हुम सुनारी मगर
साउदी अरब, चैत्र ८ – “अनिश खालिङ राई बचाउ अभियान” अन्तरगत साउदी अरबको जेद्धाबाट संकलित ६ लाख ८० हजार ४६२ रुपैयाँ अनिश खालिङ राईको डेढ वर्षिय छोरी ऋतु खालिङ राईको शिक्षाको निम्ति छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँमा अनिश खालिङ राई बचाउ अभियान समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा अनिश खालिङ राई बचाउ अभियान-जेद्धाका प्रतिनिधि अनिल कोयी राईले जेद्धामा संकलित रकमको चेक अनिशकी श्रीमती रबिता खालिङ राईलाई हस्तान्तरण गरे ।
अनिशको जीवन रक्षाको निम्ति ब्लड मनि बापत युएइको अदालतमा बुझाउनु पर्ने रकम आबस्यकता भन्दा बढी संकलन भइसकेको जानकारी प्राप्त भएकोले उक्त संकलित रकम राईका छोरीको उज्वल भविष्यको लागि छात्रवृत्ति बापत हस्तान्तरण गरिएको हो । अनिश खालिङ राई बचाउ अभियान जेद्धा, साउदी अरबका अभियन्ताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
छात्रवृत्ति कोषलाई ब्यबस्थित गर्न अनिश खालिङ राई बचाउ अभियान अन्तरगत साउदी अरब जेद्धाको सदस्य अनिल कोयी राई, अनिश खालिङ राई बचाउ अभियान मुल समितिका तर्फबाट संचार सयोजक प्रकाश खालिङ राइ, सदस्य मनिषा राई र परिवारको तर्फबाट खालिङ राई कि श्रीमती र बिता राई सम्मिलित एक समिति पनि गठन गरिएको छ ।
अनिश खालिङ राई की श्रीमती रबिता राईको संरक्षकत्वमा छोरी ऋतु खालिङ राईको नाममा नेपाल राष्ट्रिय बाणिज्य बैंकमा दश वर्षे मुद्दती खाता खोलि रकम जम्मा गरिएको छ ।
नेपाली सेवा समाज-जेद्धाका अध्यक्ष तथा समाजसेवी कृष्ण कुमार श्रेष्ठको संयोजकत्वमा गत फेब्रुवरी दोस्रो साता गठन भएको “अनिश खालिङ राई बचाउ अभियान-जेद्धा”ले फेब्रुवरीको अन्तिम सातासम्म अभियान संचालन गरेको थियो । उक्त अभियानमा जेद्धामा कृयाशिल संस्थाहरु: नेपाली सेवा समाज जेद्धा, आदिवासी जनजाती महासंघ-जेद्धा, नेपाली युवा क्लब जेद्धा, तामाङ घेदुङ साउदी, तमु धिं-जेद्धा, नेपाली सेवा समिति यान्बु, अलमराई कम्पनि बेकरी डिभिजन जेद्धाका नेपाली समुह लगायतको सहभागिता रहेको थियो ।