मनोज घर्तीमगर – पोखरा
सांगीतक ब्याण्ड भन्ने बित्तिकै ड्रम सेट र गीतारको चर्को आवाज । अनि कर्कस लाग्ने खालको हाइभोल्टेजको साउण्ड । धेरैका दिमागी चित्र यस्तै बन्छ । तर, पोखराको लक्ष्य ब्याण्डका मामलामा यो चित्र फेल खान्छ । ब्याण्डमा पाश्चात्य गानाबजानाको प्रतिस्पर्धा भइरहेका बेला शनिबार लक्ष्य ब्याण्डले पोखरामा विशुद्ध नेपाली लोकलयमा सांगीतिक प्रस्तुति देखाएको । विविध नेपाली लोक धुनसँगै गीत गाएर लक्ष्य ब्याण्डले पोखरेलीलाई झुमायो । नेपाली लोकसँस्कृतिलाई बढावा दिन ट्राइम्प इन्टरनेटमेन्ट कार्यक्रम गरेको थियो ।
लेकसाइडको टेन्पल ट्रिमा ‘हिडेन ट्रेडिशनल म्यूजिक पोखरा’ नाम दिएर गरिएको कार्यक्रममा ब्याण्डले ‘तालको पानी, मोहनी लाग्ला है, रेशम फिरिरि…’ लगायतका लोक गीतहरु प्रस्तुत गरेको ट्राइम्प इन्टरनेटमेन्टका निर्मल पहारीले बताए । साहित्यकार सरुभक्त प्रमुख अतिधि रहेको कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधी, व्यापारी, उद्योग व्यवसायी, साहित्यकार, कलाकार र विदेशी गरि दुईसयभन्दा बढी दर्शक उपस्थित थिए । कार्यक्रममा अतिथि ब्याण्डका रुपमा रुद्र ब्याण्डको प्रस्तुति थियो ।