सपनाका रंगहरु (कबिता)

निश्चल काउचा / कोरिया  

 

 

 

 

 

 

 

दुई गास भात निल्दै

एक मुठी सास झुण्डयाउदै

सुनौलो भविष्यको सपना खिपिरहेको हुन्छु

म यतै -कतै

गाई गोठहरुमा

बंगुर खोरहरुमा

टनेल हाउसहरुमा

मन्द बिष युक्त कारखानाहरुमा  

 

घाम निदाए पछि

संबेदनाहिन निष्पट अँध्यारो रातमा

म घस्रिने प्रयत्नमा हुन्छु

जिन्दगीको जुन नउदाउने हरेक रातहरुमा

म सुनौलो भविष्यको सपना खिपिरहेको हुन्छु  

 

म मेरो माटोमा फिर्दा

मेरा कयौ बसन्त बैशहरू झरीसकेका हुनेछन

र जिन्दगीको कयौ ॠतुहरू बदलीसकेका हुनेछन  

 

मेरो आगमनको स्वागत गर्न तम्सीरहेका

देउराली र भज्याङ्गका बुढा रुखहरू

आफु जस्तै सम्झेर

मलाई गिज्याउने छन

 

 

म रमिते र जोरोपारीहरूकै अगाडी

फाल हाल्दै गएर मेरी आमालाई अँगालोमा बाध्ने छु

मेरो आगमनमा

कन्दराका सुनगाभा

पखेरीको लालीगुरास मुस्कुराउदै

कोईलीको मिठो स्वरमा

चाउरी परेको मुहार चम्काउदै

बुढो पहाड नाच्ने छ

हिमाली हावा मन्द-मन्द बयेली खेल्दै

झरनाले मिठो धुन भर्ने छ

ती दृश्यहरू सारा जगतलाई प्रितीकर लाग्नेछ