बुढेसकालमा घाटु छमकछमक

Read Time:7 Minute, 16 Second

मनोज घर्तीमगर  

तस्वीर : भुपाल गुरुङ

मगर-गुरुङ समुदायमा रहेको घाटु नाँच विस्तारै हराउन लागेको छ । विभिन्न मेला पर्वमा नाचिने घाटुलाई नमान्ने हो भने मौलिक सँस्कृति बोकेको घाटु नाच लोप भईसकेको छ । अघिल्लो पुस्ताका व्यक्तिहरु पाको हुनु र पछिल्लो पुस्ताले यसलाई अनुसरण नगरेपछि घाटु लोप हुने अवस्थामा पुगेको हो । पोखरामा अहिले न घाटु गीत गाउने मान्छे पाईन्छन् न नाँच्ने व्यक्ति भेटाउन सकिन्छ । लोपोन्मुख घाटु संरक्षण गर्नुपर्ने बेला–बेला आवाज उठे पछि कसको ध्यान जाओस यतातिर । घाटु हराउँदै गएकोमा न सँस्कृति मन्त्रालयलाई थाहा छ न सँस्कृतिको जगेर्ना गर्ने भन्दै च्याउसरी खुलेका संस्थालाई मतलब छ । कसैले मतलब नगरेपछि कास्कीको उत्तरी गाउँ सिक्लेसका बज्यैहरु घाटु नाच संरक्षण गर्न कम्मर कसेर लागेका छन् । उमेरले नेटो काटे पनि उनीहरुलाई घाटु संरक्षणका लागि काम गर्ने जाँगर पलाएको छ ।

६० वर्ष नाघेका बज्यैहरु सिक्लेसमा घाटु संरक्षणका जुटेपछि पछिल्लो पुस्तका युवा दंगदास छन् । उनीहरुले पछिल्लो पुस्ताका युवायुवतिलाई घाटु नाच सिकाउन विभिन्न मेला पर्वको अवसर पारेर आफै घाटुनी बनेर नाच्ने गरेका छन् । उमेर पाको भए पनि आफै घाटुनी बनेर नाच्दा युवाहरुमा हौसला थपिने उनीहरुको विश्वास छ । ‘कपाल फुलेका हामी घाटुनी बनेर नाचेपछि अहिलेका केटीहरु घाटु सिक्ने तम्सिन्छन्’ ७८ वर्षिया लालश्री गुरुङ भन्छिन्‘हामीलाई पनि खुसी लाग्छ, तर आजभोलीका केटाकेटी घाटु नाच्न झ्याउ मान्छन् ।’ ११ वर्षको हुँदादेखी घाटु नाच्न सुरु गरेकी लालश्रीलाई अहिलेसम्म घाटुको रोस(रहर) बाँकी छ ।

लालश्री गाउँमा हुने शुभकार्यमा घाटुनी भएर मसिनो तालमा नाच्दा उनका दौतरी होस्टेमा हैसे गर्छन् । उनलाई पनि घाटु नाच्न पाउँदा बैसको याद आउने भएकोले खुब रमाईलो लाग्छ । ‘केटाकेटीलाई सिकाउन पनि पाईने, आफ्नो बैसको याद पनि आउँछ त्यसैले घाटु नाच्चु’ कपाल फुलेर सेतै भएकी लालश्री भन्छिन्‘अझै पनि घाटु नाच्न रहर लाग्छ, जति नाचे पनि थाकिदैन ।’

६६ वर्षिया बिरुमायाँ गुरुङलाई पनि घाटु हराउँदै जान थालेकोमा चिन्ता लागेको छ । पछिल्लो पुस्ताले यसलाई सिक्नै चहादैनन् । डिस्को र डान्स पार्टीमा रमाउन बानी परेका युवायुवतिले चासो नदिदा घाटु नाच हराउँदै गएको बिरुमायाको ठहर छ । ‘आजभोलीका केटाकेटी के घाटु नाचुन्, घाटु भनेको कतिलाई त थाहा पनि छैन’ उनी हाँस्दै भन्छिन्‘डिस्को डान्सपार्टी जाने लभ गर्नेलाई घाटुको बारेमा के थाहा ?’

पछिल्लो पुस्ताले घाटुलाई हेला गरे पनि सिक्लेसका पहिलो पुस्ताले यसलाई जगेर्ना गर्न आफ्नो तर्फबाट भरपुर सहयोग गरिरहेका छन् । उमेर पाको भए पनि घाटु संरक्षणका लागि उनीहरु आफै सक्रिय  भएका छन् । बज्यै भईसकेकाहरु अझै पनि सिक्लेसमा घाटुनी बनेर छमछमी नाच्छन् । तीमध्येकी एक हुन् ६६ वर्षिया अमृका गुरुङ । उनी पनि सिक्लेसमा हुने हरेक खाले शुभकार्यमा घाटुनि बन्छिन् । ‘अहिलेका केटाकेटी सबै सहर पसिसके, उनीहरुलाई घाटु आउँदा पनि आउँदैन सिक्न पनि झ्याउ मान्छन्’ उनी भन्छिन्‘हामीले धेरै पटक सिकाउन खोज्यौं, तर उनीहरुले चासो दिन्नन् ।’

घाटु हराउँदै गएकोमा यी बुढि बज्यैहरुको मनमा सन्त्रास छ । पछिल्लो पुस्ताले कम्तिमा सिक्न प्रयास गरेमा जोगिन सक्ने उनीहरुको भनाई छ । युवती हुने बेला लमजुङ, पर्वत, पोखरा लगायतका स्थानमा घाटु नाच्न गएको उनीहरुले अहिलेसम्म बिर्सेका छैनन् । बज्यैहरु घाटु संरक्षणमा लागे पनि युवापुस्ताले खासै चासो दिएका छन् । आधुनिकीकरणको नाममा पश्चिमा सँस्कृतिको पछि लाग्न बानि परेका युवाहरुका कारण घाटु हराउन लागेको केही युवाहरुको मत छ । ‘घाटु अहिले लोप हुने स्थितिमा छ, युवापिढी आधुनिकीकरणमा ढल्किएर पनि हो’ सिक्लेसका स्थानीय युवा गेहेन्द्रमान गुरुङ भन्छन्‘घाटु नाच्न धेरै मान्छे चाहिने, गरगहनामा पनि धेरै चाहिने अनि ढिलो चाल भएर पनि युवावर्गले यसप्रति चासो नदिएका हुन् ।’

पश्चिमाञ्चलको बाक्लो मगर र गुरुङ वस्ती रहेको तनहुँको रिसिङ, घिरिङ, ढोरबराह, स्याङ्जा, पाल्पा, नवलपरासी, गोर्खा, कास्कीका विभिन्न गाउँहरु, पर्वत, बाग्लुङ लगायतका क्षेत्रमा नाचिने घाटु हेर्न अहिले कुनै पर्व नै पर्खनुपर्छ । गुरुङ, मगरको हरुको ‘जिउँदो संस्कृति’ मानिने घाटु अहिले आफ्नै जन्मभुमिबाट पराई हुन थालेको छ । घाटुका गुरुङ इच्छामान गुरुङले आभोली घाटु नचाउने र सिकाउने गुरुङ पाउन छाडिसकेकोले यसको संरक्षण गर्न मुस्किले भएको बताउँछन् । ‘पहिलो जताततै घाटु नाच्ने चलन थियो, अहिले त नाच्ने त के सिकाउने गुरु पनि पाउन मुस्किल छ’ उनी भन्छन्‘मैले पनि यहाँका युवालाई सिकाउने धेरै प्रयास गरे,  ढिलो चाला र धेरै समय खाने भएकोले युवाहरु वास्ता गर्दैनन् ।’ उनले घाटु संरक्षण गर्ननका लागि सरकारी स्तरबाट पहल हुनुपर्ने बताउँछन् । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %