भक्तपुर, १६ मङ्सिर
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को हालै संशोधित विनियम पारित नहुँदा स्वीस सरकारको सहयोगमा सञ्चालन हुने तीन वर्षे सीप परीक्षण विकास कार्यक्रम रोकिएको छ ।
राष्ट्रिय सीप परीक्षण समितिले सिटिइभिटी कार्यक्रमअन्तर्गत सन् २०११ देखि सन् २०१४ सम्म सञ्चालन हुने कार्यक्रम रोकिएको समितिका निर्देशक चन्द्रभक्त नकर्मीले बताए ।
सन् २०११ देखि २०१४ सम्म सञ्चालन गरिने कार्यक्रमको रुपरेखा तथा प्रतिवेदन समितिले तयार पारिसके पनि विनियम पारित नहुँदा स्वीस सरकारसमक्ष प्रतिवेदन बुझाउन नपाएको निर्देशक नकर्मीले बताए ।
स्वीस सरकारकै सहयोगमा सन् २००७ देखि २०१० सम्म समितिले सञ्चालन गरेको सो कार्यक्रम प्रभावकारी भएपछि यसै कार्यक्रमलाई निरन्तरता दिन स्वीस सरकारले थप सम्झौता गरी बजेटसमेत पठाइसकेको छ ।
सीप परीक्षणका क्रममा मूल्याङ्कन गर्ने व्यक्तिहरुलाई मानव संशाधन विकास गर्न, प्रश्नपत्र निर्माण, भौतिक पूर्वाधार निर्माण, मानव स्रोत एवम् जनशक्ति विकास, क्षमता अभिवृद्धिजस्ता तालिम सञ्चालन गरिने कार्यक्रम रहेको थियो ।
सन् २०१२ देखि सञ्चालन गर्ने गरी कार्यक्रम प्रस्ताव पेस गर्न नसके रु २२ करोडको अनुदान स्वीस सरकारले फिर्ता लैजाने भएको छ । रासस