विदेशमा बस्नेहरु सांस्कृतिक विचलनको जोखिममा
भैरब आङ्ला , धरान
फरक भाषा, संस्कृति तथा भिन्न आर्थिक, सामाजिक जीवन शैली भएका देशहरुमा लामो समयदेखी बसोबास गर्दै आएका लिम्बु समुदायको भाषा एवं परम्परागत संस्कार, संस्कृति प्रभावित हुने जोखिम बढेको नेपाल वाहिर वस्ने लिम्वूहरुले बताएका छन् ।
सुनसरीको प्रथम अन्तर्राष्ट्रिय लिम्बु सम्मेलनमा विभिन्न मुलुकबाट आएका सहभागीले त्यस्तो अनुभव सुनाएका हुन् । सम्मेलनको दोश्रो दिन आज भएको पहिलो चरणमा विदेशबाट आएका प्रतिनिधिहरुले सम्बद्ध मुलुकमा आफ्नो भाषा, संस्कृति र संस्कार संरक्षण गर्न भैरहेका कृयाकलापका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कतिपय देशमा लिम्बु समुदाय पाँच पुस्तादेखी उतैको नागरिक भएर बसोबास गर्दै आएका छन् । पुस्तान्तरमा हस्तान्तरण हुने भाषा, संस्कृति र संस्कारहरु त्यहाँको भिन्न भाषा, संस्कृति, धर्मका साथै आर्थिक समाजिक जीवन शैलीबाट प्रभावित हुँदै आएको छ । उतैको जीवन शैलीमा रमाउन थालेका पछिल्लो पुस्ता परम्परागत संस्कृति, संस्कार ग्रहण गर्न उदासिन हुँदै गएको उनिहरुले अनुभव सुनाए ।
थाईल्याण्ड बाट सहभागी एस्सुमसन युनिभर्सिटी (बैंकक) की पूर्व प्रोफेसर भारती सुव्वाले थाईल्याण्डका साथै बर्मामा छैठौं पुस्तादेखी स्थायी बसोबास गर्दै आएका जनजाति लिम्बु, राई, याख्खाका पछिल्ला पुस्ता मातृभाषाका साथै परम्परागत जातिय धर्म, संस्कार, संस्कृतिको जोखिममा रहेको बताईन् । तथापी आफ्नो संस्कार, संस्कृतिको संरक्षण र सम्बर्धन गर्न दुवै देशमा जातिय समाजिक संस्था गठन भएका छन् ।
फरक भाषा, संस्कृतिको अतिक्रमण बाट जोगिने प्रयास त्यस्ता संस्थाहरुको गतिविधिले सहयोग पुर्याएता पनि आफ्नै देशको जस्तो जनसंख्याको बाहुल्यता नहुँदा चुनौति व्यहोर्दै आउनु परेको छ । उनका अनुसार थाईल्याण्डमा नेपालीको जनसंख्या १ लाख जति भएकोमा लिम्बु जातिको संख्या १५ हजारको हाराहारीमा छ । भिन्न देशको भौगोलिकता, फरक धर्म, संस्कारका साथै जीवन शैलीको अतिक्रमण बाट आफ्नो संस्कृति जोगाउन कठिन भएको बताउँदै उनले भनिन् ‘नेपालमा छापिएका पुस्तक फोटोकपि गरेर पनि जन्म, मृत्यु लगायतको संस्कार आफ्नै तरिकाले गर्नु परेको छ ।’
विकसीत मुलुकको भौतिक सुविधामा भएको अत्याधुनिकरण तथा त्यहाँको प्राकृतिक अवस्थाले पनि नेपालमा जस्तो परम्परागत संस्कार, संस्कृतिलाई व्यवहारमा उतार्न कठिन छ । विदेशमा लिम्बु जातिको परम्परागत धार्मिक, सांस्कृतिक संस्कार गर्ने साम्बा, येवा र फेदाङमा नपाईने हुनाले पनि यस्तो स्थितिको सामना गर्नु परेको हो । यस्तै अनुभव सुनाउँदै किरात याक्थुङ चुम्लुङ हङकङका त्रिभुवन लुङफुङवाले त्यहाँको चलन अनुसार मृत्यु भएका लिम्बुको शव विद्युतिय प्रविधिमा दाहसंस्कार गर्नु परेकोले परम्परागत रुपमा जमिनमा समाधिस्थ गर्न तथा नदी किनारमा जलाउने संस्कार गर्न नसकिएको अनुभव सुनाए ।
हङकङमा चुम्लुङ स्थापना भएपछि भने लिम्बु चाड, पर्व संयुक्त रुपमा मनाउँने गरिएको छ । सांस्कृतिक कार्यक्रमहरु लाई मौलिकता प्रदान गर्ने प्रयास जारी छ । बेलायती सैनिक सेवामा हङकङ प्रवेश गरेका लिम्बुहरुको त्यहाँ जन्मेका सन्तानले हङकङ बसोबास गर्न पाउने आईडी ऐन १९८३ मा बनेपछि पूर्वगोर्खा तथा उनिहरुका सन्तानहरुको कामका लागि हङकङ जान थालेको हो । यो लहर ई. सं. १९९० देखी व्यापक रुपमा बढ्यो । हङकङमा आईडि प्राप्त लिम्बु जातिको संख्या अहिले ७ हजार पुगेको छ । लिम्बुको संख्या बढेसंगै सन् १९९६ मा त्यहाँ किरात याक्थुङ चुम्लुङको स्थापना भएको हो ।
युके (बेलायत)मा त्यहाँको उच्चतम शैक्षिक, समाजिक, आर्थिक विकासको जीवन शैलीबाट नेपालबाट स्थायी बसोबासका लागि गएका पछिल्लो पुस्ता नराम्ररी प्रभावित भएको छ । युके चुम्लुङका सदस्य हर्कजंग कुरुम्भङले भने ‘त्यहाँ भाषाको उपयोगीता नभएको भन्ठानी युवा पुस्ता मातृभाषा प्रति उदासीन देखिन्छन् ।’ युकेका चुम्लुङ स्थापना भएको १५ वर्ष नाघि सकेको छ । तर, उपलव्धि भने उल्लेखनिय छैनन् । उनले चुम्लुङले विदेशका चुम्लुङहरु लाई अधिकतम उपयोग गर्दै विदेशमा बस्ने लिम्बु समुदाय लाई भाषा, संस्कृतिप्रति उत्प्रेरित गर्न आधुनिक सञ्चार प्रविधि उपयोग गर्न उनले सुझाव दिए । स्काईप फोन, भिडियो कन्फ्रेन्स गरेर भएतापनि विदेशमा आफ्नो गतिविधि बढाउ आवश्यक भएकोमा कुरुम्भङले जोड दिए ।
दार्जिलीङमा बंगालको शासन र त्यहाँ चलिरहेको गोर्खाल्याण्ड आन्दोलनका कारण लिम्बु जातिको भाषा, संस्कृतिको आवाज ओझेलमा परेको छ । दुईटा राजनीतिक प्रवृत्तिको दवावमा परेर छुट्टै जातिय पहिचानको कुरा उठाउने अवस्था सम्म नभएको सहभागी गोर्खा लिम्बु (सुब्बा) ट्राईबल एशोसिएसनका अध्यक्ष नर्बु चेम्जोङले बताए । दार्जिलीङमा सन् १९८० देखी लिम्बु भाषा, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासका प्रयासका गतिविधिहरु शुरु भएको हो । यस्को लागि बंगाल सरकार संग सन् १९८७ – ८८ देखी विभिन्न माग राखी संघष थालिए पनि ठूलो उपलब्धि भने हासिल गर्न नसकिएको चेम्जोङले बताए । दार्जिलीङका लिम्बु समुदाय पछिल्लो पटक नेपालमा चलेको लिम्बुवान आन्दोलनबाट उत्प्रेरित भएको बताउँदै त्यहाँ पनि लिम्बुवानको माग गर्दै छुट्टै लिम्बुवान स्थानिय स्वायत्तता दिनु पर्ने आन्दोलन शुरु भएको उनले उल्लेख गरे ।
अन्य मुलुकहरु भन्दा भारतको सिक्किम राज्यमा लिम्बु भाषा लिपीको शैक्षिक विकास उच्चस्तरमा भएको छ । समग्र भारतमा १२ वटा लिम्बु जातिय संस्था संगठन छन् । ती सबैको छाता संगठनको रुपमा सिक्किममा भारतीय याक्थुङ महासंघ गठन भएको छ । त्यहाँबाट अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी समनप्रसाद सुब्बा(सिक्किम याक्थुङ सङचुम्भो, गान्तोक)का अनुसार सिक्किममा पहिलो पटक सन् १९७५ मा लिम्बु भाषा लीपिको पठन पाठनको लागि संस्थागत प्रयास शुरु भयो । शिक्षा बिना भाषा, संस्कृति धर्मको संरक्षण सम्भव नहुने भएकोले लिम्बु मातृभाषाको विकासमा जोड दिएका हौं ।
उक्त प्रयास स्वरुप सिक्किममा कक्षा ५ सम्म लिम्बु भाषा लीपिको पठन पाठन शुरु भएपछि अहिले उच्च तहमा समेत लिम्बु भाषा साहित्यको अध्ययन, अनुसन्धान हुँदै आएको छ । शिक्षाको क्षेत्रमा सफलता प्राप्त भएपछि राजनीतिक अधिकारका लागि पनि सकृय भयौं । त्यस्को भारतीय संविधान अनुसार हामीले मौलिक अधिकारको पैरवी गर्न ट्राईबल (आदिबासी जनजाति) संगठन स्थापना गरेर धार्मीक एवं सांस्कृतिक गतिविधि अघि बढायौं । सन् १९९१-९२ तिर शुरु गरिएको यो प्रयास स्वरुप सिक्किममा माङहिम स्थापना सहित धार्मीक सांस्कृतिक गतिविधिको लागि बाटो खुल्यो ।
तस्वीर : हर्ष सुब्बा / धरान