मनोज घर्तीमगर-पोखरा
चित्रकार आलोक गुरुङ फरासिला त छँदैछन् । सँधै हँसिला र खुसी देखिन्छन् । यो हप्ता झ्न उनको खुसीको सिमाले पारो नाघेको छ ।
पोखरा महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा पाँच दिन चित्रकला प्रर्दशनी गरेपछि उनी खुब हौसिएका छन् । चार लाख २५ हजारको चित्र बिक्रि भएपछि यसले उनको अनुहारमा थप चमक ल्याइदिएको छ । प्रर्दशनीमा उनका प्रोटेट(मुहार), ल्यान्डस्केप चित्रहरु राखिएको थियो । हिमाली सांस्कृतिक परिवारको अगुवाईमा गरिएको प्रर्दशनीमा नेपाली जनजाति, तिनका संस्कृति, प्राकृतिक र पोखराका विभिन्न विशिष्ट व्यक्तित्वका चित्र थिए । आलोकले संरक्षणविद् स्वर्गीय डा.चन्द्रबहादुर गुरुङ, झलकमान गन्धर्वदेखी सरुभक्त, दुर्गा बराल वात्स्यायन, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठसम्मका तस्वीर समेत प्रदृशनीमा राखेका थिए । प्रर्दशनीमा राखिएका ४० मध्ये सात वटा ल्यान्डस्केप र ३३ वटा मुहार चित्र हुन् ।
मुहार चित्र बनाउन खप्पीस मानिने ६० वर्षिय आलोकले अहिलेसम्म चार हजारजति मुहार चित्र बनाइसकेका छन् । प्रदर्शनीमा १५ हजारदेखि दुई लाख रुपैया“सम्मका तस्वीर राखिएका थिए । चार दशक कला क्षेत्रमा बिताएका गुरुङको यो दोस्रो एकल चित्रकला प्रदर्शनी हो । गुरुङको लखनचोकस्थित आर्ट लाइन कला स्टुडियो सञ्चालनमा छ भने उनले थुप्रैलाई प्रशिक्षण दिएर कलाकार बनाइसकेका छन् ।
तस्वीर:जीत गुरुङ