सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवसको

Read Time:21 Minute, 48 Second

भावना परिष्कृत सुनुवार

 

विगतको वर्षझैँ यो वर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवस मार्च आठको दिन आयो । प्रायजसो सबै नारीहरूको जीवन अति पिछडिएको एसिया, अफ्रिका लगायतका कैयौँ मुलुकमा फेरि एक पटक आठ मार्चको विशेष चर्चा छायो । यसै क्रममा आजको दिन हामी नेपाली सम्पूर्ण नारीहरू पनि १०४ औँ अन्तर्राष्ट्रिय नारी दिवस २०१४ लाई घरदेशदेखि परदेशसम्म विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरेर धुमधामले मान्ने क्रममा छौँ ।

प्रत्येक वर्ष मार्च ८ तारीखका दिन मनाइने नारी दिवस कुनै खुशीयालीको उत्सव नभएर आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक एवम् समाज र राष्ट्रको हर तह तप्कामा नारीहरूलाई पुरुष सरह समान हक अधिकार पाउनुपर्ने लैंगिक विभेदको अन्त्य गर्दै हर पक्षबाट राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार सुनिश्चित गरिनुको साथै महिला सशक्तिकरणको अभियानलाई विश्वव्यापीरूपमा बुलन्द पारिँदै मनाइने महान सङ्कल्प र अठोट बोकेर निरन्तर जारी राखिने अनन्तकालीन महायात्रा हो । अन्तर्राष्ट्रिय नारी दिवस आठ मार्च विशेष गरी नारी अधिकारसम्बन्धी चर्चा हुने मुख्य दिवस हो ।

प्रत्येक नारी दिवसमा एउटा एउटा मुख्य विषय (थिम) मा रहेर नाराहरू बनाइन्छ । प्रत्येक देशले आ–आफ्नै समसामयिक विषयहरूलाई समावेश गरी नाराहरू बनाएका हुन्छन् । यस १०४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको लागि नेपालको राष्ट्रिय नारा “महिला नेतृत्वका लागि हौँ जम्मा, घरदेखि संविधानसभा सम्म” रहेको छ भने अन्तर्राष्ट्रिय नारा “समानता महिलाका लागि, प्रगति सबैका लागि” रहेको छ । यी नाराहरूलाई नारामा मात्र सिमित नराखेर कार्यात्मक रूपमा अगाडि बढाउनु सदैव महत्वपूर्ण रहन्छ । यसरी नारी चेतनासँग सम्बन्धित नाराहरू निर्माण भई विकासको यस अवस्थासम्म आइपुग्नुमा नारी जागरणको सिंगो इतिहास जोडिएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्ने हो भने १०४ वर्ष अगाडिको पुरानो काल खण्डलाई हामीले स्मरण गर्नुपर्ने हुन्छ । २९ फेबु्रअरी सन् १९०९ ताका जसको प्रारम्भिक अध्याय लेखिने काम संयुक्त राष्ट्र संघमा सामाजिक, जागरुक र चेतनशील महिलाहरूबाट शुभारम्भ भएको थियो । त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा अन्तर्राष्ट्रिय महिलाहरूको बृहत भेला भएको थियो । जसमा १७ वटा देशका १०० जनाभन्दा बढी महिलाहरूले सहभागिता जनाएका थिए । श्रमिक महिलाहरूले पुरुषसरह समान ज्याला र बिदा पाउनुपर्ने, नारीमाथि सदियौँदेखि हरेक क्षेत्रमा हुँदै आइरहेको विभिन्न खाले अन्याय, अत्याचार, शोषण, दमन, हिंसा, विभेद जस्ता अनगिनत अमानवीय व्यवहारहरू प्रति खुलेर सङ्घर्षको श्रृङ्खलालाई अघि बढाउने जस्ता महान कार्यको थालनी भएको थियो ती साहसी नारीहरूबाट ।

 जसको फलस्वरूप लैङ्गिक विभेद, राजनैतिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, आर्थिक जस्ता क्षेत्रमा असमान हक अधिकारका विरुद्धमा आवाज उठाउँदै अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन सफल भए नारीहरू । त्यसपछि यस प्रकारको महिला जागृतिले सन् १९११ मा विभिन्न राष्ट्रमा पहिलो पटक अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रमको थालनी गराई छाड्यो । यही क्रमलाई निरन्तरता दिँदै रसियाले १९१३ मा ८ मार्चको दिन नारी दिवस मनायो । त्यस पश्चात ८ मार्चकै दिन प्रत्येक वर्ष सबै युरोपेली राष्ट्रहरूले नारी दिवस मनाउन थाले ।   सन् १९१७ ताका आइपुग्दा मार्च आठकै दिन रसियाका नारीहरूले विश्व युद्धको विरुद्ध, शान्तिको निम्ति, रोटीको निम्ति, प्रेमको निम्ति, महिलाहरूको मत अधिकारको निम्ति, पुरुषसरह समान हक अधिकारको निम्ति आवाज बुलन्द पारेका थिए । जसको फलस्वरूप रसियाका राजा (जार) ले नारीहरू (रसियाका) लाई पहिलो पटक मतदान दिन पाउने अधिकार सुनिश्चित गराएका थिए । यसरी नै सन् १९१७ देखि १९७६ सम्म मार्च आठले नारी दिवसको रूपमा निरन्तरता पाइरह्यो । सन् १९७७ मा संयुक्त राष्ट्र संघले नारी दिवस मान्ने सबै देशका नारी प्रतिनिधिहरूलाई बोलाएर ८ मार्चकै दिन प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै आधिकारिक रूपमा घोषणा गरेको थियो । त्यसपछिको समयमा बिस्तारै मार्च ८ को दिन नारी दिवस मनाउने क्रमले विश्वव्यापी रूप लिँदै गयो ।

महिलालाई राज्यको हरेक तह तप्कामा पुरुषसरह समान हक अधिकार, अवसर र पहुँच सुनिश्चित गरिनुपर्छ भन्ने मागसहित नेपालमा पनि अन्तर्राष्ट्रिय नारी दिवस मार्च आठलाई प्रत्येक वर्ष मनाइन्छ । नेपालको सन्दर्भमा नारी दिवसलाई महिलाहरूको समस्या समाधान र नारी मुक्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको करिब तीन दशक पार भइसकेको अवस्था छ । यद्यपि नारीहरूलाई समाजमा गरिने अमानवीय पशुवत व्यवहार र अन्य गनेर र भनेर नसकिने नारी समस्याहरू भने जहाँको तहीँ रहेको अवस्था छ । नेपाली महिलाहरूको हक अधिकार सुनिश्चित र महिला सशक्तिकरण गरिनु पर्ने कुरा माथि जति नै सवाल उठे पनि नारी उत्थान प्रभावकारी बन्न नाङ्गो दरिद्र अवस्थाले सिङ्गो मुलुकलाई नै गिज्याइ रहेको लज्जास्पद वातावरण छ । एकातिर समयको परिवर्तनशीलता सँगसँगै गणतान्त्रिक, लोकतान्त्रिक व्यवस्था भइसकेको अवस्था र संघीय, समावेशी लोकतान्त्रिक व्यवस्थाको क्रममा विभिन्न वर्ग, क्षेत्र र समुदायका जनताले आ–आफ्नो हक अधिकार सुनिश्चित गर्नका खातिर लागि परेको वर्तमान परिप्रेक्षमा आधा आकाश र आधा धर्ती ओगट्ने नारीहरूलाई पनि राज्यले समान हक अधिकार ग्यारेण्टी गर्नुपर्ने टड्कारो महसुस हुन थालेको अवस्था छ चेतनशील र जागरुक नारीहरूको जोड्दार कदमले गर्दा ।

ग्रामीण परिवेश र शिक्षाको उज्यालोबाट वञ्चित नारीहरूमाझ भने नारी मुक्ति र नारी दिवसको विषयले छुन अझै सकेको छैन । पिछडिएको, राज्यले अपहेलना गरेको दूर दराजका कैयौँ दुर्गम बस्तीमा पुरुषहरूको अवस्था नै दयनीय छ भने नारी र बालबालिकाहरूको अवस्था त कल्पना गर्दा मात्र पनि आत्मकम्पित गराउने खालको छ ।   भन्नलाई त नारी आमा, सासु, छोरी, बुहारी, दिदी, बहिनी, पत्नि, प्रेमिका आदि नाताबाट परिचित छिन् । देखावटी रूपको निम्ति सम्मानित र पुजित पनि छिन् तर बडा बिडम्बनाको कुरा वास्तवमा उनी आफ्नै लागि भने कहिले केही बन्न सकिनन् । सदा सर्वदा अरूकै निम्ति जिएर, अरूकै निम्ति समर्पित बनेर आफैदेखि ओझेल परिरहिन्, एकात्मकवादी पितृसत्तात्मक सोचको जाँतोमा पिसिएर धुलो पिठो भइरहिन् । आकर्षणको वस्तु बनाइएर चर्चा परिचर्चाका विषयवस्तु बनेकी छिन् । पुरुषहरूलाई आकर्षण गराउने दोष नारीमाथि थुपारेर सामाजिक रूपमा नारीको स्तरलाई तल पारिएको छ, ईज्जत र मानको धज्जी तारतार गरी पिडित बनाइएको अवस्था छ । कतै नारीलाई कतिपय आफन्त र भ्रष्ट चरित्र व्यक्तिहरू र नेताहरूले कोठीमा जाकी अविचि नरकमा सड्न बाध्य तुल्याएका छन् भने खुल्ला समाजमा बस्ने नारीहरूलाई हर तरिकाले जायज नाजायज बन्धनले जकडेर खुल्ला स्वास लिनबाट बञ्चित पारिएको छ । पिडित र उपेक्षित नारी बाँच्नुको नाममा निस्सासिँदै सास्तीको विष पिउँदै छट्पटिन बाध्य छिन् । शारीरिक, मानसिक, यौन, भावनात्मक, आर्थिक जस्ता थुप्रै विषयका घरेलु र सामाजिक हिंसाबाट ग्रसित र पिडित नारीहरूको मुक्तिको निम्ति ग्रामीण र अभेग ठाउँ गाउँसम्म चेतनाको लहर सवत्र फैलाउन अत्यन्त जरूरी छ ।

विगतदेखि वर्तमानसम्म पनि नेपालभित्र अन्तर्राष्ट्रिय नारी दिवस महिला हिंसा अन्त्य गर्नुपर्ने विषयमा केन्द्रित थियो र छ । नेपाल लगायत विश्वको प्रायःजसो ठाउँमा महिला माथिको हिंसा बढिरहेकोले हिंसा रोक्न माग गर्दै कार्यक्रमहरू भइरहेका छन् । यसरी महिला हिंसा बढ्नुको मूल कारण राज्यको कमजोर कानुनी प्रकृया र सामाजिक, धार्मिक, सांस्कृतिक कारणहरू पनि मुख्य जिम्मेवार छन् ।

आज यो अन्तर्राष्ट्रिय नारी दिवस ‘१०४’ मार्च आठ मनाइ रहँदा हामी नेपाली नारीहरूले आफ्नै देशभित्रका ती साहसी र महिला अधिकारवादीका जननीहरूलाई कदापि भुल्न सक्दैनौँ । मार्च आठको दिन विभिन्न विदेशी नारीहरूले महिला अधिकारको विषयमा उठाएको कदमलाई हामीले प्रत्येक वर्ष नै विभिन्न गोष्ठी, सेमिनार, बैठक, सभा र कार्यक्रमहरूमा थोर बहुत अवश्य चर्चा गर्ने गरेका छौँ । तर हामीले आफ्नै नेपालभित्रका नारी अधिकार र सम्पूर्ण मानव अधिकारको विषयमा उल्लेखनीय भूमिका निर्वाह गर्ने नारीहरूको भने कमै मात्र चर्चा गर्ने गरेका छौँ जस्तो लाग्छ ।

महिला अधिकारको विषयमा हामीसँग पनि छुट्टै इतिहासहरू छन् । नेपाल एकीकरणको समयदेखि नै नेपालका नारीहरूले आफ्नो भूमिका स्थापित गरेका छन् । तर त्यो इतिहासको कालखण्डदेखि हालसम्म कति नारीहरू परिचित भए, कति गुमनाम पारिए ती इतिहासको गर्वमै रहेका छन् । इतिहासकै पछिल्लो समयमा जहाँनिया राणा शासनको निरङ्कुशताको पराकाष्ठाको विरुद्धमा पनि केही नारीहरू जुर्मुराए उठेका थिए जसको जग खोतल्दै जाँदा हामी योगमाया न्यौपाने दिदीको नामलाई छाम्न पुग्छौँ । न्यायिक तथा समानतामूलक समाजको पक्षमा आवाज बुलन्द पार्दै बिद्रोहको राँको बाल्ने साहसी अग्रज महिला थिइन् योगमाया । समाजमा विद्यमान महिला हिंसा, वर्गीय विभेद, विभिन्न खाले अन्याय, श्रमशोषण एवं भ्रष्टाचारको विरोधमा आवाज उठाउने साहस जुटाइन् ती साहसी नारीले आफ्ना केही अनुयायीहरूको सहयोगमा । त्यो बेला निरङ्कुश जहानियाँ राणा शासनको कालरात्रि व्याप्त थियो मुलुकमा । योगमायाले डटेर जाहेरी गरिन् तत्कालिन राणा प्रधानमन्त्रि जुद्ध शम्शेरसमक्ष लैङ्गिक तथा सामाजिक असमानता र विभिन्न अन्याय अत्याचारको विरुद्धमा ।

उसबेला उनको त्यो जाहेरीप्रति आश्वासनको नाटक गरियो । यसरी धेरै समयसम्म पनि उनको जाहेरीको सुनुवाई कतैबाट भएन । पुनः योगमायाले आफ्नो यात्रालाई अगाडि बढाइन् । प्रचार प्रसार गर्दै माग पत्र, भिक्षा पत्र राख्दै गइन् । आफ्नो हर तरहको प्रयासले त्यसबेलाको निरङ्कुश जहानियाँ राणा शासनलाई कुनै प्रभाव नपरेपछि १९८७ मङ्सिर पूर्णिमाका दिन अरुण नदीको छेउ मजुवामा ठूलो यज्ञको तयारी गरिन् आफ्ना २४० जना अनुयायीहरू सहित अग्निमा जली आत्मदाह (प्राण त्याग) गर्ने निर्णयसहित ।

उनले सत्य धर्म भिक्षा भन्दै चेतावनीयुक्त २६८ वटा मागसहितको पत्र मार्फत तत्कालिन सरकार समक्ष पेश गरेकी थिइन् । जसमा समाज सुधार र सामाजिक न्यायको पक्षमा, महिला र विधवाको अधिकारको पक्षमा, सामाजिक विसङ्गति र विकृतिको रूपमा रहेका प्रचलन, अन्धविश्वास, घुसखोरी, श्रमशोषण, बजजङ्गल, वातावरण, चरन सुरक्षा, जातपात र छुवाछुत, लैङ्गिक तथा वर्गीय भेदभाव, मानापाथी, चर्को ब्याज आदिको नियन्त्रणसम्बन्धी विषय केन्द्रित थियो । तर आफ्नो जायज मागहरू पूरा हुनुको साटो उनले जेलनेल र कठोर सजाय भोगिन् । तैपनि उनले लडाईबाट हार मानिनन्, झन् तीब्र रूपमा अगाडि नै बढिन् । सरकारलाई चेतावनी दिँदै देशको निम्ति, निरङ्कुश शासनलाई एउटा कठोर दवाब दिनको लागि पुनः भौतिक ज्यान आहुति दिने योजना बनाइन् । त्यो दिन बि.सं. १९८८ साल असार २१ गते हरिशयनी एकादशीको दिन थियो । २४० जना अभियन्ता मध्ये ६८ जनाले निरङ्कुशताको अन्त्य होस् भन्ने आत्मसङ्कल्प गर्दै अरुण नदीको उर्लँदो भेलमा फाल हाली प्राणत्याग गरे । यसै असार २१ को दिनलाई हामी नेपाली नारीहरूले योगमायाको स्मृति दिवसको रूपमा मनाउनुपर्ने अवस्था यी विराङ्गनाको इतिहासले देखाउँछ भन्ने कुरामा कसैको दुई मत नहोला ।

मार्च आठ विश्व नारी दिवस मनाउनुका साथै क्यानाडामा तीन दिदी बहिनीले गरेको महायुगान्तकारी आन्दोलनको स्मरण गरिन्छ भने मार्च आठ अगाडि नेपालमा पनि हरेक वर्ष लैङ्गिक हिंसा विरुद्धमा १६ दिने नारी मुक्ति अभियान पनि चल्दै आएको छ । तर महिला अधिकार र न्यायिक एवं समतामूलक समाजका अभियन्ता आफ्नै देशका विभिन्न ज्ञात अज्ञात नारीहरूका साथै साहसी महिला योगमाया र ६८ जना जो संयुक्त रूपमा जल समाधि लिएको दिन असार २१ गतेलाई हामीले अहिलेसम्म सम्झना गर्न सकिरहेका छैनौँ । अब पनि हामी आफ्नै देशका नारीहरूले गरेको अतुलनीय भूमिका, महिला र समाजको समतामूलक अभियानको निम्ति उठाएइएका कदमलाई कदर गर्न जान्दैनौँ भने हामीले यो अन्तर्राष्ट्रिय नारी दिवस मार्च आठ मनाउनुको कुनै औचित्य नरहला, केवल एक दिनको भेला, भेटघाट र औपचारिकतामा मात्र सिमित रहने हुन जाला, जसले गर्दा कुनै सकारात्मक नतिजा आउने कुरामा पनि विश्वस्त हुन कठिन हुन सक्छ आफ्नो देशको परिपेक्षमा हेर्दा ।

त्यसैले हामीले हाम्रा ऐतिहासिक विराङ्गनाहरूलाई कदापि बिर्सनु हुँदैन । साथै वर्तमान समयका नारी मुक्तिका अभियन्ताहरू दिदी अनुराधा कोइराला, चरिमाया गुरुङ, सहाना प्रधान जस्ता कर्मशील नारीहरूबाट पनि सदा प्रेरित भई उहाँहरू जस्ता महिला अधिकारको विषयमा उल्लेखनीय योगदान पु¥याउने हाम्रै देशका नारीहरूको कार्यप्रति नतमस्तक हुँदै उहाँहरूको महानतालाई पनि सलाम गर्नुपर्ने हुन्छ ।

हो यसरी विश्वभरका नारीहरूले अन्तर्राष्ट्रिय नारी दिवस मार्च आठको दिनलाई विभिन्न खाले घरेलु हिंसा, सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक आदि विभिन्न क्षेत्रमा भइरहेको शोषण, दमन, उत्पीडनको विरुद्धमा आवाज उठाउँदै सङ्घर्ष गर्दै मान्दछन् । कतिपय प्रतिवेदनहरूले नारीको अवस्था सुधार भएको देखाइरहेको छ तर आजको बिकासको तुलनामा नगन्य मात्रामा भएको सुधारले उपलब्धीको पुष्टि गर्दैन । घरदेखि, आफ्नै छरछिमेकदेखि नारीहरू विभेद र हिंसा सुरु हुँदै पर अन्यत्रसम्म पलपल नारी कुनै न कुनै रूपमा हिंसाको शिकार भइरहेका छन् । पिँढी जति परिवर्तन भए पनि, समाज जतिसुकै शिक्षित र सभ्य कहलाइए पनि नारीप्रतिको सामाजिक सोच भने पुरानै संस्कारमा अड्केर बसेको छ ।

समाजको नराम्रो सोचलाई परिवर्तन गर्न अब हामी नारी आफै नजागे र नलागे कसैले हाम्रो लागि केही गरिदिने छैन । उच्च पदस्थ, शिक्षित, सम्भ्रान्त र शहरिया नारीहरूको अवस्था आम नारीहरूसँग नमिल्न सक्छ । यस अर्थमा उनीहरूको चासो आम नारीहरूको समस्याप्रति नजान सक्छ । तर पनि आफ्नो महाभारतको लडाई आफैले लड्नको निम्ति सबैले साहस जुटाउँदै र ठाउँदेखि गाउँसम्म विभिन्न माध्यमबाट चेतना फैलाउँदै गएको खण्डमा प्रत्येक वर्ष मार्च आठ अन्तर्राष्ट्रिय नारी दिवस मान्नुको औचित्य क्रमिक रूपमा साकार हुँदै जाने कुरा प्रति सकारात्मक आशा गर्ने अवस्था दरिलो बन्न सक्ने छ ।

प्रत्येक वर्ष मार्च आठमा अन्तर्राष्ट्रिय दिवस मान्नुको पछाडि कुनै खुशियालीको उत्सव थिएन र छैन पनि तर कामना गरौँ भविष्यमा खुशीयालीको उत्सव बनोस् भनेर ।

 

जय नेपाली नारी !

जय विश्वभरका नारी !!

जय नारी दिवस !!!

जय आदिबासी जनजाति महिला  !!!!

(लेखिका : नेपाल आदिवासी जनजाती महिला महासंघ बेलायतकी सचिव हुन )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %