्दु धर्मावलम्बीका लागि गाई श्रद्धाको जन्तु हो, यसलाई स्विकार्नुपर्छ तर अरूका लागि गाई त्यो नहुन सक्छ । गाई र गोरुलाई हिन्दुले पूजा गर्न सक्छन् । यो उनीहरूको आस्थामा कसैले हस्तक्षेप गर्न मिल्दैन । त्यो उनीहरूको धार्मिक अधिकारको कुरा पनि हो । त्यसलाई कसैले चित्त दुखाएर र विरोध गरेर हुन्न । तर, गैरहिन्दुले पनि त्यही गर्नुपर्छ भन्ने छैन । हिन्दुले गाई, गोरुलाई जे गर्छन् त्यही अरूले पनि गर्नुपर्छ भन्नु न्यायसंगत हुँदैन ।
यदि प्राणी हत्या गर्नु पाप हो भन्ने आधारमा गाई काट्नेलाई सजाय दिने हो भने कसैले पनि कुनै पनि प्राणी हत्या नै नगरौ । सबै शाकाहारी बनौं । यदि काटमारकै कुरा गर्ने हो भने हिन्दु देवीदेवताका लागि सबैभन्दा ठूलो काटमार र बलि अरू ठाउँमा हुँदैन । यदि गाई–गोरु खाँदा असभ्य र दिमागहीन नै होइने हो भने आज किन तिनै गाई–गोरु खाने पश्चिमा सभ्यता अन्तरीक्षमा पुगिसकेको छ तर हामी उही नरकीय जीवन भोगिरहेका छौ ? यदि नेपालमा गाई–गोरु खानेहरुलाई असभ्य ठान्ने हो भने “काट्टो” खुवाउने र खाने समुदायलाई के भन्ने ? काट्टो भनेको त खसीको सुकुटी त होइन । त्यो त मान्छेको मासु हो । काट्टो खुवाउने-खाने भनेको त जात विशेषसंग नै जोडिएको हो । नत्र त्यो शेर्पालाई पनि खुवाइन्थ्यो । आज काट्टो(मान्छेको मासु) संग जोडिएका समुदाय सर्वश्रेष्ठ तर जनवारको मासु(गाई) खाने शेर्पाहरु किन अपमानित ? कहा छन् उनीहरुको अस्तित्व र पहिचान ?
गैरहिन्दुले गाई–गोरु काट्दा उनीहरुलाई सजाय दिने परम्परा अवको दिनमा तोडिनु पर्दछ । र, हिन्दुहरुले गाईप्रति प्रकट गर्ने श्रद्धालाई पनि गैरहिन्दुले कदर गरिदिनुपर्दछ । मान्छे मार्दा सत्तामा जाने तर जनावर मार्दा जेलमा जाने भन्ने कुराको आभाष जनतामा पर्न दिन हुन्न । यो वस्तुगत तथ्यलाई पनि भुल्नु हुन्न कि गाई कसैलाई भगवान् हो तर कसैलाई पकवान हो ।