बेलायत
९ फरवरी २०१४-गोर्खा सत्याग्रह आन्दोलन अन्तिम तर महत्वपूर्ण चरणवाट गुज्रिरहेको छ । यो आन्दोलन गोर्खाजन्य संगठनहरुको संयुक्त आन्दोलन भनिए पनि केही महिना अगाडिसम्म यो आन्दोलनको निस्वार्थता, इमान्दारीता, यसले गरेको वलिदान, यसको लक्ष्यहरु र यो आन्दोलनको माध्यमवाट साढे दुईदसक लामो सघन आन्दोलनवाट हासिल हुन नसकेको महान उपलव्धि अहिले हासिल भएको यथार्थलाई आत्मसात गर्न नसक्दा कति गोर्खाजन्य संगठनहरुले आफ्नो कित्ता कुन हो खुट्टयाउन सकेका थिएनन । ढीलो चाडो सत्य स्थापित हुन्छ भन्ने कुरा हाम्रो सवालमा पनि खरो उत्रेको छ ।
यो सचेत दुनियालाई ससक्त सामाजिक सन्जालको माध्यमवाट प्रष्ट भएको छ कि गोर्खा सत्याग्रह आन्दोलनले के गर्यो ? र गोर्खाहरुलाई यो आन्दोलनवाट के प्राप्त भएको छ ? मुठीभर वुढापाका, सिदासाधा गोर्खाहरु दिगभ्रमीत भएर सत्यको पहिचान गर्न नसके पनि हामीभन्दा धेरै सचेत दुनियाँ दिगभ्रमित भएको छैन । हाम्रो आन्दोलन, हाम्रो भूमिका तथा त्यागलाई यो विश्वले नजिकवाट हेरीरहेको छ । कसले के गर्यो, कसले के भनिरहेको छ निर्मम इतिहासले पनि त्यसको लेखाजोखा गरीरहेको छ । सही र सत्य भन्ने र सही र सत्य गर्नेहरुलाई निसन्देह इतिहासले पुरस्कृत गर्ने छ भने गलत भन्ने र गर्नेहरुलाई निर्दयी ढङगले दण्डित गर्ने छ । यसमा हामीलाई कुनै पीडा छैन, अन्तराष्ट्रिय समाज र इतिहासले उचित समयमा आफ्नो अहम कर्तव्य पुरा गर्ने नै छ ।
१.एकता
हाम्रो अथक प्रयासको परीणाम स्वरुप नेपाल र वेलायत दुवै मुलुकमा सक्रिय गेसो वाहेकका सम्पूर्ण गोर्खाजन्य संगठनहरु अन्ततः गोर्खा सत्याग्रह आन्दोलनमा होमीन आईपुगेका छन । यसलाई पनि हामीले महान उपलव्धि ठानेका छौ । विभाजीत भएर होइन आपसमा जुटेर कुनै पनि समस्या हल हुन सक्छ । यसवाट अरु नेपालीले पाठ सिक्न जरुरी छ । त्यसैले एकताको सन्देश दिनको लागि गत फेब्ररी २ तारीख अपराहान्न अल्डरसटमा एउटा विशाल आमसभाको आयोजना गरीएको थियो । उक्त दुर्लभ एकिकृत आमसभामा वीजीडव्लुएसका अध्यक्ष मेजर (रीटार्यड) टिकेन्द्रदल देवान तथा व्रिटिस काउनसील अफ गोर्खाजका अध्यक्ष मेजर (रीटार्यड) डेभीड ओएन्सले पनि सारगर्भीत सम्वोधन गरेका थिए ।
मानिसहरु यती उत्साहित थिए कि सभा कक्ष खचाखच भरीएको थियो र धेरै मानिसहरु कुर्सीमा नआएता पनि घण्टौ उभिएर हाम्रा कुराहरुलाई उनीहरुले ध्यानपूर्वक सुनेका थिए । यस्तै एकताको आमसभा आगामी फेब्ररी १६ तारीख लन्डनको हयारोमा सम्पन्न हुन गइरहेको छ । र, फरवरी २३ तारीख स्वीनडनमा हुने निश्चित भएको छ । आवश्यकता महसुस भए अन्य ठाउंहरुमा पनि यस्ता आमसभाहरुको आयोजना निकट भविष्यमा गरीने छ । यी आसभाहरुको प्रमुख लक्ष्यहरु भइरहेका र भविष्यमा हुने सत्याग्रह आन्दोलनका गतिविधिहरु वारे जानकारी गराउने र यसको विरुद्दमा सृजना गरीएका नितान्त मनोगत र अवान्छित भ्रमहरुलाई खण्डन / मण्डन गर्नु हुनेछ ।
२.सर्वदलीय संसदीय समितिका सांसदहरुसंग भेट
यो सिलसिलामा फोक्सर्टनका सांसद माननीय डामीएन कोलीन्स र थरककी सांसद माननीय ज्याकी डोयेल–प्राईसलाई उनीहरुकै कार्यकक्षमा भेटने काम सम्पन्न भएको छ । ज्याकी डोयेल–प्राईस उक्त महत्वपूर्ण ऐतिहासिक समितिको अध्यक्ष रहेकी छिन भने डामिएन सदस्य रहेका छन । विशेष गरी अध्यक्ष ज्याकी डोयेल–प्राईस गोर्खाहरुलाई समानता, न्याय र सम्मान प्राप्त होस भनेर तन, मन र वचनले आफ्नो कर्तब्यमा लागी परेको हामीलाई अनुभूति भएको छ । उनलाई अन्य निकायहरुले पनि आवश्यक सम्पूर्ण सहयोग गरीरहेका छन भन्ने कुरा उनैले गत २२ जनवरीका दिन किङ जर्ज फिफ्त स्टयाचु, लन्डनमा आयोजित एभिडेन्सको हार्ड कपी उनलाई वुझाउने समारोहमा हार्ड कपि वुझे पछि भनेकी थिइन ।
वेलायतको प्रजातन्त्र कसैलाई काख र कसैलाइ पाखा राख्ने प्रजातन्त्र नभएको हुनाले गोर्खाहरुको समस्या अन्तिम पटक सदाको लागि हल गर्नु पर्छ भन्ने दृढ धारणा राखेकी थिइन । त्यो समितिको अन्य चार सांसदहरु पनि गोर्खाहरुको सघन वसोवास भएको स्वीनडन, कोलचेस्टर, व्रेकन र पलमस्टेडका भएकोले तिनीहरुलाई पनि यथासक्दो चाडो भेटने प्रायास भइरहेको छ । कोलचेस्टरको सांसदलाई यही फरवरी २० र पलमस्टेडको सांसदलाई फरवरी २१ मा उनीहरुकै कार्यकक्षमा भेटने निश्चित भएको छ । अरु दुइ सांसदहरु संग पनि समय लिने प्रयास भइरहेको छ । उनीहरुलाई भेटने कुराले हाम्रा मागहरु पुरा गर्न निक्कै महत्व राख्ने हुनाले धेरै दिनदेखी प्रयास भइरहेको भए पनि उनीहरुको व्यस्तता र केही प्राविधिक कारणहरुले गर्दा आजसम्म सम्भव नभए पनि आव चाडै ती कामहरु सम्पन्न हुनेछन ।
३.आर्थिक सहयोग
जहाँसम्म आर्थिक सहयोगको कुरा छ, थाहा छ विगतमा तपाईहरुवाट धेरै पैसा उठाइएको छ । तर त्यसवाट कसैलाई घाटा भएको छैन, फाइदा नै भएको छ । त्यसैको परीणाम स्वरुप आज हामी याँहा छौ । एकपटक छातीमा हात राखेर सोचौ । यसपटक पनि कसैलाई घाटा हुने छैन, त्यसकारण पुनः एकपटक मुठी केही खुकुलो गरौ हामी सवैको हीत हुन्छ । अरुलाई प्राप्त भए मलाई पनि हुन्छ भन्दै तर्किएर हिन्नु घोर अनैतिकता, भ्रष्टता र अपराध हो । त्यस्ता व्यक्तिहरुवाट समाज र मुलुकलाई जहिले पनि वेफाइदा भइरहेको हुन्छ । तिनीहरुले सधै सिंगो मानवजातिलाई नै धोक्का दिइरहेका हुन्छन । खवरदार !
४.प्रतिवेदनको नेपाली उल्था
सवैलाई प्रष्टरुपमा वुझ्न सजिलो होस भन्ने उद्देश्य राखेर ज्याकी डोयेल–प्राईस समितिलाई वुझाइएको अंग्रेजीमा लेखीएको प्रतिवेदन नेपालीमा उल्था गरीएको छ । त्यसलाई तत्काल छाप्नको लागि नेपाल पठाइएको छ । अव एक हप्त्ता भित्रमा वेलायत आईपुग्ने छ । त्यो एउटा ऐतिहासिक दस्तावेज भएको हुनाले हामी तपाईहरु सवैलाई यथासम्भव चाडो उपलव्ध गराउने छौ ।
५.मौखीक सुनुवाई
हामीले हाम्रो तर्फवाट सर्वदलीय संसदीय ज्याकी डोयेल समितिलाई लिखित प्रतिवेदनको हार्ड कपि गत २२ जनवरीको दिन किङ जर्ज फिºत स्टयाचुमा गोर्खाहरुको वृहत, गरीमामय उपस्थितिमा समितिकी अध्यक्ष ज्याकी डोयेल–प्राईसलाई औपचारीकरुपमा हस्तान्तरण गर्ने काम भयो । उक्त समिति खुला र पारदर्शी भएको हुनाले विश्वका कुनै पनि रुची भएका संस्था वा व्याक्तिहरुलाई उनीहरुलाई सही लागेको प्रतिवेदन वुझाउने अधिकार भए वमोजीम धेरैले वुझाएको हुनाले उक्त समितिमा स्वभाविकरुपमा प्रतिवेदनहरुको चाङ लाग्ने नै भयो । त्यो चाङको वावजुद आवश्यक सम्पूर्ण तथ्य, तर्क, प्रमाण, सवुत, इत्यादीलाई गम्भिरतापूर्वक आत्मसात गरीने कुरा समितिकी अध्यक्ष डोयेल–प्राईसले स्पष्ट पारेकी थिइन ।
त्यो त भयो लिखित सुनुवाई । अव आगामी मार्च १० तारीख देखी अप्रिलको ३ तारीखसम्म वेस्टमिनस्टर टयुव स्टेसन नजिक अवस्थित पोर्टक्युलीस हाउसमा यो सर्वदलीय संसदीय समितिकै सर्वाधिक महत्वपूर्ण काम मौखीक सुनुवाई सम्पन्न हुन गइरहेको छ ।
त्यसकारण, निम्न मिति र समयमा तपसीलका महानुभावहरुले उक्त मौखीक सुनुवाईमा भाग लिने निर्णय भएको छः
सीएनएस युके–वुधवार १२ मार्च डा. राम कन्दङवा–त्यही दिन
लेफटेनेन्ट कर्णल हयामीस एडम्स–वुधवार १९ र विहिवार २० मार्च
दिपक मास्के–वुधवार २६ मार्च
डा. डेभिड हयाल्लोर्यान–त्यही दिन
मेजर (रिटार्यड) टिकेन्द्रदल देवान–वुधवार ०२ अप्रिल
ज्ञानराज राई–त्यही दिन
क्याप्टेन राम वहादुर लिम्वू, भीसी, दोस्रो विश्व युद्दको एकजना युद्दवन्दी र नेपाल सरकारको तर्फवाट एकजना प्रतिनिधि तथा विशेषज्ञहरुलाई पनि उक्त सुनुवाईमा सहभागी गराउने यथासम्भव प्रयास भइरहेको छ । त्यसकारण, सुनुवाईमा सहभागी हुने मानिसहरुको संख्या वढन सक्ने छ । कुनै कुरा परीवर्तन भए जानकारी गराइने छ । सुनुवाई खुला, पारदर्सी र केही सन्चार माध्यमहरुवाट लाईभ प्रसारण पनि हुने छ । त्यसैले सुनुवाई भइरहदा हाम्रा मानिसहरुको उलेख्य उपस्थिति भइदिए सुनुवाई स्वतह प्रभावकारी हुने र प्रश्नकर्ता सांसदहरुमा दवाव महसुस भई थप जिम्मवारी वोध हुने हुनाले सवै दाजुभाई तथा दिदीवहिनीहरुलाई ती मितिहरुमा आजैवाट विदाको वन्दोवस्त गरी भद्रभलादमी, दर्शककोरुपमा उपस्थित भइ उक्त महत्वपूर्ण कार्यक्रमको शोभा र प्रभावकारीता वढाई दिनुहुन हार्दिक अनुरोध गरीन्छ । उपस्थित हुने समय टेक्स्ट मार्फत पछि जानकारी गराइने छ ।
वेलायत सरकारवाट हाम्रा मागहरु पुरा गराउन गोर्खा सत्याग्रह आन्दोलनको तर्फवाट गरीने अन्तिम कार्यक्रम सायद त्यही मौखीक सुनुवाई नै हुने छ । त्यस उप्रान्त हाम्रो तर्फवाट आन्दोलनको कुनै कार्यक्रम हुने छैन । कसैले भनेर पनि हामी गर्नेवाला छैनौ । संगठनका केही कामहरु भने हुन सक्छन । त्यसपछि साढे दुइदसकको गरीमामय इतिहास वोकेको समानता, न्याय र सम्मानको गोर्खा आन्दोलन सम्भवत सदाका लागि विसर्जीत हुने छ । तर त्यो वेलासम्मको लागि हाम्रो तर्फवाट हामीले गर्नुपर्ने कुनै कसर वाकी राख्नु हाम्रो महान, ऐतिहासिक भुल सावित हुने छ ।
त्यसकारण, यो तितो यथार्थलाई सम्पूर्ण दाजुभाई, दिदीवहिनी, तथा हाम्रा सक्रिय समितिहरुले हृदयाङगम गरी सोही मुताविक सिद्दान्त तथा व्यवहार दुवैमा गाम्भिर्यता प्रदर्सन गरीदिनुहुन पुनः एकपटक हार्दिक अनुरोध गरीन्छ ।
भवदीय:
कृष्ण वहादुर राई
ज्ञानराज राई
डा. राम कन्दङवा
प्रमुख संयोजक,
(युकेअभियान निर्देसकगोर्खा दूत)
गोर्खा सत्याग्रह, लन्डन संयुक्त संघर्ष समिति युके/नेपाल
मितिः ९ फरवरी २०१४