शेर्पा संघ , यूरोपको सातौं अनलाइन बैठक सम्पन्न

Read Time:3 Minute, 39 Second

कर्मा पहाडी शेर्पा

लन्डन , २१ अप्रिल २०१४ – शेर्पा संघ , यूरोपको सातौं अनलाइन बैठक गत २१ अप्रिल, २०१४ सोमवारका दिन संघका अध्यक्ष श्री हेम शेर्पाको अध्यक्षतामा सम्पन्न भएको छ ।

हालै विश्वको सर्वोच्च शिखर सगरमाथामा गएको भिषण हिमपहिरोमा परी निधन हुनुभएका शेर्पा दाजुभाईहरुको सम्झनामा एक मिनेट मौनधारण गरी शुरु भएको सो बैठकले उहांहरुप्रति श्रद्धान्जली प्रस्ताव पारित गरेको थियो ।  

त्यस्तै गरेर नेपाल शेर्पा संघको आसन्न पाँचौं महाधिवेशन सम्बन्धि प्राप्त पत्रमाथि छलफल हुँदा सो संघद्वारा प्रस्तावित विश्वभरिका शेर्पाहरुलाई गोलबद्ध गर्ने नीतिगत योजनालाई स्वागत गर्दै यूरोपका सबै किदुगहरुको तर्फबाट शेर्पा संघ, यूरोप मार्फत् महाधिवेशन प्रतिनिधि पठाउने र महाधिवेशनको लागि आर्थिक सहयोग गर्ने जनाएको छ । आर्थिक सहयोग संकलन गर्नका लागि बेल्जियमबाट शेर्पा किदुग, बेल्जियमका अध्यक्ष तथा संघका सल्लाहकार श्री सोनाम(ए. डी.) शेर्पा  र संघका सचिव श्री ओङ्गेल शेर्पा,  जर्मनीबाट शेर्पा किदुग, जर्मनीका अध्यक्ष तथा संघका कोषाध्यक्ष श्री ङिमा ओङछु शेर्पा र संघका उपाध्यक्ष श्री पासाङ  देन्डी शेर्पा, बेलायतबाट संघका निवर्तमान अध्यक्ष श्री आङ कल्जाङ लामा र संघका महासचिव श्री कर्मा छिरिङ्ग शेर्पा, पोर्तुगलबाट शेर्पा किदुग, पोर्तुगलका अध्यक्ष तथा संघका सदस्य श्री सोम फुरी शेर्पा र संघका सल्लाहकार श्री पेम्बाछिरी शेर्पा, र स्पेनबाट संघका अध्यक्ष श्री हेम शेर्पा संयोजक रहेको महाधिवेशन आर्थिक सहयोग समिति गठन गरेको छ ।

आगामी १ जुन, २०१४ मा शेर्पा संघ, यूरोपको आयोजनामा बेलायतमा सम्पन्न हुन गइरहेको “सगरमाथा दिवस”को तयारी बारेमा सो बैठकमा छलफल भएको थियो। यसरी सो दिवस बारे छलफल हुँदा  कार्यक्रम तयारी तिब्र गतिमा भै रहेको र यूरोपका अन्य मुलुकहरुबाट पनि सक्दो सहभागी गराउने निर्णय गरेको छ।

सोलुखुम्बु जिल्ला भकान्जे गा.वि.स. वडा नं. ३ निवासी छात्रा पासाङ ल्हमू शेर्पाको अध्ययनमा सहयोगको लागि शेर्पा संघ, यूरोपमा प्राप्त निवेदनमाथि छलफल हुँदा  निज छात्रालाई २०७१ साल बैशाख महिनादेखि लागु हुने गरी छात्रावृत्ति प्रदान गर्ने निर्णय सो बैठकले गरेको छ। यू.के. समय बिहान ९:३० बजेबाट शुरु भै करिब तीन घण्टा लामो समयसम्म बसेको सो बैठक संघका महासचिव श्री कर्मा छिरिङ्ग शेर्पाले संचालन गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %