एस.एस.पी. खरेल प्रहरीमा खाहारियका हुन या , अगाडि सारिएका हुन ?

Read Time:11 Minute, 11 Second

अमर दिप मोक्तान

नेपालको मुटु काठमाण्डौमा वढी रहेको गुण्डागर्दी लाई नियन्त्रण गर्न नसकेको शान्ती  सुरक्षामा चूनौति थपीएको कारण देखाउँदै गैर दलिय मन्त्रि मण्डलका घिमिरे थरको गृहमन्त्रिको असीम कृपाले सक्षम भनिएका काठमाण्डौ प्रहरी प्रमुख एस.एस.पी.सुवोध घिमिरे लाई असक्षमता को तक्मा धारण गराउँदै रमेश खरेलको स्थानमा सरुवा गरीएको छ भने कार्य प्रति इमानदार, कर्तब्यपरायण प्रहरी अधिकृत एस.एस.पी रमेश खरेललाई पुनः काठमाण्डौ प्रहरी प्रमुख रुपमा दोस्रो पटक सरुवा गरिएको छ ।

  

एस.एस.पी. रमेश खरेललाई काठमाण्डौ प्रहरी प्रमुखको रुपमा सरुवा गरिएको स्वागत योग्य छ तर पनी प्रश्न छ के सम्पूर्ण नेपाल प्रहरीमा काठमाण्डौको शान्ती सुरक्षा वहाल गर्न सक्ने क्षमता भएका प्रहरी अधिकृत रमेश खरेल मात्रै हुन त ? निसदेह रमेश खरेल एक निष्ठावान कर्तव्यपरायण  प्रहरी अधिकृत हुन यसमा शंका गर्ने ठाउँ छैन तर रमेश खरेल जतिकै कार्यदक्ष, इमानदार, कार्यकुशल कर्तव्यपरायण सक्षम प्रहरी अधिकृतको नेपालमा प्रहरीमा अभाव छ भन्ने कुरा हास्यास्पद हो । रमेश खरेल जतिकै सक्षम तथा उ भन्दा पनि अव्वल प्रहरी अधिकृत नेपाल प्रहरीमा थुप्रै छन् तर राज्य तथा पूर्वाग्रही संचार माध्यमद्धारा त्यस्ता प्रहरी अधिकृतहरुको समाचारलाई अध्यारो कालकोठरीमा विलीन गराउने तथा रमेश खरेललाई प्राथमिकताको सूचीमा राखेर नायकको रुपमा प्रस्तुत गर्ने कार्य राज्य तथा संचार माध्यमको पूर्वाग्रही सोचको उपज हो भन्दा अन्यथा हुने छैन ।

नेपाल विविध धर्म समूदाय तथा भाषा तथा भाषी ले भरिएको देश हो । नेपाल गणतन्त्र भएको सुनिन्छ तर गणतन्त्रको मूल मर्म तथा भावना काहि पनि प्रतिविम्वीत भएको पाइएन । नेपालको राजनिति, निजामती, सेना, प्रहरी, चूनौतीका साथै आकर्षक सेवामा गनिन्छन् तर उल्लेखित सेवाहरुमा प्राथामिकता तथा अवसर वारे कुरा गर्दा केही वर्ग विशेषका राजनैतिज्ञ, निजामति सेवक, सेना अधिकृत,, प्रहरी अधिकृत मात्रै सक्षम इमानदार कार्यकुशल भएको झै गरी सरुवा पदोन्नती तथा अवसर प्रदान गरिएको स्पष्ट रुपमा देखिन्छ । नेपालको राजनितीमा ऐतिहासिक पार्टी भनिने कांग्रेस पार्टी समावेशी तथा प्रजातान्त्रिक पद्धति अवलम्वन गर्ने पार्टी भनिएता पनि विशेष वर्गका शुशिल, रामचन्द्र, शेर वहादुर देउवा, को घेरा भित्र अल्झीएर बसेको पाइन्छ ।

जनताको वहुदलिय जनवादका प्रवर्तका भनिने तथा सशक्त रुपमा वहुपहिचानको वकालत गर्ने पार्टी एमाले को राजनिती माधव नेपाल, झलनाथ खनाल, इश्वर पोखरेल, खड्ग वली, वामदेव गौतम को ईर्द गिर्द घुमी रहेको पाइन्छ  । वहुपहिचान नारालाई जोडदार रुपमा वखान गरीएतापनि एमालेद्धारा हिव जारी गरेर वहुपहिचान को अपहास गर्दै संविधान सभामा एकल जातिय भेष दौरा सुरुवाल तथा सारी लगाउनु पर्ने उर्दी जारी गरेको पाइन्छ ।

जातिय, क्षेत्रिय, वर्गीय, लिंगीय उत्थानको वाचा गर्ने पार्टी भनिएका एमाओवादी मा प्रचण्ड, वावुराम वाहेक कुनै विकल्प नै छैनन जस्तै गरी अभ्यास गरेको पाइन्छ । राजनिती, निजामति, सेना प्रहरी को अगाडी वेन्च मा वस्ने मेघावी छात्र को रुपमा केही वर्ग विशेषलाई प्राथामिकता तथा अवसर प्रदान गरीएको देखीन्छ । विगतका  राज्य सत्ता द्धारा हेपीएका, खेदीएका, उत्पिडनमा परेका वर्ग समुदाय का जति पनी योग्य क्षमतावान भएतापनी वुद्धिहिन छात्र झै हमेशा अवसर वाट वन्चित गराएर पछाडी को वेन्चमा वस्न वाध्य गराइएको छ । राजनिति, निजामति, सेना प्रहरीमा न्यून रहेका पिछडीएका, उत्पिडित समूदायलाई मनोवल वढाउन को निमित अवसर प्दान गर्नु को सट्टा अवसर वाट वन्चित गराईएको तथा केही वर्ग विशेषलाई मात्रै अवसर प्रदान गरी नायक बनाउने कार्य विराम लगाउन अत्यन्त जरुरी छ । राज्यद्धारा पूर्वाग्रही चिन्तनमा नियन्त्रण समाप्ती नगरे सम्म प्राथामिकता को सूचिमा नपर्ने वर्ग समूदायले राज्य प्रति कसरी अपनत्व ग्रहण को आस गर्न सक्छ सोचनिय विषय छ । गणतन्त्र को मूल मर्म तथा भावना अनुरुप जब सम्म सवै वर्ग क्षेत्रका समूदायलाई समावेशी समानुपातिक प्रकारले अवसर प्रदान गर्ने निती अवलम्वन गरिदैन तबसम्म नेपाल स्वस्थ, सवल राष्ट्रको रुपमा विकसीत हुन सक्दैन । प्रसङ्ग पूनः एस.एस.पी. रमेश खरेलतर्फ फर्कदा रमेश खरेललाई किन प्राथामिकता दिइयो भन्ने विलकुलै होइन रमेश खरेल राज्यको पूर्वाग्रही सोचका एक नमूना प्रतिक हुन । स्मरण रहोस् जनयुद्ध कालमा प्रभावशाली पारिवारीक पृष्ठभूमी भएका रमेश खरेल प्रहरी प्रधानकार्यलय सुगम तथा सुरक्षित स्थानमा सरुवा हुने केही भाग्यमानी प्रहरी अधिकृत मध्ये पर्दछन्, रमेश खरेल माओवादी जनयुद्ध प्रभावित क्षेत्रमा सरुवा नै भएनन । एस.एस.पि रमेश खरेललाई पूनः नेपालको मुटु काठमाण्डौ सरुवा गरीएर उत्कृष्ट प्रहरी अधिकृत को रुप राज्यद्धारा महिमामण्डित गरेर जनयुद्ध कालमा माओवादी प्रभावित क्षेत्रमा ज्यानको वाजी लगाएर प्रहरी आदर्श प्रति अटल रहेर सौर्यता प्रदर्शीत परेका कर्तव्यपरायण जाँवाज प्रहरी अधिकृतहरुको मनोवल गिराउने कार्य गरिएको छ ।

जनयुद्ध समाप्ती पश्चात सिरहा, पोखरा तथा काठमाण्डौमा देखाइएको कार्यदक्षता को मात्र मूल्याङकन गरी सम्प्रेसीत समाचारको कृपाले एस.एस.पी रमेश खरेल नायक बनेका हुन  । प्रहरी संगठन भनेको Action with Brain  युक्त संस्था हो । कार्यकुशल प्रहरी अधिकृत को पहिचान भनेको असल दिमाग सहित सौर्यता प्रदर्शन पनी हो निर्दोष का लागि दयावान, दोषी का लागि कठोर हुनु हो । याद राख्नुपर्ने कुरा के हो भने जनयुद्ध कालमा एस.एस.पी. रमेश खरेलको सौर्यता प्रदर्शन शुन्य छ । राजनिती निजामति जस्तै प्रहरी सेना जस्ता संवेदनशिल तथा अनुशासित संस्थाहरुमा केही वर्ग विशेषलाई अनाहकमा नायक बनाउन अवसर तथा प्राथमकिता प्रदान गरेको कारण उल्लेखीत संगठन मात्र तिव्र असन्तुष्टी जन्माएको छ ।

जस्तो सुकै ठुल ठुला सिद्धान्त को वखान गर्ने सरकार आएतापनि चित पनी आफ्नै पट पनी आफ्नै नितीको अनुशरण गर्दै कहिले वरिष्ठता को आधार देखाउँदै कहीले कार्यक्षमता को आधार देखाउँदै मन्त्रिपरिषद् रुपी व्रम्हास्त्रको प्रयोग गर्दै राम्रा भन्दा हाम्रा लाई स्थापित गर्ने कार्य अविलम्व रोकिनु पर्दछ । नेपालमा शान्ति सुरक्षा वहाल तथा व्यवस्थित गर्न प्रहरी प्रशासन तथा सेनामा राजनैतिक हस्तक्षेप को अन्त हुनु पर्दछ । राज्यद्धारा केही वर्ग विशेषलाई मात्रै प्राथामिकता तथा अवसर प्रदान गर्ने पूर्वाग्रही कार्यशैलीका कारण विगत को राज्य सत्ताद्धारा उपेक्षित पछाडी पारीएका वहुसंख्यक जनता मा नेपालको राजनिति निजामति सेवा , सेना प्रहरी सेवा प्रति क्रमशः उदासीनता पलाएको बुझिन्छ । वहुसंख्यक जनतामा राज्यको पूर्वाग्रही चिन्तनले जन्मेको उदासीनता तथा आक्रोस लाई  समाधान तथा संवोधन नगरीए भविष्यमा ज्वालामुखी विस्फोटन जस्तै भयावह स्थित उत्पन्न हुन सक्ने कुरालाई नकार्न सकीन्न ।

राज्य भनेको अभिभावक हो जनता भनेको सन्तान हुन राज्यरुपी अभीभावकद्धारा जनता रुपी सन्तानलाई वरावरी को अवसर तथा दर्जा प्रदान गर्नुपर्ने प्रमुख कर्तब्य हो । पूर्वाग्रही रहित भएर कसैलाई काखा तथा कसैलाई पाखा भन्ने उखान नेपाली राज्यसत्ताको शब्दकोषबाट सदाका लागि विस्थापन गर्नु पर्ने राज्यको दायित्व हो । यदि त्यस्तो गर्न सकिए नेपाल अन्तराष्ट्रिय रुपमा सबल, स्वस्थ, शान्तिपूर्ण, विकाशशिल शक्तिसाली राष्ट्रको रुपमा विश्व सामू गर्वका साथ उभ्भीने छ  ।

डाँडाखर्क , दोलखा ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %