मंसीर १४ नवलपरासी
राष्ट्रपति डा रामबरण यादवले लोकतान्त्रीक गणतन्त्र संस्थागत हुन नसकेकोमा चिन्ता व्यक्त गरेकाछन् । नवलपरासीको सदरमुकाम परासीमा आज देखि संचालन भएकोे पश्चिामाचंल स्तरिय औद्योगीक ब्यापार मेला एवम नवलपरासी महोत्सब २०६७ को उद्घाटन गर्दै राष्ट्रपति यादवले गणतन्त्र संस्थागत गर्न राजनैतिक दलहरु बीच समझदारीको आवश्यक रहेको बताए । देशमा रहेका मुख्य तिन दलको जिम्मेवारी बढि भएको बताउदै यादवले गणतन्त्र संस्थागत गरि समयमै लोकतान्त्रिक संविधान जारी गर्न दलहरुलाई सुझाव दिए ।
उनले पार्टीहरुले समुन्द्र मन्थन गरेर भएपनि तोकिएकै समयमा लोकतान्त्रिक संविधान बनाउनु पर्नेमा जोड दिए । शान्ति नै मुलभूत कुरा रहेको बताउदै राष्ट्रपति यादवले सम्पूर्ण नेपालीले मुलुकमा स्थायि शान्ति चाहेको औल्याउदै हतियारको राजनीतिलाई समाप्त गरि देशमा शान्ति स्थापना गर्न सबै पक्ष संग आग्रह गरे । राष्ट्रपति यादवले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय स्वाभिमान कायम राख्दै सबै नेपालीहरु एकताबद्ध भई जानुको विकल्प नरहेको पनि बताए ।
आर्थिक परिवर्तनका लागि निजी क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताउदै यादवले त्यसका लागि शान्ति आवश्यक भएको बताए । उद्योग वाणिज्य महासंघका अध्यक्ष कुश कुमार जोशीले देशमा शान्ति छाए मात्र आर्थिक क्रान्ति हुने बताए । आर्थिक क्रान्ति विना देशको विकास संभव नभएकाले राज्यले मुलुकमा शान्तिको वाताबरण मिलाउनु पर्नेमा जोड दिए । उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष बैजनाथ जयसवालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा कृषि तथा सहकारी मंत्री मृगेन्द्र कुमार सिंह, पर्यटन मंत्री शरद सिंह भण्डारीले देशको आर्थिक परिवर्तनमा निजि क्षेत्रका व्यवसायीहरुको महत्वपुर्ण भुमिका रहेको बताए ।
गोविन्द घर्ती