भैरब आङ्ला

धरान, किरात समुदायको महान पर्व उभौली आज देखि सुरु भएको छ ।
किरात राई, लिम्बु, याक्खा र सुनुवार समुदायले अन्नबाली सप्रियोस, सबैको भलो होस् भन्ने कामना गर्दै प्रकृति र भूमिको पूजाआजा गरी उभौली पर्व मनाउने गर्दछन् । किरात लिम्वूले वाली लगाउन ईष्ट देवता तागेरा निङवाफुमाङ संग अनुमति माग्न याक्वा पुजा गरी यो पर्व मनाउने गर्दछन भने किरात राईहरु आजको दिन देखि करिव १५ दिन सम्म साकेला सिलि नाचेर यो पर्व मनाउने गर्दछन् ।
किरातीहरुको बढी बाहुल्यता रहेको पूर्वी नेपालको इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनकुटा, खोटाङ, उदयपुर, संखुवासभा, पाँचथरलगायतका जिल्लामा एक महिनासम्म साकेला, केलाङ नाचेर मनाउने चलन छ । उभौलीको अवसरमा राष्ट्रपति डा. रामबरण यादबले शुभकामना शन्देशमा हिमाल, पहाड र तराई–मधेसमा बस्ने सबै नेपालीबीच बान्धुत्व र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले ऊर्जा प्रदान गर्ने विश्वास ब्यक्त गरेका छन् ।
त्यस्तै उपराष्ट्रपति परमानन्द झाले किरात राई, लिम्बू जातिको उभौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी एवम् सम्पूर्ण किरात धर्मावलम्बीहरुमा शुभकामना ब्यक्त गरेका छन् ।
त्यसैगरी प्रधानमन्त्री सुशील कोइरालाले पनि साकेला उभौलीको अवसरमा शुभकामना दिँदै नेपालका आदिवासी किराँत समुदायले उमङ्ग र उत्साहका साथ मनाउने उभौली पर्वको विशेष महत्व रहेको बताएका छन् ।


