नेपालमा को हुन् वामपन्थी र दक्षिणपन्थी ?

Read Time:12 Minute, 30 Second

बलदीप प्रभाश्वर चामलिङ

वामपन्थको अर्थ

वामपन्थ शब्दको अंग्रेजी समानार्थ शब्द “लेफ्ट–विङ” हो । यसलाई अंग्रेजीमै “लेफ्टीज्म” पनि भन्ने गरिन्छ । यसको विशेषण वामपन्थी  (लेफ्टिस्ट) हो । यस्तै यसको वीपरितार्थ शब्द दक्षिणपन्थ हो । यो अंग्रेजीमा “राईट–विङ” हो । यसरी लेफ्ट–विङ र राईट–विङ शब्दहरु जन्मनुमा एउटा इतिहास छ ।

सन् १७८९ मा फ्रान्समा राज्यक्रान्ति भएपछि यो वामपन्थी शब्द विन्यास भएको हो । फ्रान्सको स्टेट्स जेनेरल (व्यवस्थापिका) भवनभित्र व्यवस्थापिका प्रमुख बस्ने कुर्सीको देव्रेपट्टी बस्नेहरुले जहिले पनि परिवर्तनको पक्षमा वकालत गर्दथे । उनीहरुको मुद्धा गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक समानता र परिवर्तन हुन्थे ।  उता दाहिनेतर्फ बस्नेहरुको मुद्धा राजतन्त्रात्मक परम्परागत संस्थाहरुलाई निरन्तरता दिने र  रुढीवादलाई बढुवा दिने प्रकृतिको विषयलाई प्राथमिकता दिन्थे । उनीहरुले त समाजमा ठूलो र सानो हुनुभनेको दैवीय शक्तिको कारण मान्दथे ।  

फ्रान्सको स्टेट्स जेनेरल भवनका वायाँतर्फ बस्नेहरु परिवर्तनको पक्षपाती थिए भने दायाँतर्फ बस्नेहरु चाहि परम्परालाई तोडिहाल्न हुन्न भन्नेहरु बस्दथे । यसरी देव्रेतर्फको मत र विचार भएकाहरुलाई लेफ्टिस्ट भनियो भने दाहिने तर्फकालाई राईटिस्ट भन्न थालिएको हो । खस नेपाली भषामा राईटिस्टलाई दक्षिणपन्थी भनिएको हो । सूर्योदय भएको पूर्वतर्फ उभिदा दाहिने हात दक्षिणतर्फ र देव्रेहात उत्तरतर्फ हुन्छ । यसैलाई आधार मानेर नेपाली विद्वानहरुले वायाँवाद र दायाँवाद  शब्दको सट्टा क्रमशः वामपन्थ र दक्षिणपन्थ शब्दविन्यास गरेका हुन । वामको अर्थ देव्रे तथा उत्तर पनि हुन्छ । बेलाबेलामा राजनीतिक विचार र सिद्धान्तहरुलाई बुझाउन मध्यमपन्थी पनि भनिने प्रचलन छ । वामपन्थ र दक्षिणपन्थ दुइ ध्रुवको विचमा रहनेलाई सेन्ट्रिस्ट अर्थात मध्यमपन्थी भनिन्छ । विचारको आधारमा समाजवादीहरुलाई वामपन्थी र उदारवादीहरुलाई मध्यमपन्थी र पुरातनवादी (कन्जरभेटिस्ट) हरुलाई दक्षिणपन्थी भनेर भनिने प्रचलन छ । अहिले आएर त नागरिक अधिकारको आन्दोलन, युद्ध विरोधी आन्दोलन र वातावरणीय संरक्षण सम्बन्धि आन्दोलन पनि वामपन्थी विचारधारमा पारिएको छ ।

वामपन्थ शब्द विश्वमा कम्युनिष्ट पार्टी जन्मनु भन्दा अगाडि नै प्रचलनमा आएको हो । पछि कम्युनिष्टहरु नया क्रान्तिको पक्षमा भएको हुदा स्वभाविकरुपले  आफुलाई वामपन्थी कित्तामा राखे र त्यसैको कसीमा उनीहरुलाई हेरिन थालियो । माक्र्सवादी कम्युनिष्टको उदाय पछि सामान्य वामपन्थ अलि विशिष्ट हुन गयो । किनकी उनीहरुले आफुलाई काल्पनिक समाजवादी नभएर वैज्ञानिक समाजवादी भएको दावी गरे । सशस्त्र युद्धको माध्यमबाट साम्यवादमा पुग्न चाहनेहरुमात्र वास्तवमा वामपन्थी हो भन्ने छाप तेश्रो मुलुकमा हुन गयो ।  त्यो छाप अद्यावधी छ ।  

नेपालमा कस्लाई वामपन्थी भन्ने ?

यो वामपन्थ र दक्षिणपन्थ शब्दहरु नेपालको सन्दर्भमा खुबै चलेको छ । कम्युनिष्टहरु वामपन्थी हुन भने काग्रेसहरु दक्षिणपन्थी हुन भन्ने प्रचलन अहिलेपनि छ । जस्तो, नेपालमा थुप्रै कम्युनिष्ट पार्टीहरु छन् । तर त्यसको नेतृत्व वामपन्थी छ कि छैन , त्यो केलाउनु पर्ने बेला आएको छ । नाम कम्युनिष्ट पार्टी तर काम  उही परम्परागत रुढिवादलाई नै निरन्तरता दिने खालको छ भने त्यो कम्युनिष्ट भएर वामपन्थी हुनसक्दैन । नेपालमा त्यस्ता कम्युनिष्ट पार्टीहरु छन् जो उही पुरानो मुल्य र मान्यताको राज्यसंयन्त्रलाई निरन्तरता दिन चाहन्छन् । राज्यपुनःसंरचना र समानुपातिकको मुद्दा सुन्न नै चाहदैन ।  

वामपन्थी भनिनेहरु चाहि दक्षिणपन्थी जस्ता तर दक्षिणपन्थी भनिनेहरु चाहि वामपन्थी जस्ता छन् यो देशमा । नेपालमा आफुलाई ठूलो वामपन्थी भन्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले)देखि लिएर गैर–कम्युनिष्ट राष्ट्रिय जनमुक्ति पार्टीजस्ता सम्म संगठनहरु छन् । सामाजिक समानता र पहिचानसहतिको संघीयताजस्ता परिवर्तनको मुद्दालाई समयको माग हो भनेर ठहर गर्ने एनेकपा(माओवादी)लाई आफुलाई वामपन्थी भन्ने एमालेले खिसी गरे । एमाओवादी हार्नुको कारण पहिचान रहितको संघीयता हो भनेर कम्युनिष्ट पार्टीहरुले नै गोयवल्स शैलीमा भ्रमक प्रचारवाजी गरिरहेका छन् । त्यो कुरा पत्याउने उही माओवादी नेतृत्वमा पनि केही छन् ।  

हो, वामपन्थी भनेको परिवर्तन चाहने हो । सामाजिक न्याय र समानता चाहने हो । बामपन्थी धर्मनिरपेक्षताका पक्षधर हो । वामपन्थी गणतन्त्रको पक्षधर हो । वामपन्थी पुरातन राज्यसत्ताको विरोधी हो । जस्ले उही पुरानो एकात्मक राज्यसत्ताको पक्षपोषण गर्ने र रुढिवादी परम्परालाई संस्थागत गर्न चाहने शक्तिलाई कसरी वामपन्थी भन्न मिल्छ ? नेपालका सबै कम्युनिष्ट पार्टीहरु  वामपन्थी हुन कि होइन ? ठूला कम्युनिष्ट पार्टीको नेता हुँ भनिहिड्नेले उही ४७ सालको संविधान नै ठीक रहेछ भनेर बक्दै हिड्छ भने त्यो वामपन्थी हो कि होइन ? संघीयाताले देश टुक्रन्छ भन्ने कम्युनिष्ट वामपन्थी हो कि होइन ? उता, स्थापनाकालदेखि नै समानुपातिक प्रतिनिधित्व, संघीयराज्य, धर्मनिरपेक्षता र गणतन्त्रजस्ता परिवर्तनको मुद्दा लिएको जनमुक्ति पार्टीजस्ता शक्ति वामपन्थी हो कि होइन ? खुट्याउने बेला आएको छ ।  

समाजवाद र वामपन्थ

समाजवाद र वामपन्थको दोस्ती सधै रहिरहेको हुन्छ । सिंगो समाजको विकासको वकालत गर्नु वामपन्थीहरुको स्वभाविक प्रवृति हो । हिजो सोभियत कम्युनिष्टले समाजवादको प्रतिनिधित्व गरेको भनेर भनियो भने अमेरिकाले पुँजीवादको । यता, अमेरिकी पक्षधरले समाजवादलाई तानाशाही व्यवस्थासँग जोडिदिए । समाजवाद भनेको कम्युनिष्ट तानाशाहहरुको व्यवस्था हो भन्ने कुराको प्रचार भो । यो उनीहरूको यस्तो हर्कत भनेको राजनीतिक रूपले अभिप्रेरित थियो । यसमा समाजवाद शब्द चेपुवामा परे । समाजवाद आफैमा नराम्रो होइन । तर, समाजवादको प्रयोगकर्ताको तानाशाही चरित्रको आधारमा समाजवादलाई राजनीतिक पूर्वाग्रहबाट मूल्यांकन गरियो । यद्यपि कुनैपनि वामपन्थीहरु समाजवादबाट विमुख हुन सक्दैन । समाजवाद कसरी लागु हुनसक्छ भन्ने कुरामा मात्र विवाद हो । सशस्त्र जनयुद्धबाट समाजवाद प्राप्त गर्न सकिन्छ वा प्रजातान्त्रिक शान्तीपूर्ण अभ्यासबाट भन्ने कुराको विवाद मात्र हो । समाजवाद कम्युनिष्ट पार्टी मात्रको पेवा पनि होइन । समाजवाद सिंगो समाज र मुलुकको समृद्धिसंग जोडिएको कुरा हो । वामपन्थीहरुले समाजवादमा राजनीतिक स्वतन्त्रता पनि पहिलो सर्त ठान्छन् । त्यसकारण वामपन्थीहरु सधै लोकतन्त्रको हिमायती हुन्छन् ।

मानिस सामाजिक प्राणी हो । मानिसको समाज हुन्छ । विनासमाजको मानिसको अस्तित्व कल्पना गर्न सकिन्न । कुनै पनि व्यक्ति समाजको सदस्य हो । व्यक्तिको आधार समाज हो । समाजको इकाइ व्यक्ति हो भने तिनै व्यक्तिको योग नै समाज हो । एउटा व्यक्ति सम्पन्न हुँदा सिंगो समाज सम्पन्न हुन सक्दैन । तर, सिंगो समाज सम्पन्न हुनु भनेको सबै व्यक्ति सम्पन्न हुनु हो । समाजवादको लक्ष्य कुनै व्यक्तिविशेषलाई मात्र सम्पन्न बनाउनु होइन । एक व्यक्तिझै अरूलाई पनि सम्पन्न बनाउने प्रकृया समाजवाद हो । समाजको कुनै व्यक्ति जुन स्तरको सम्पन्नतामा रहन्छ, त्यही स्तरको सम्पन्नतामा समाजका अन्य सदस्यहरुलाई पनि पुर्याउनुपर्छ । एक सम्पन्न व्यक्तिजस्तै अरू समाजलाई पनि सम्पन्न बनाउने नीति तथा कार्यक्रम हो, समाजवाद ।

यो समाजवाद स्थापना गर्ने प्रक्रियामा राज्यको भूमिका सहजकर्ता, नियामक, मध्यस्थकर्ता र नियन्त्रक हुनपर्छ । यस्तो भूमिका उत्पादनका साधन र सम्पत्ति राष्ट्रियकरण गर्ने कुरामा नभएर त्यसलाई सामाजिकीकरण गर्ने काममा हुनुपर्छ । मानव जगत्को कल्याणमा समाजवादको विकल्प हुन सक्दैन ।   वास्तवमा गरिबलाई सहायता प्रदान गर्न नसक्ने राज्यले धनीको सुरक्षा पनि प्रदान गर्न सक्दैन । धनीको सुरक्षा गरिब संगको सहयोग र हातेमालोमा छ । छिमेकमा गरिब जन्माएर आपूm सुरक्षित भएको र सभ्य भएको महसुस गर्नु मूर्खता हो । त्यही गरिबको भोको विद्रोह धनीको अन्त्यको कारक बन्न सक्छ । विश्वको कल्याण सबैको भलाइमै रहन्छ । बुद्धले पनि “बहुजन हिताय”लाई नै जोड दिएको थियो । त्यस्तो सबैको कल्याण र भलो समाजवादमा मात्र रहन्छ र समाजवाद कायम गराइरहने प्रयत्नशील भूमिकाचाहिँ वामपन्थीहरुले नै गरिरहनुपर्छ । अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले भनेका थिए, “यदि स्वतन्त्र समाजले अधिक मात्रामा भएको गरिबको सहयोग गर्न सक्दैन भने थोरै धनीको सुरक्षा पनि दिन सक्दैन ।”

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %