न्यू योर्क स्थित अमेरिकामा बसोबास गर्ने नेपालीहरु द्वारा नेपालका प्रथम शहीद लखन थापा मगरको १३७ औं स्मृति दिवस मनाएकै दिन नेपालका नयां प्रधानमन्त्री सुशिल कोईरालाई महामहिम दुर्गाप्रसाद भट्टराई ,संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोग मार्फत ज्ञापन पत्र पठाईएकोछ ।
आयोजक संस्थाहरुद्वारा नेपालका प्रधानमन्त्री सुशिल कोईरालाई पठाएको ज्ञापन पत्र !
सम्माननीय प्रधानमन्त्री सुशिल कोईराला ज्यू,
प्रधानमन्त्रीको कार्यालय
सिंहदरबार, काठमाडौं, नेपाल
मार्फत,
महामहिम दुर्गाप्रसाद भट्टराई ज्यू,
संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोग
न्यू योर्क, अमेरिका
बिषय: नेपालको प्रथम शहीद लखन थापा मगरलाई मान्यता दिइयोस् ।
सर्बप्रथम यहाँ नेपालको सैतिसौ प्रधानमन्त्रीकोरुपमा निर्बाचित हुनुभएकोमा अमेरिकाबाट यहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै तपाईंको कार्य काल पूर्ण सफल होस् भन्ने कामना गर्दछौं ।
जहानीयाँ राणा शासनको बिरुद्ध लड्दा तत्कालिन राणा शासकहरुद्वारा झुन्ड्याइ मारिनु भएका कप्तान लखन थापा मगरलाई नेपालको प्रथम शहीदको मान्यता प्रदान गर्न बिगत दुई दशकदेखि नेपाल र विश्वभर रहेका नेपालका बिभिन्न समुदाय र संघ संस्थाहरुले नेपाल सरकार समक्ष्य गर्दै आएको मागलाई नेपालको बिगतका सरकारले पुरा नगरेको हुँदा हामी (नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, गैर आवासीय नेपाली संघ अमेरिका, नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली मंच अमेरिका, नेपाली तराईन संघ अमेरिका र संघिय लिम्बुवान समाज अमेरिका) कप्तान लखन थापा मगरलाई यथाशीघ्र नेपालको प्रथम शहीदको मान्यता प्रदान गर्न माग गर्दछौं ।
शहीद लखद थापा मगरको जन्म वि. सं. १८९१ मा नेपालको गोर्खा जिल्लाको बुङ्कोटमा भएको थियो भने उनी बि. सं १९३३ (सन् १८७६) को फागुनको पहिलो हप्ता जहानीयां राणा शासकहरुद्वारा तत्कालिन शासन सत्ताको बर्खिलाप सशस्त्र बिद्रोह गरी जनतालाई अन्याय र दासताबाट मुक्ती दिलाउने प्रयास गर्दा राष्ट्र द्रोहको आरोप लगाई उनकै गाउँ काहुले, गोर्खामा राणाशाही सैनिक पठाइ झुन्ड्याइ मारिनु भएको थियो । यसरी आधुनिक नेपालको ईतिहासमा पहिलो साँगठनिक जन-बिद्रोहकोरुपमा ईतिहासकारहरुद्वारासमेत चर्चित उक्त घटनाबाट शहीद लखन थापा मगर नेपाली आधुनिक ईतिहासका पहिलो शहीद बन्नु भएको थियो। उनलाई प्रथम शहीदको मान्यता दिनु शिर्फ उनको मात्र सम्मान गरेको ठहर्दैन बल्की देशकोलागि बलिदान गर्ने सम्पूर्ण शहीदहरुप्रति सच्चा आदर र श्रद्दान्जली हुनेछ।
सम्माननीय प्रधानमन्त्री ज्यू,
यहाँलाई जानकारी रहोस, अमेरिकाबाट फेब्रुवरी १३,२०११ मा मगर संघ अमेरिकाले आयोजना गरेको १३४ औं स्मृति दिवस कार्यक्रमको प्रमुख अतिथि संयुक्त राष्ट्र संघकोलागि नेपालको स्थायी उपप्रतिनिधि शंकर बैरागीज्यूमार्फत तत्कालिन सम्माननीय प्रधानमन्त्री झलनाथ खनालज्युलाई र फेब्रुअरी १०, २०१३ मा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना गरेको १३६ औं स्मृति दिवस कार्यक्रमको प्रमुख अतिथि संयुक्त राष्ट्र संघकोलागि नेपाली स्थायी नियोग कार्यलय न्यू योर्ककी कार्यकारी प्रमुख सेवा लम्साल अधिकारीज्यूमार्फत तत्कालिन सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूलाई यसै व्यहोराको ज्ञापन पत्र पठाई सकिएको छ ।
अत: नेपालको प्रथम शहीद लखन थापा मगरको १३७ औं स्मृति दिवस मनाई रहेको अवस्थामा तपाई नेपालको ३७ औं सम्माननीय प्रधानमन्त्रीज्यूबाट नेपालको प्रथम शहीद लखन थापा मगरलाई प्रथम शहीदको मान्यता प्रदान गर्नुहुनेछ भन्ने विश्वाशकासाथ,
फेब्रुअरी १६,२०१४
लुईसाङ वाईबा तामाङ
अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना), अमेरिका
शिवकुमार राई
अध्यक्ष, गैर आवासीय नेपाली संघ, अमेरिका (NRN USA)
सुबर्ण लामा
प्रतिनिधि, नेपाली जनसम्पर्क समिति, अमेरिका
कृष्ण लामिछाने
केन्द्रिय सदस्य, प्रबासी नेपाली मंच, अमेरिका
अनिकेत शाह
अध्यक्ष, नेपाली तराईन संघ – न्युयोर्क, अमेरिका
बुध्द चेमजोङ लिम्बु
प्रतिनिधि, संघिय लिम्बुवान समाज, अमेरिका