गोविन्द घर्तीमगर
राष्ट्रका लागी बलिदान दिने सहीद हरुको सम्मानलाई वेवास्ता गर्ने राज्यको प्रवृत्तिप्रति आम सर्वसाधारण नागरिक असन्तुष्टि बनेका छन् । मुलुकको उज्जवल भविष्यका निम्ति प्राण उत्सर्ग गर्ने सहीदहरुलाई उपेक्षा गर्नु समग्र देशकै निम्ति प्रतिउत्पादक हुने विज्ञहरुको भनाई रहेको छ । नेपाल एकिकरण अभियान संगै अनगिन्ती व्यक्तित्वहरुले देशका निम्ति प्राण आहुती दिएका थिए तर उनीहरुको त्यागलाई राष्ट्रले सम्मान गर्न सकेन । तिनै मध्येका एकजना महान व्यक्ति हुन सहीद क्या. लखन थापामगर ।
राणा शासनको अन्त्यका लागी विक्रम सम्वत १९३३ सालमा सर्वप्रथम संस्थागत पहल थाल्ने व्यक्ति क्या. लखन थापा हुन । निरकुश राणा शासन माथि धावा बोल्नका लागी संगठित अभ्यास थाल्ने थापालाई राज्यले अझै सम्म पनि सम्मान दिन सकेको छैन । २००७ सालको क्रान्ति १९३३ सालबाट नै शुरु भएको हो । राणा शासन भन्दा पछिका शासन व्यवस्थालाई भत्काउन ज्यान गुमाउनेहरुले ससम्मान सहीतको दर्जा पाउदा क्या. लखन थापालाई कुण्ठित गर्ने चाल भएको नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दल बहादुर विरकट्टा बताउछन् । विरकट्टा भन्छन्“सहीद क्या. लखन थापा कुनै जात विशेषको आदरणीय व्यक्तित्व होईनन् । उनी त सम्पूर्ण नेपाल राष्ट्रको पथप्रदर्शक हुन् ।
” सहीद लखन थापालाई राज्यले २०५६ सालमा आएर मात्र सहीदको दर्जा दिएको छ । राणा शासनको अन्त्यका लागी प्राण आहुती दिने प्रथम सहीदको रुपमा भने राज्यले उनलाई सम्मान दिन चाहेको छैन । राज्यको यही प्रवृतिलाई निश्चित समुदायले राज्यको विविधकारी नीति भनेर आलोचना गरेको छ । सत्यलाई स्वीकार गर्न नसक्नु राज्यको कमजोरी हो । यस प्रति सरोकारवालाहरुले ध्यान दिन सकेन भने त्यसबाट जन्मने असन्तुष्टिले राज्यलाई अर्को विद्रोह तर्फ उन्मुख गराउन सक्छ, यस प्रति बेलैमा राज्यको ध्यान जान जरुरी छ ।
लखन स्मृति प्रतिष्ठानका अध्यक्ष मालवर सिं सलामी भन्छन् “ हामी लखन थापाको योगदानलाई राज्यले सम्मान गरोस भन्न चाहन्छौं तर राज्य यस प्रति उत्साहितर उत्तरदाईत्व देखिदैन । प्रतिष्ठानका अध्यक्ष सलामीले भने जस्तै राज्यले सहीदहरुको सम्मान गर्ने क्रममा विविधता देखाएको पुष्टि हुन आउछ । २०५६ सालमा दवाव सृजना गर्नेगरी अभियान नचलाएको भए थापाले सहीदको सम्मान पनि पाउन सक्ने थिएन । अहिले आएर प्रथम सहीद भनी सम्वोधन गर्न दवाव बढिरेहका बेला राज्यले गरेको उपेक्षा प्रति जनसाधारणको ध्यान आकर्षित भएको छ । अहिले सम्मका तथ्य र प्रमाणहरुले पनि राणाशासनको अन्त्यमा लाग्ने प्रथम सुत्रधार एवं त्यस क्रममा प्राण आहुती दिने पहिलो व्यक्ति सहीद क्या. लखन थापा नै हुन । उनको त्यो त्याग र बलिदानलाई यथासिध्र सम्मान गर्न राज्यले चासो देखाउनु पर्ने आम सर्वसाधारण नागरिकको धारणाछ ।