भैरब आङ्ला
धरान , १३ बैसाख – लिम्बुहरुको प्रथम अन्तर्राष्ट्रिय लिम्वू सम्मेलन शनिवार सम्पन्न भएको छ ।
लिम्बुहरुलाई एक सुत्र बाँधी उनीहरुको पहिचाँन, भाषा संस्कृतिको विकास गर्ने उद्देश्यले धरानको सैनिक भवनमा तीनदेखि सञ्चालित सो सम्मेलन उपलब्धीमुलक बनेको आयोजकले दाबी गरेको छ । लिम्बु जातिहरुको छाता संगठन किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति २५ बर्ष पुगेको अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको व्यवस्थापन भने धरान नगरसमितिले गरेको छ ।
सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छरिएर रहेका लिम्बुजातिहरुको अवस्था, सांस्कृतिक सम्बन्ध तथा भाइचाराको सम्बन्ध स्थापित हुन सकेको चुम्लुङ केन्द्रीय समितिकी महासचिव लिला सिङगक लिम्बुले बताइन् । उनले देश विदेशमा रहेका लिम्बुहरुको अवस्थाबारे बुझ्न समेत यस सम्मेलनले ठूलो मद्दत पुगेको जानकारी दिए । किरात याक्थुङ चुम्लुङ केन्द्रीय धरान समितिकी अध्यक्ष संगीता सुब्बाले ८ देखि ९ लाखसम्म अनुमानित बजेट लाग्ने अनुमान भएपनि सोचेको भन्दा बढी लिम्बु प्रतिनिधिहरु विदेशबाट आएका कारण १५ लाख जति खर्च लागेको बताए । उनले लिम्बु भाषाविद, साहित्यकार, मुन्धुमविद् लगायतका विशिष्ट व्यक्तिहरुको सहभागिताले यो सम्मेलनले अझ बढी सार्थकता पाएको बताए । गत वैसाख ११ गतेदेखि चलेको सो सम्मेलनले लिम्बु जातिहरुको पहिचान जोगाउन विदेशमा गएर अझ काम गर्न हौसला बढेको बताएका छन् ।
उनीहरुले आफूहरु विदेशी भूमिमा रहे पनि लिम्बु संस्कृतिको जगेर्नामा कटिबद्ध भएर लागि पर्ने समेत बताएका छन् । नेपाल लगायत विदेशमा रहेका लिम्बु जातिहरुको पहिचान तथा प्रतिष्ठान जोगाउने र कियाचुको संयन्त्र निर्माणको लागि पूर्वाधार निर्माण गर्ने उद्देश्यले आज सम्पन्न भएको सो सम्मेलनमा नेपाल, भारत, म्यानमार, थाइल्याण्ड, भुटान लगायतका ३ सय भन्दा बढी लिम्बु जातिका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
‘आदिवासी जनजातिको शासन आत्म सम्मान प्रतिष्ठान र पँहिचान, लिम्बुवान राष्ट्रिय जागरण कियाचु युप्पा तङवेरे हेक्याम्’ भन्ने नाराका साथ सम्पन्न सम्मेलनमा देश विदेशमा रहेका लिम्बुहरुले १५ भन्दा वढी कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनको उद्घाटन सविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले गरेका थिए । अन्तराष्ट्रिय लिम्वू सम्मेलनले आईतवार धरान घोषणा पत्र जारी गर्ने किरात याक्थुङ चुम्लुङका केन्द्रिय सल्लाहकार हर्ष सुव्वाले जानकारी दिए ।