मनोज घर्तीमगर / पोखरा
दुई दिनदेखि पोखराको आकाश खुलेको थिएन । शनिबार पनि झिमझिम पानी बर्सन थाल्यो । कन्सर्ट बिथोलिने पीरले संगीतप्रेमीलाई सतायो । ‘नेपथ्य’ लाई साथ दिन दर्शकले पानीको परवाह नगरि ओइरिए । टिकदर अनुसार प्रवेशद्वार । सुरक्षाकर्मीको उपस्थिती उत्तिकै बाक्लो । चार नबज्दै दर्शक पोखरा प्रर्दशनी केन्द्र आउन सुरु गरिसकेका थिए । घडिको सुइले पाँच बजाउँदा दर्शकको भिड यति बढ्यो कि सुरक्षाकर्मीलाई थाम्न हम्मे भयो । चर्चित नेपाली लोक रक ब्याण्ड ‘नेपथ्य’ले पहिलोपटक आफ्नै थलो पोखराको खुला आकाश मुनि कन्सर्ट गर्दै थियो । त्यही कन्सर्टमा गीत सुन्न प्रदर्शनी केन्द्रमा दर्शकको ओइरो लाग्यो ।
घडीले ६ बजेको संकेत गर्नासाथ कार्यक्रम स्थल ताली र ‘नेपथ्य…नेपथ्य’ आवाजले गुन्जियो । चर्को स्वर नथामिएपछि पर्दामा सा… कर्णाली गीत बज्यो । दर्शक केही बेर थामिए । सिमसिमे पानीको परबाह नगरि आएका दर्शकले पर्दामा देखाइएको गीत सुनेर चित्त बुझाउने कुरै थिएन । भिड बेस्मारी कराउन थाल्यो । उमेरले अधँवैसे देखिने, तिलचाम जस्तो केहि काला, केहि कपाल फुलेका । महिलाले जस्तै कपाल पालेका । घाँटीमा रातो मफलर । लेदर ज्याकेट र जिन्स पेन्टमा गायक अमृत गुरुङ बल्ल स्टेजमा देखिए, ‘मेरो कहानी…’ गीत गाउँदै । चिसिएको मौसममा पोखरेलीले न्यानो स्वागत गरे । दर्शकले ताली पिटे, भिड शान्त भयो ।
किबोर्ड, मादल, गीतार र ड्रमको आवाज गुन्जियो । नेपथ्य ब्यान्डका सहकर्मीसँगै अमृतले गाउन सुरु गरे । वर्षा पनि बिस्तारै थामिदै गयो । ‘मायाको याद मिठो…’ गीत गाउँदै अमृतले दर्शक तताउन थाले । दिनभर घामको मुख देख्न नपाएका पोखरेली दर्शसामु बेलुकीको जून उदाउन थाल्यो । जब ‘छेक्योछेक्यो देउराली डाँडा हुस्सु र कुइरोले…’ गाए । अघिसम्म चिसोले कठ्याङ्ग्रीएका दर्शक तातिन सुरु गरे । बुबाआमा, बाजेबज्यै, दाजु भाई, दिदीबहिनी, फूपू सबैलाई चिसो झरीमा स्वागत छ है…भन्दै दर्शकलाई उक्साए । पृष्ठभूमिबाट जब ‘हरे…’ शब्द उच्चारण भयो, प्रर्दशनी केन्द्रमा रहेका दर्शक जुरुक्क उठे । त्यतिबेलै अमृतले गाउन थाले, ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना…।’
‘उँभै जाने सिमली भुवा, उँधै जाने खोला
जमराजाले क्षेमाराखे, जमराजाले क्षेमा
जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’
कन्र्सट एकाएक तातियो । अमृतको जोस पनि बढ्दै गयो । लगातार गीत सुनाएर दर्शकलाई नचाइरहे । कन्सर्टमा सबैजना अनिसपसिन भए । देशविदेशमा थुप्रैपटक हजारौं दर्शक सामुन्ने गाइसकेका अमृत आफ्नै थलोमा प्रस्तुत हुँदा खुब फुर्किए । ‘अरु ठाउँमा गाउँदा मेरा दर्शक र स्रोता मात्रै हुन्छन् । पोखरामा मसँगै हुर्केका साथी, अग्रज, भाईबहिनी, काकाकाकी पनि सामुन्ने देख्छु’ कटुवाल शैलीमै अमृतले मञ्चबाटै घोक हाले, ‘आफ्नै ठाउँमा आएर गाउन पाउँदाको मज्जा बेग्लै हुने रै’छ । आफुले हेरेर हुर्केका हिमालकै सामुन्ने गीत गाउने अवसर पहिलोपटक जुरेको छ । हो कि होइन ।’ अमृतको भनाइमा दर्शकले ताली र ‘हो मा हो’ मिलाए ।
‘चरी मर्यो शिसैको गोलीले’, खान्न मत लामपाते सुरती, जोमसोमै बजार, उडायो रेलैले, जोमसोमै बजार, यो जिन्दगानी, र मेरो कहानी गीत गाउँदा कोही दर्शक बसेनन् । सबै आआफ्नो ठाउँमा कम्मर मर्काउन थाले । भ्यालेनटाइन डे जोडीदेखि प्रौढ, बालबालिका, युवा सबैले अमृतका गीतमा नाचेर साथ दिए । पोखरा नजिकै पुम्दीभुम्दी कालाबाङमा जन्मेका अमृत गाउँदै गर्दा घरेलु दर्शकमाझ देशप्रेमका, गामबेंसी पनि सम्झिए । २०२९ सालमा पहिलोपटक पोखरा झरेको सम्झिदै अमृतले त्यो बेलाको पोखरा स–साना घरको वस्ती, सफा, सानो बजार, शान्त र सेती नदी पनि सफा रहेको सुनाए । ‘अहिले पोखरा र सेती नदि फोहोर भएको छ । त्यसैले मिलेर सफा गरौं हय…’ उनले स्टेजबाटै भने । खराब मौसमलाई वेवास्ता गर्दै ओइरिएका दर्शक देखेर अमृत झन् हौसिए । ‘हिमाल नदेखिए पनि हिमालजस्तै पोखरेली दर्शकका अगाडी गाउन पाउँदा धेरै खुसी छु’ उनी चिच्याए ,‘यस्तो खराब मौसम भए पनि तपाईहरुले दिएको साथले हाम्रो हौसला बढाएको छ ।’
‘भेडाको ऊनजस्तो’ ‘रेशम’, ‘तालको पानी’, ‘मै नाचें छमछमी’, ‘जाउँ भने जाउ“ त नि’ ‘हिमाल चुचुरे, दाइको मन कस्तो बानी निष्ठुरे’ गीतले ‘वान्स मोर…’ भनिरहे । कुनै पनि कार्यक्रममा दुई पटक नगाउने अमृतले यहाँ पनि कुनै गीत दोहोर्याएनन् । देशभक्तिपूर्ण गीत ‘गाउँगाउँबाट उठ…’, ‘रातो र चन्द्र सूर्य…’, बोलका गीतमा पनि दर्शकले त्यतिकै साथ दिए । यीनै गीत गाएर नेपथ्यले ठिक ८ बजे दुईघन्टे कन्सर्ट सकायो । अमृतलाई गाउँदा ड्रममा धुव्र लामा, बेस सुविन शाक्य, मादल शान्ती रायमाझी, किबोर्ड सुरज थापा र गीतारमा निरजले साथ दिएका थिए । गत वर्ष बेलायतको वेम्बले एरेनामा सम्पन्न कन्सर्टदेखि पोखरेलीले नेपथ्यलाई घरदैलोमा सुन्ने चाहना राखेका थिए । कडा सुरक्षाकाबिच व्यवस्थित कन्टर्समा नेपाल प्रहरी, शसस्त्र प्रहरी र गु्रप फोर गरि करिब तीन सय सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
नेपथ्यलाई सुन्न दर्शक एक हजार नौ सय ९९, नौ सय ९९, चार सय ९९ र दुई सय ९९ रुपैंयाको टिकट किनेर कन्सर्ट पुगेका थिए । उनीहरु पुरै अबधी बसे । ‘नेपथ्य’ले गत महिना मात्रै ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गगत देशव्यापी कन्सर्ट गरेको थियो । आयोजक ‘नेपालय’का अनुसार यो खुला कन्सर्ट ‘शान्तिको लागि शिक्षा’कै निरन्तरता हो । सन् २००० देखि २०१४ सम्मै ‘शान्तिको लागि शिक्षा’ र ‘सुन्दर शान्त नेपाल’ गरेर दुईवटा अभियानमा ‘नेपथ्य’ले आफुलाई पटक–पटक मुलुकभर प्रस्तुत गर्दै आएको छ ।