कर्मठ, जुझारु, इमान्दार र योग्य दलबहादुर राना मगर नेता मन्त्री बने ।

Read Time:8 Minute, 34 Second

हुम सुनारी मगर, साउदी अरबिया

नव निर्वाचित प्रधानमन्त्री, सुशील कोइरालाको नेतृत्वमा नयाँ मन्त्री परिषदले लगभग पूर्णता पाएको छ । उक्त नयाँ मन्त्री परिषद्को महत्वपुर्ण मन्त्रालयहरु मध्य कै एक प्रमुख मन्त्रालय सम्हाल्न नेकपा एमालेबाट एक कर्मठ, जुझारु, त्यागी, इमान्दार र योग्य मगर नेता, दल बहादुर रानामगरलाई भूमिसुधार मन्त्रीमा नियुक्त गरिएको छ ।

 

को हुन् त दल बहादुर रानामगर ?

देश बिदेशमा रहनु हुने आम मगर तथा गैर-मगरहरुमा वहाँ बारे केहीलाई मात्र जानकारी भए पनि धेरैलाई जानकारी नहुन सक्छ । दल बहादुर रानामगर ०५१ को एमालेको नौ महिने सरकार मै मन्त्री भैसक्नु पर्ने एक सक्षम र योग्य व्यक्तित्व हुन् । तर, त्यति बेला अहिले जस्तो हरेक पटक नयाँ मन्त्री परिषद गठन हुँदा समाबेशिता भन्ने नहुने हुँदा ०५१ पछि एमाले पार्टी पटक पटक सरकारमा सामेल भए पनि उनको नाम कहिल्यै उठाएको थिएन । दल बहादुर रानामगर, पुर्बी पाल्पा गाँडाकोट-१, बर्दाकोट भन्ने गाउँमा एक निम्न किसान परिवारमा जन्मेका हुन् । एक बिपन्न किसान परिवारमा वहाँको जन्म भए पनि वहाँको बुबाले वहाँलाई उच्च शिक्षा सम्म पढाउने वातावरण मिलाइ दिएका थिए । उनि  सानै देखि पढाइमा अति नै तेज र लगनशील थिए । पुर्बी पाल्पा, उति बेला अति बिकट क्षेत्रको रुपमा गनिन्थ्यो ।

त्यस्तो बिकट क्षेत्रमा जन्मेर हुर्के पनि दल बहादुर रानामगरले कैयौं समस्याहरुसँग सामना गर्दै उच्च शिक्षा सम्म हाँसिल गर्न सफल भए । उनि पढाईको साथ-साथै चिकित्सा पेशामा पनि संलग्न थिए । पुर्बी पाल्पा तिर उनि डाक्टर साहब भनेर पनि परिचित छन्  र वहाँलाई प्राय: सबैले डाक्टर साहब भनेर सम्बोधन गर्ने गर्दछन्, आम मानिसहरुले । दल बहादुर रानामगर २०३८-३९ तिरै नेकपा मालेमा आबद्ध भएर राजनीतिमा सकृय भूमिगत राजनीति सुरु गरेका हुन् । पहिलो जन-आन्दोलन पछि पहिलो पटक ०४८ सालमा भएको संसदीय चुनावमा वहाँ पाल्पा क्षेत्र नम्बर १ बाट नेकपा एमालेको तर्फबाट सांसदको लागि उम्मेदवार बने । तर, केहि मतको अन्तरले मात्रै काँग्रेसका उम्मेदवार कालुराम रानामगरसँग पराजित भए । ०५१ मा भएको मध्यावधि चुनावमा वहाँ पुन: एमाले कै तर्फबाट उम्मेदवार बने र धेरै मतको अन्तरले काँग्रेसका उम्मेदवारलाई पराजित गर्न सफल भए । उन्ले धेरै अवधि सम्म नेकपा एमाले, जिल्ला समिति पाल्पाको नेतृत्व पनि सम्हाली सकेका छन् ।

एमाले पार्टी बिभाजन पश्चात ०५६ सालको चुनावमा दल बहादुर रानामगर मालेको तर्फबाट चुनाव लड्दा पराजय बेहोर्नु पर्यो । त्यो भन्दा अगाडी ०४९ मा भएको जिल्ला विकास समितिको चुनावमा उनि केहि मतको अन्तरले मात्रै जिल्ला सभापतिमा पराजय भएका थिए । ०६४ को पहिलो संबिधान सभाको चुनावमा उनि पुन: एमाले कै तर्फबाट सभासद निर्वाचित भए । दोश्रो संबिधान सभाको चुनावमा पार्टीले सभासद पदको लागि पुन: शिफारिस गरे पनि वहाँले पद लोलुप्ता देखाएनन् । तर, पार्टीले उनलाई समानुपातिक तर्फबाट उम्मेदवार बनाएको थियो । सोहि पार्टी कै उक्त क्षेत्रमा प्रत्यक्षबाट एमालेको बिजय भएको कारणले होला, वहाँले प्रयाप्त मत प्राप्त गरे पनि पार्टीले समानुपातिक सभासद्को सुचिबाट उनलाई हटाइयो । दल बहादुर राना मगरले पुर्बी पाल्पामा पुर्याएको योगदानहरुको कदर गर्ने योग्य रहेका छन् ।

त्यसको पहिलो उदाहरण, फोक्सिङ्गकोट-बिर्कोटको संयुक्त खानेपानी योजना, राम्दी (पाल्पा) देखि गैडाकोट (नवलपरासी) मोटर बाटो निर्माण, केलादीमा पाल्पा र स्यांग्जा जोड्ने काली नदि माथि पक्कि पुल, रामपुरलाई शहरीकरण विकास र आर्यभन्ज्यांग रामपुर सम्मको पक्कि मोटर बाटो निर्माण आदि रहेका छन् । फोक्सिङ्गकोट-बिर्कोटको संयुक्त खानेपानी योजना जुन, नेपाल कै ठुलो र अत्याधुनिक ग्रामिण खानेपानी योजना हो । दुइ किलोमिटर तलबाट हाइड्रो-पावर मार्फत फोक्सिङ्गकोट, झोकेदीको लागि पानी तान्ने र सिङ्गो बिर्कोट गाबिसको एक मात्रै विकल्प रहेको बिर्कोट देखि ८ किलोमिटर टाढा खानीखोलाको मुहानबाट खानेपानी सम्पन्न गर्न प्रमुख भूमिका खेलेका थिए नेता, दल बहादुर रानामगरले ।

दुई गाबिसमा रहेका जनताहरुलाई सदियौं देखि झेल्दै आएको खानेपानी समस्याको समाधान गर्न एक सफल नेता हुन्, दल बहादुर रानामगर । दल बहादुर रानामगर निम्न परिवारको पृष्टभूमि भएको र वहाँको रहन सहनमा पनि अति नै साधारण हुने गर्दछ । उनि जनताको घरमा गएर कहिल्यै पनि मिठो खाने र राम्रो बिस्तरामा सुत्ने गरेनन् । साधारण जनताले जस्तो जे खान्छ त्यहिँ खाना खाने र एउटा गुन्द्री अनि काठको पिर्का सिरानी गरि सुत्ने गर्थे उनि, जनताको घरमा । पछिल्लो समयमा पुर्बी पाल्पामा यातायातको राम्रै सुबिधा भए पनि अन्य नेताहरुले जस्तो सरकारी सवारी साधन प्रयोग नगरीकनै प्राय: सबै गाउँ गाउँहरुमा पैदल नै हिडेर जनताको मर्का बुझ्ने नेता हुन्, दल बहादुर रानामगर ।

पुर्बी पाल्पाको सबै गाउँहरुमा हरेक जातजातिहरु बसोबास गर्दछन् । तर, उनिले ति जनताको घरमा बास बस्न र खाना खानको लागि कहिल्यै पनि जातपात छुत्याएनन् । मगर, बाहुन, नेवार र दलित जो सुकैको घरमा गएर खाने बस्ने गर्दछन्, नेता दल बहादुर रानामगरले । नेता, दल बहादुर रानामगरको श्रीमती र दुइ छोराहरु छन् । जेठो छोरा, प्रकाश रानामगर हाल बेलायती शेनामा कार्यरत छन् भने कान्छो छोरा, सन्तोष रानामगर ५ बर्ष अगाडी फिलिपिन्सबाट पाइलट उतिर्ण गरि हाल काठमाडौँमा बस्दछन् । एक इमान्दार मगर नेता, दल बहादुर रानामगर एक महत्वपुर्ण मन्त्रालयको मन्त्री पदमा नियुक्त हुनु सफल भएकाछन्  ।

वहाँको सफल कार्यकालको लागि देश बिदेशमा रहनु हुने लाखौ मगरहरुले कामना गरौँ र वहाँको कार्यकालमा आम नेपाली जनताले भुमि ब्यबस्थापनमा अनपेक्षित सुधार होस्, यहिँ छ हाम्रो राना मगरलाइ शुभ कामना ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %