बलदीप प्रभाश्वर चामलिङ
अठारौ शताब्दीका फ्रान्सका एक अर्थशास्त्री भिन्सेन्ट डि गौरने (Vincent De Gournay) ले कर्मचारीहरुका कमजोरीहरुलाई औल्याउदै भनेका थिए, “फ्रान्समा हामीसंग त्रासदी सृजना गर्ने एउटा रोग छ र त्यो रोग भनेको कर्मचरीतन्त्र हो ” । उक्त भनाइ सबै परिस्थितिमा लागु नहोला । तर कर्मचारीहरुले स्वाभाविक मति छाड्ने हो भने कर्मचारीतन्त्रप्रति जनताले औला ठड्याउने अवस्था आउन सक्छ । राज्यको प्रशासनिक संयन्त्रलाई हाक्ने कर्मचारीतन्त्रमा दक्षता र क्षमता आधारभूत कुरा हो । र, त्यसमा राष्ट्रप्रतिको वफादरी र उत्तरदायित्व त झनै महत्वपूर्ण सर्त हो । क्षमता हुने तर राष्ट्रको गौरवप्रति संवेदनशील नहुने हो भने त्यस्ता कर्मचारीहरु गौरनेले भने झै राज्यको रोग नै हुनसक्छ । नेपालको उच्चतहका कर्मचारीहरुले विदेशी नागरिकता हुन पाउने पिआर र ग्रीनकार्ड लिएको समाचारले अहिले सबैको ध्यान त्यतातिर केन्द्रीत भएको छ । त्यस्ता कर्मचारीको संख्या हाजार भान्दा माथि रहेको कुरा खुल्न आएको छ । यो विषयलाई लिएर सम्बन्धित सामान्य प्रशासन मन्त्रालय कारबाहीको लागि अगाडि बढेको छ । यो मन्त्रालयको मन्त्री लालबाबु पण्डितले त त्यस्ता कर्मचारीहरुलाई हनुमान ढोकासम्ममा पुर्याउने उर्दी नै जारिगरिसकेको छ । हो, कर्मचारीहरुको त्यस्तो काम सोहरै आना निन्दनीय छ र त्यस्ता कामलाई निरुत्साही र सजायको भागिदार बनाउने मन्त्रीको अठोट स्वागतयोग्य छ ।
कुनैपनि कर्मचारीले आफ्नो देशको सरकारी प्रशासनिक सेवामा काम गरिरहदा विदेशी नागरिक हुने लालायीत प्रदर्शन गर्नु भनेको राष्ट्रिय लज्जाको कुरा हो । यसले मुलुकको स्वभिमान र गौरवको धज्जी उडाएको हुन्छ । कम्युनिष्टहरुले कर्मचारीतन्त्रलाई वुर्जुवाहरुको हीतलाई संरक्षण गर्ने नवीन बर्ग भनेर भन्दछन् । उनीहरुकै भाषामा कर्मचारीहरु शासक बर्गको विश्वास पात्र भएर समाजको परजीविको रुपमा काम गर्दछन् । यो आरोपलाई पनि माथ खुवाउने गरी नेपालका केही गैरजिम्मेवार कर्मचारीहरुले व्यहोरा देखाएको कुरा त्यसरी खुल्न आएको छ । उनीहरुले त सामान्य नेपाली जनतालाई मात्र होइन कि बुर्जुवा वर्गलाई पनि ठेस लाग्ने काम गरे । किनकी राष्ट्रिय स्वभिमान र प्रतिष्ठाको विषय वर्ग निरपेक्ष हुन्छ ।
एउटा भनाइ छ– व्यूरोक्रेसी इज डिजाईन्ड बाई अ जिनियस टु बि रन बाई अ ईडियट (Bureaucracy is designed by a genius to be run by a idiot) । तत्पर्य यो हो कि कर्मचारीतन्त्र मुर्खहरुद्वारा संचालन गराउनको लागि क्षमतावानहरुद्वारा खाकाकृत तथा निर्माण गरिएको हुन्छ । कर्मचारीहरु दक्ष हुन्छ तर त्यसलाई मुर्ख (नेता) हरुले संचालन गर्दछन । राजनीतिक नेता मूर्ख भएतापनि कर्मचारीहरु सचेत र सजक हुन्छ भन्ने मर्म हो उक्त भनाइको । मुर्ख नेताहरु त पराश्रय मुखी भनेर आरोप लाग्नु स्वभाविक हो । तर सबै नेपालीले मन अड्याउने निकाय कर्मचारीहरुले पनि मति छाडने हो भने यो देशको हालत के हुन्छ ? हरेक विषयमा दक्षता हासिल गरेको हुनाले कर्मचारीहरुले मुलुकमा बहकिएको राजनीतिक नेताहरुलाई राय सुझाव दिनु पर्ने अवस्था हो यो । नेताहरु त मूर्ख हुन सक्ने नै भो । तर कर्मचारीहरुले पनि राज्यप्रतिको आफ्नो दायित्व विर्सिदिएर विदेशी भूमिमा पलायन हुनु भनेको आफ्नो देशप्रतिको धोका हो ।
सैद्धान्तिक तथा अवधारणागत नै कर्मचारीहरु राज्यप्रति जिम्मेवार र कर्तव्यनिष्ठ नभैदिने हो भने एक सार्वभौम मुलुकको नागरिक हुनुको कुनै गहनता नै हुदैन । तर विदेशको पि.आर र ग्रीनकार्ड लिएर जिम्मेवार तहमा रहने कर्मचारीहरु पलापिएको जो कोही नेपालीलाई सह्य कुरा होइन । खोक्रो स्वाभिमानको के अर्थ हुनसक्छ भन्ने प्रश्न आउन सक्ला, तर हामी गुदी बेगरको बोक्रा मात्रै हौ भन्ने वस्तुगत आधार छैन । मात्र, यो मुलुकमा राजनीतिक व्यवस्थापन हुननसकेको हो । सबै चिज यही स्वदेशमा छ ।
जहा संगठन हुन्छ त्यहा कर्मचारी हुन्छ । राज्यपनि एउटा विशाल राजनीतिक संगठन नै हो । राज्यमा निर्णय राजनीतिले गर्दछ र त्यसको कार्यन्वयन कर्मचारीतन्त्रले गर्दछ । राजनीति र कर्मचारीतन्त्रको सम्बन्ध नङ र मासु जतिकै हो । तिनीहरुको काम र कर्तव्य भनेको आफ्नो राज्यको स्वार्थप्रति प्रतिवद्ध रहनु हो । राज्यको सार्वभौमिक अखण्डतालाई कायम गरिरहनु हो । राज्यको प्रतिष्ठालाई उचो बनाइराख्नु हो । त्यसमा त झन राज्यको कामप्रति कर्मचारीहरु चुस्त र दुरुस्त रहिरहनु पर्दछ । राज्य सेवामा समर्पित र वफादार हुन्छु भनेर सेवाकार्यमा खटिसकेपछि दोश्रो मुलुकको नागरिक हुन्छु भनेर सोच्नुपनि गद्दारीपन हो ।
नेपालमा ७ सालमा प्रजातन्त्र आइसकेपछि निजामाती सेवालाई आधुनिकीकरण गर्नको लागि हालसम्म राज्यले ठूलो लगानी गरेको छ । गरिव नेपाली जनताको गास काटेर कर्मचारीहरुको भरनपोषण गरिएको छ । उनीहरुलाई नेपालको दक्षता अनुसारको तलब, भत्ता र पेन्सन दिइएको छ । दुइवटा सन्तान पाउदा मात्र सुविधा दिने कुरामा उनीहरुको सन्तान पाउने हक कुण्ठा भो भनेर जतिपनि सन्तान पाउदा त्यो सुविधाबाट बन्चित हुने अवस्थाबाट पनि मुक्त पाएको छ । सेवामा अरु दक्षता हासिल गरुन भनेर अध्यन विदा पनि दिइएकै छ । उच्च शिक्षा र तालिम लिउन भनेर पनि देशविदेश जाने सुविधा राज्यले दिएकै छ । राजनीतिक अधिकारबाट पनि बन्चित नहोस भनेर पेशागत संगठनको नाममा राजनीति गर्नपनि छुट दिइएकै छ । नेपालको कर्मचारीहरुले पाउनु पर्ने सुविधा र जीवन रक्षाको लागि राज्यले गर्नुपर्ने सारा काम गरिदिएकै छ । यति हुदा हुदैपनि नेपाली राष्ट्रियताप्रति झुकाव नहुनु जस्तो राज्य–अपराध अरु केही हुदैन । त्यस्तालाई सजायको दायरामा नल्याएर कस्लाई ल्याउने ?
नेपालको प्रशासनलाई मुलुक बनाउने उत्पादक शक्तिमा रुपान्तरण गर्ने दक्षता र सीप हुनुपर्नेमा लुकिछिपी विदेशी नागरिकता लिने कला केही कर्मचारीहरुले देखाएका छन् । सबै कर्मचारी त्यस्तो नहोला । तर केहीले गर्दा सिंगो कर्मचारीहरुलाई बदनाम बनाएका छन् । त्यो लज्जा कर्मचारीतन्त्रमा मात्र होइन, सिंगो नेपाली जनता भएको छ । विदेशी कहा अनुदान मागिएकै हो । खाद्यान्न मागिएकै हो । रोजगारी मागिएकै हो । तर अहिले त्यतिले नपुगेर आफु नेपाली हुनुको वास्तविकतालाई भुल्दै विदेशी नागरिकताको भिख माग्नु कम लज्जास्पद कुरो होइन । माग्नुको पनि एउटा मर्यादित सिमा हुन्छ । विदेशी पिआर र ग्रीनकार्ड कुन राष्ट्रिय भिखको सूचिमा पर्दछ ? त्यो खुट्याउने बेला आएको छ । जो राज्यको कर्मचारीहरु छन्, चाहे त्यो सेना होस् वा पुलिस, कोहीपनि पदमा रहदारहदै विदेशी नागरिक हुने चेष्टा राख्नु राम्रो कुरा होइन । आफ्नो गच्छे अनुसारको राज्यले उनीहरुको लागि वर्तमान र भविष्यको लागि सुविधा प्रत्याभूति गरिदिएको हुन्छ, बाकी जनतालाई भोकै राखेर भएपनि । हरेक आर्थिक वर्षमा विकास निर्माणको लागि भन्दापनि राज्यले उनै कर्मचारीको भरनपोषणको लागि भनेर पहिले बजेट छुटाउछ । कर्मचारीको लागि भैपरि आउने समस्या उनै राज्यले गरिदिएको हुन्छ । यति हुदाहुदैपनि त्यो कर्मचारीले राष्ट्रलाई भुल्न खोज्नु जघन्य अपराध हो ।
बिदेश जाने हो तर स्वदेशमै बस्ने हो । देश विदेश भ्रमण गर्नुपर्दछ । यो विश्वव्यपीकरणको युग हो । तर कुनै देशको राज्यको कर्मचारी भैसकेपछि उसलाई विदेशी बन्ने अधिकार छैन, त्यो पनि बहालमा रहदै । गोपनीयता तथा राष्ट्रियताको कारणले पनि त्यो उनीहरुलाई छुट हुनसक्दैन । त्यस्ता कर्मचारीले विदेशीको सामु नेपालीको साख गिराएको छ । सरकारी उच्च ओहदामा बस्ने मान्छेले नै विदेशी नागरिकताको लागि मरिमेटेपछि त्यो विदेशीले अरु नेपालीलाई हेर्ने दृष्ट्रिकोण के होला ?
“संसारदेखि नभाग, बरु यसलाई बदल” भन्ने राहुल साँस्कृत्यायनको भनाइ सान्दर्भिक छ । नेपाल अवस्य गरिब छ । यसलाई सम्पन्न बनाउने भनेको राष्ट्रसेवकले नै हो । देश बनाउछु भनेर सरकारी तलब खाएर उच्च ओहदामा पुगेको कर्मचारीहरु नै यो देशबाट भाग्ने हो भने यो देश कस्ले बनाउने ? देश चुसेर भाग्नेहरुलाई देश बनाउने सबक दिन अभियानमा लागेका सरकारको कदम स्वागतयोग्य छ । मन्त्री लालबाबु पण्डितलाई सलाम ।