राज्यसत्ता नेपाल ब्युरो ,
पोखरा, १९ माघ । नेपाल मगर विद्यार्थी संघको माघ १८ गते पोखरामा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट दिपा आलेमगरको नेतृतवमा नयां नेतृत्व चयन भएको छ । दिपाले १ सय ४३ मत पाइन भने उनका प्रतिद्वन्दी दिपु श्रीसमगरले १०१ मत पाए । देशभरका विश्वविद्यालय क्याम्पसहरुमा अध्ययनरत झण्डै तीन सय प्रतिनिधी रहेको महाधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको थियो ।
संघको वरिष्ठ उपाध्यक्षमा कमल थापा, महिला उपाध्यक्षमा घनी घर्तीमगर, १२ मगरात उपाध्यक्ष पदम रखालमगर, १८ मगरात उपाध्यक्ष पुष्टमान घर्तीमगर र काईकेको उपाध्यक्षमा गगन पुनमगर निर्वाचित भए । वरिष्ठ उपाध्यक्षबाहेक अरु निर्विरोध चयन भएका हुन् ।
यस्तै महासचिवमा गोमन रानामगर, सचिवमा विशाल रानामगर, प्रचार सचिवमा फरेन्द्र थापामगर, विदेश सचिवमा जीवन थापामगर निर्वाचित भएका छन् । महिला सचिवमा संगीता थापामगर र कोषाध्यक्षमा कोकिल अस्थामीमगर निर्वाचित भए । संघले ५९ पदाधिकारी सदस्य रहने गरि नयां कार्यसमिति चयन गरेको हो ।
यसअघि महाबन्दशस्त्र सुरु नहुँदै महाधिवेशनमा सहभागी मगर विद्यार्थीबिच विभिन्न पार्टीको नाममा विभाजित भएका थिए । महाधिवेशनबाट कुन पार्टीको विद्यार्थीलाई अध्यक्ष बनाउने भन्ने विषयमा आन्तरिक लबिङ भएको थियो । मगर विद्यार्थीको साझा सँस्था भए पनि यहाँ पछिल्लो समय बढी राजनीतिक चलखेल हुने गरेको छ । यहि कारणले मगर विद्यार्थी संघ पछिल्लो समय झन्झन् कमजोर हुँदै गएको छ । नवनिर्वाचित अध्यक्ष दिपा नेपाली कांग्रेस समर्थित हुन् ।